coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शोकमा मालिका -

म्याग्दी – ‘दुःखीको घरमा मात्रै तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझै बढी दुःख देउ।’ प्रसिद्ध नाटककार बालकृष्ण समको यो भनाइ म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका धर्मलाल र लीलमतीको जीवनमा चरितार्थ भएको छ। 
धनसम्पत्ति आर्जन गरी आमाबुबा र परिवारसँगै सुखीजीवन बाँचौंला भनी विदेशिएका छोराहरूएकदशक आसपासमा रातो बाकसमा घरकै आँगनमा झरेपछि धर्मलाल र लीलमतीले वैदेशिक रोजगारमै तीन छोरालाई गुमाएका छन्। वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा गत शनिबार २९ वर्षको उमेरमा कान्छो छोरा धनबहादुरको शव बिहीबार गाउँमा पुगेपछि धर्मलाल र लीलमतीले आफ्नो कोखबाट जन्मिएको अन्तिम सन्तानलाई गुमाउँदा बेली र जेम गाउँ  शोकमा डुबेका छन्।

प्यारालाइसिसबाट ग्रस्त ७२ वर्षीय बुवा धनबहादुर र पेट तथा मुटुकी रोगी ६८ वर्षीया आमा लीलमतीले छोराको शव आएको बाकसमा मुड्की बजार्दै भगवानले पनि पक्षपात गरेकोमा मुर्छित नहोउन्जेलसम्म बिलौना गरे ।मृत्युलाई समेत नचिनेका बालबालिकाको आँखामा समेत आँसु देखिन्थ्यो ।‘भगवानले हाम्रो परिवारलाई धोका दिए,तीनवटा छोराको शव बाकसभित्र पठाए,’ मुर्छित अवस्थामा रहेकी लीलमतीले भनिन्।

गत चैत ११ गते मलेसियाबाटै आएका साहिँला छोरा थमबहादुरसँगै चैतेदसैंको रमझममा बिताएका परिवारले सोही दिनको साँझपख कान्छो छोराले संसार छाडेको खबर सुनेलगत्तै बेहोस भएकी लीलमतीले आफ्ना चाहनालाई भगवानले खोसेको बताइन्। ‘निष्ठुरी दैवसँग अब केही गुनासो छैन्,गरिबको परिवारबाट एकपछि अर्को छोरालाई खोसे,’उनले भनिन्। कच्ची दुईतले घरमा मातापिताको नियमित औषधोपचारमा मलेसियाबाट पैसा पठाउने छोराको मृत्युले दुवैका आँखामा आँसु थामिएका छैनन्।

वृद्ध र रोगी बुवाआमा, दिदी, भाउजु, दाइको छोराछोरी, छिमेकी र आफन्तको चित्कारले गाउँ आसपासका पहाडसमेत थर्किएको स्थानीय नरदेवी पुनले बताइन्।‘पीडाले मुटु छियाछिया भएको छ ।मृत्यु नचिनेका दुधेबालकको समेत आँखामा आँसु देखिन्छ,’उनले भनिन्। गाउँका विपन्नमध्ये उनको परिवार पनि एक भएकोउनले बताइन् ।पुरानो भत्किने अवस्थाको घर र सानो परिवारलाई वर्षभरि पुग्ने अन्नसमेत कमाउन नपुग्ने जग्गा उनीहरूसँग रहेकोपुनले बताइन्। अविवाहित रोकाको दसैंका घरबिदामा आएर विवाह गर्ने योजना रहेको थियो। नियमित औषधि खाने आमाबुवाको हेरचाहका लागि आफ्नो रोजाइको बुहारी भित्र्याउने योजना रहेपनि सपना चकनाचुर भएको मृतकका साहिँला दाजु थमबहादुरले बताए। ‘भाइको मृत्युको केही घन्टाअगाडि पनि विवाहको कुरा चलेको थियो। परिवारको सहमतिमै विवाह गर्ने बताएको आमाले सुनाउनुभयो,’ उनले भने। 

विवाह र घर मर्मत गर्ने योजना पूरा नहुँदै परिवारले सहारा गुमाएको बताए। उनले दुईवटा दाजुको मृत्युलगत्तै कम्पनीले आस दिए पनि राहत नपठाएको गुनासोसमेत गरे। उनले तीन दाजुभाइलाई गुमाएपछिको पीडालाई मुटुमा राखेर काम गरेको बताए। ‘मेरो आँखाभित्र आँसुको समुद्र छ, मैले देखाएको छैन,’ थमबहादुरले भने। उनले मासिक ४० हजार नेपाली रुपैयाँ कमाउने भाइको पाँच लाख मलेसियाकै दलालले क्यानाडा पठाउने प्रलोभनमा लगेपछि विगत पाँच महिनायता भाइले एक रुपैयाँ पनि घरमा  नपठाएको बताए। ‘सबैका दुःख हरण गर्ने भगवानसमेत अन्यायी र पक्षपाती लाग्न थालेको छ। हाम्रो परिवारमा सधैं आँसुको पोखरी बग्यो,’ थमबहारले आँखा पुछ्दै भने। आर्थिक अवस्था कमजोर रहेको परिवारलाई किरियाखर्चका लागि पहल गर्न समेत स्थानीयले आग्रह गरेका छन्।  

