coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

अध्यापनशैली सुधारले विद्यार्थी आकर्षित

सरस्वती माविको सुधारिएको कक्षामा अध्ययनरत छात्रछात्रा । तस्बिर : दमन/नागरिक

खोटाङ – कक्षाकोठाभित्रका डेस्कबेन्च हटाएर कार्पेट बिछ्याइएको छ। कार्पेटमा बसेर लेखपढ गर्न मिल्ने गरी राउन्ड टेबल राखिएको छ। भित्ताभरि शैक्षिक सामग्रीले सिँगारिएका छन् । कक्षाकोठामा पुस्तक राख्ने ¥याक, काठ, बाँस, माटो तथा कागजका थरीथरीका शैक्षिक सामग्री छन्।
 
राउन्ड टेबलको चारैतिर कुहिनाले टेकेर कुनै विद्यार्थी चित्र कोरिरहेका हुन्छन्। कोही अभ्यास पुस्तिकामा अक्षर खिपिरहेका हुन्छन्। कोही छलफल गरिरहेका हुन्छन्। कोही छात्रछात्रा चित्र कोर्ने, कोही नक्सा हेर्ने, कोही पढ्ने, कोही अक्षर लेख्ने, कोही कथा पढ्ने, कोही कविता पढ्नेलगायतका क्रियाकलापमा व्यस्त रहन्छन्। साजसज्जा गरिएको कक्षाकोठाभित्र विद्यार्थीले खेल्दै सिक्छन्, रम्दै सिकिरहेका छन्।

यसरी कक्षाकोठा व्यस्थित बनाएर करिकुलम बेस्ड टिचिङ (पाठ्यक्रममा आधारित शिक्षण सिकाइ) विधि सुरु गरिएपछि खोटाङको सरस्वती मावि जिल्लामा सफल शिक्षण संस्थाका रुपमा पहिचान स्थापित गर्न सफल भएको छ। कक्षा ५ मुनिका कक्षामा मिनी–मन्टेस्वरी शैलीको शिक्षण विधि अपनाएका कारण सरस्वती माविले विद्यार्थीलाई आकर्षण गरिरहेको छ।

विद्यालयलाई नमुना बनाउने विधि, सीप, क्षमता, योजना, भिजनलगायतका विषय अध्ययनका लागि तत्कालीन जिशिअ ज्ञानमणि नेपालले २०७३ चैतमा गरेको भ्रमणपछि विद्यालयमा विद्यार्थी केन्द्रित पठनपाठन सुरु गरिएको प्रधानाध्यापक ध्यानबहादुर राईले बताए। ‘हामीले काठमाडौंदेखि बुटवलसम्मका नमुना विद्यालय भ्रमण गरेपछि एउटा अवधारणा बनायौं। गर्दा हामी पनि सक्छौं भन्नेमा प्रेरित भयौं,’ राईले भने, ‘कक्षाकोठा सुधा¥यौं। अहिले विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समिति सन्तुष्ट छन्।’

घट्दो शैक्षिक गुणस्तर वृद्धि गर्दै नमुना विद्यालय बनाउने अभियानको सुरुमा कक्षा २ र कक्षा ४ को कोठा व्यवस्थापन गरिएको हो। दोस्रो चरणमा रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा शिशु कक्षा, कक्षा १, ३ र ५ को कोठा व्यवस्थित गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा बालबालिकाले रुचाउने र मन पराउने पुस्तकलगायतका शैक्षिक सामग्री छन् । मन लगेको पढ्न पाउने, प्रोजेक्टरबाट भिडियो हेर्न पाउने, रम्न पाउने वातावरण भएपछि विद्यार्थीले कक्षामा रमाइलो मान्दै लेखपढ गर्ने गरेका छन्। कक्षाकोठाको सुधारसँगै अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरिएपछि बोर्डिङ स्कुल चाहर्ने अभिभावकले बालबच्चालाई सोही विद्यालयमा पढाउन थालेका छन्।

‘५ कक्षामुनिका तहलाई मिनी–मन्टेस्वरी शैलीमा बदलेका छौं। यो विद्यालय बोर्डिङभन्दा कम हुँदैन । रेस्पोन्स एकदमै राम्रो छ,’ सरस्वती माविका शिक्षक नुरकाजी सैंजूले भने, ‘सरल, सस्तो र सहज रुपमा उपलब्ध हुने सामान प्रयोग गरेर कक्षा व्यवस्थापन र शैक्षिक सामग्री तयार पारेका छौं।’

कक्षाको फरक स्वरुप र सजावट, विद्यार्थी केन्द्रित शिक्षण व्यवस्था, कक्षामा पर्याप्त शैक्षिक सामग्रीको व्यवस्थापनसँगै अनुशासनमा गरिएको कडाइ पनि विद्यालयको सफलताको अर्को कारक हो। विद्यालय पोसाक अनिवार्य छ। माथिल्लो कक्षामा इच्छाअनुसार अंग्रेजी र नेपाली माध्यममा पठनपाठनको व्यवस्था भए पनि प्रावि तहमा अंग्रेजी अनिवार्य छ। ‘अनुशासन विद्यालयको सफलताको कडी हो,’ प्रधानाध्यापक राईले भने, ‘कहिल्यै कक्षा रोकिन्न। विद्यार्थीले पढाइ भएन भन्नुपरेको छैन । सम्बन्धित विषयको शिक्षक छैन भने तत्काल अर्को शिक्षकलाई पठाउने व्यवस्था मिलाएका छौं।’

सरस्वती माविमा हाल शिशु कक्षामा २४, कक्षा २ मा २४, कक्षा ३ मा ३३, कक्षा ४ मा ४३ र कक्षा ५ मा ४० विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीमुखी शिक्षाको व्यवस्थाका कारण आगामी नयाँ शैक्षिक सत्रदेखि ५ कक्षामुनिका हरेक कक्षामा सेक्सन छुट्याउनुपर्ने अवस्था देखिएको शिक्षक सैंजूले बताए।

प्रकाशित: १६ चैत्र २०७४ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App