७ वैशाख २०८१ शुक्रबार
समाज

नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

काठमाडौं – गोरखाकी २७ वर्षिया रमिता ढुंगाना (नाम परिवर्तन) ले आमालाई उपचारका लागि बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेकी थिइन्। आमाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी केही दिन अस्पतालमै बस्नुप-यो। केही दिनको अस्पताल बसाइपछि आमाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। ढुंगाना आमालाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारीमा थिइन्। त्यत्तिकैमा उनको फोनको घण्टी बज्यो। टेलिफोन गर्ने व्यक्तिले आफूलाई डा. सन्तोष घलेका रुपमा चिनाउँदै आमाको शल्यक्रियामा संलग्नमध्य एक जना आफू पनि भएको बताए। उनले फलोअपका लागिपछि पनि अस्पताल आउनुपर्ने भन्दै ढुंगानालाई आफ्नो नम्बर राख्न अनुरोध गरे। आमाको शल्यक्रिया गर्ने डाक्टरले नै फोन गरेर सहयोग गर्ने बताएपछि ढुंगानाले विश्वास गरिन्। नम्बर आदान प्रदानसँगै उनीहरूबीच  कुराकानी हुन थाल्यो।

गत चैत ६ गते डा. सन्तोष घलेका रुपमा चिनाउने ती व्यक्तिले ढुंगानालाई सामाखुसीस्थित आफ्नो सानीआमासँग भेटघाट गर्न लैजाने बताए। तर उनले युवतीलाई मोटरसाइकलमा राखी सानीआमाको घरमा नलगी मित्रनगरस्थित होटल गोरखा फूलबारी गेष्ट हाउसमा लगे। होलटमा लगेपछि उनले युवतीलाई धम्कि दिँदै बलात्कार गरे। त्यसपछि उनी फरार भए। बलात्कारको सिकार भएकी युवतीले होटलबाट प्रहरीमा पुगेर सन्तोष घले नाम गरेका व्यक्तिले आफूमाथि जबरजस्ती बलात्कार गरेको उजुरी दिइन्। युवतीको उजुरीपछि अनुसन्धान गरिरहेको प्रहरीले डाक्टर भनेर झुक्याउँदै बलात्कार गर्ने व्यक्तिलाई मंगलबार काठमाडौबाट पक्राउ ग-यो।

प्रहरी अनुसन्धानपछि पक्राउ पर्ने व्यक्ति डा. सन्तोष घले भनिने  पाल्पाका अर्जुन कोइराला भएको पुष्टि भयो। नेपाली सेनाका पूर्व जवानसमेत रहेका कोइराला नेपाली सेनामै हुँदा बलात्कार घटनामा संलग्न भएपछि कारबाहीमा परेका थिए। उनले सेनामा हुँदा गरेको कर्तुतका बारेमा पनि प्रहरीले सेनाबाट जानकारी संकलन गरिरहेको छ।

प्रहरीका अनुसार आरोपी कोइराला यसअघि पनि बलात्कारका घटनामा सहभागी रहेको पाइएको छ। उनले महिलाहरुको मनोविज्ञान बुझेर जालमा फसाउने गरेको पाइएको प्रहरीले जनाएको छ। ‘ऊ पेशेवर लेडिकिलर हो,’ प्रहरीले भन्यो। कुनै कामले गंगालाल अस्पताल पुगेका कोइरालाले पीडित युवतीबाट सिधै फोन नम्बर नलिएर कुनै माध्यमबाट मोबाइल नम्बर लिएको र उनलाई फसाउन डाक्टर भएको अभिनय गरेको प्रहरी बताउँछ।

कोइरालाले युवतीलाई होटलमा लगेर जाँदा पनि धेरैतिर घुमाएर पु-याएका थिए। पछि युवतीले उनका विरुद्ध उजुरी गरे पनि प्रहरीलाई युवतीमाथि बलात्कार भएको मित्रनगरस्थित होटल गोरखा फूलबारी गेष्ट हाउसमा पुग्न निकै समय लागेको थियो। ‘उसले युवतीलाई धेरै तर्फ घुमाएर होटलमा पु-याएको थियो, युवतीले आफू कहाँ आएँ भन्ने पत्तो नपाउन भनेर त्यस्तो गरिएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। प्रहरीले बलात्कार भएको ठाउँमा पुग्नका लागि सिसिटिभि फुटेज तथा पीडित युवतीलाई समेत सम्भावित विभिन्न ठाउँमा पु-याएको थियो।

पक्राउ परेका कोइरालामाथि प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ। तर उनले बयानका क्रममा धेरै बोल्नै नखोज्ने प्रहरी बताउँछ। ‘ऊ यस्ता घटनामा पहिलेदेखि नै संलग्न रहँदै आएको देखिन्छ, बयानमा उसले धेरै कुरा बोल्नै खोजेको छैन,’ प्रहरीले भन्यो।

बलात्कारको सिकार भएकी  युवती विवाहित हुन्। घटना बारेमा परिवारले समेत थाहा पाएकाले उनी केही चिन्तित रहेको प्रहरी बताउँछ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले पक्राउ परेका कोइरालालाई जिल्ला अदालत काठमाडौबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १६ चैत्र २०७४ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App