सुतेकै अवस्थामा मृत्यु 
धनबहादुर र लीलमती रोकाका ४ भाइ छोरामध्ये जेठा तमबहादुर रोका,माइला भक्तबहादुर रोका र कान्छा धर्मलाल रोकाको कम्पनीमा ड्युटीमै मृत्यु भयो। सबैभन्दा पहिला वैदेशिक रोजगारीका लागि १२ वर्षअगाडि माहिला भक्तबहादुर रोका कतार गए। विवाह गरेको केही महिनामै कतार गएका भक्तबहादुरको चौबीस महिनामा मृत्यु भयो। कतारमा भाइको मृत्यु भएपछि घरपरिवारको खर्च जोहो गर्न जेठा छोरा भक्तबहादुरको मलेसिया गएको १८ महिनापछि मृत्यु भयो। दुई दाजुको मृत्युको पीडालाई लुकाउन कान्छो छोरा मलेसियामै पुगेका थिए। पढाइमा राम्रो भएपनि घरको आर्थिक अवस्था कमजोर रहेकाले पढाइ छाडेर मलेसिया पुगेका धनबहादुरको सल्लाहमा उनी पुगेको करिब ७ महिनापछि साहिँला छोरासमेत रोजगारीको खोजीमा मलेसिया पुगेका थिए। दुईवटा छोराको सुतिरहेको अवस्थामा र एक छोराको डियुटीमै मृत्यु भएको आफन्तको भनाइ छ।

‘चार दाजुभाइको सहकार्य निकै लोभालग्दो थियो। समस्यालाई समाधान गर्न आफ्नो क्षमताअनुसार सहयोग गर्ने गरेका थिए,’गाउँकी चित्रा पुनले भनिन्। उनले वैदेशिक रोगजारमा मलेसियामा पुगेका गाउँलेको सन्देशसमेत विभिन्न माध्यमबाट गाउँमा पठाउने गरेका धर्मलालले गाँउमा आर्थिक सहयोगसमेत गर्ने गरेको बताइन्। उनले आफ्नो श्रीमानसमेत मलेसियामा रहेको बताउँदै गाउँका समस्या र आवश्यकतालाई त्यहाँ रहेका युवालाई समेत बताउने गरेको श्रीमान्बाट जानकारी पाएको बताइन्। सहयोगी युवा मलेसियामा अस्ताएपछि गाउँका वृद्धवृद्धा र महिलासमेत मलामी पुगेका थिए।
 
दिनभरि घरपरिवारसँग कुराकानी 
मृत्युको केहीघन्टाअगाडि धर्मलालले कान्छी दिदीलाई शशिकला घर्तीलाई भाइबरमा भनेका थिए,‘आउनेवर्षको असोजमा बुहारी स्वागतका लागि तयारी गर्नु ल।’ मलेसियाबाट कान्छो भाइले उनलाई दुईघन्टा भाइबरमा विवाह, मातापितालाई औषधि, घर मर्मत, स्वर्गीय दाजुका छोराहरूको शिक्षादीक्षालगायतका बारेमा कुराकानी गरेको घर्तीले बताइन्।  ‘भाइले पटकपटक विवाह गर्छु भनेको थियो, घरमा बुहारी भित्र्याउने योजना पूरा नहँुदै बाकसमा फर्के,’ घर्तीले भनिन्। सोही दिन जेठी दिदी पोबिसरा पुनलाई समेत फोन गरेर आफ्ना भावी योजनाका बारेमा उनले जानकारी गराएका थिए। भाइबरबाट भाइसँग कुराकानी गरेको केही समयपछि भाइको शवसँग दुईवटै दिदीले  कुराकानी गरेको दृश्यले सबैका आँखा रसाएका थिए।

किरियाखर्च जुटाइयो 
आर्थिक अवस्था कमजोर रहेका मृतक परिवारलाई नागरिक दैनिकका स्थानीय संवाददाता  र ओमकुमारी शान्ति कोषको पहलमा किरियाखर्च जुटाइएको थियो। मृतकको शव घरमा नपुग्दै नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतमले मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकालाई रकम हस्तान्तरण गरेका थिए। 

किरियाखर्चका लागि विष्णुकुमारी पुनले १० हजार, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले ५ हजार,  मोना नेदरल्यान्डका महासचिव मिम पुर्जा ५ हजार, लोकेश पुन मगर ३ हजार, कुमारी सहकारी २ हजार रकम सहयोग गरिएको थियो। थप आर्थिक सहयोगका लागि समेत अभियान सञ्चालन गरिने भएको छ। 

प्रकाशित: १६ चैत्र २०७४ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App