खोटाङ– संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री मन्त्री रवीन्द्र अधिकारीले मुलुकको भ्रष्टाचारलाई शून्यमा झार्ने वर्तमान सरकारको प्रमुख जिम्मेवारी भएको बताएका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलस्थित धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा आयोजना गरिएको धार्मिक तथा पर्यटकीय महोत्सव बिहिबार उद्घाटन गर्दै मन्त्री अधिकारीले वर्तमान सरकारको प्रमुख जिम्मेवारी लोकतन्त्रलाई संस्थागत गर्दै देशमा शुसासन कायम गर्ने रहेको बताएका हुन्।
लामो अस्थिरता र संक्रमणकालका कारण देशको बिकास अवरुद्ध भएको बताउँदै मन्त्री अधिकारीले सरकारले बिकास र संबृद्धिको यात्रालाई अगाढि बढाएर देशको स्वाभिमान उच्च राख्ने बताए। ‘हाम्रो जिम्मेवारी मुलुकमा सुशासन कायम गर्नु हो। भ्रष्टाचारलाई शून्यमा पु¥याउनु हो। हाम्रो काम देशको विबकास र समृद्धिको यात्रालाई अगाडि बढाउनु हो,’ मन्त्री अधिकारीले भने, ‘सबै दललाई सँगसँगै लिएर हिँड्नु हो। स्थानीय सरकार, प्रदेश सरकारसँग समन्वय गरेर चौतर्फी विकासलाई अगाडि बढाउनु हो। हामीसँग खेर फाल्ने रत्ती समय छैन।’
हेलीकोप्टरबाट खोटाङ आएका मन्त्री अधिकारीले वर्तमान सरकार पटक–पटक सरकार परिवर्तन हुने, मन्त्री, प्रधानमन्त्री परिवर्तन हुने अव्यवस्थालाई चिरेर आएको बताए। उनले सबै दलसँग हातेमालो गर्नका लागि सरकार तयार रहेको उल्लेख गरे। ‘गाली गरेर शक्ती आर्जन गर्ने समय गए, गाली गरेर ठूला हुने जमाना गयो। गाली गरेर भोट माग्ने समय पनि जाँदै छ,’ मन्त्री अधिकारीले भने, ‘गाली होइन सहयोग लिनुस्, काममा अघि बढ्नुस्। गालीगलौजमा समय खेर नफाल्नुस् ।’
२०/३० वर्षसम्म एकले अर्कालाई गाली गर्दै बितेको भन्दै मन्त्री अधिकारीले सकरात्मक सोचका साथ मिलेर देश बनाउन प्रतिपक्षी दललाई आग्रह गरे। ‘हामी हातेमलो गर्न आएका छौँ । हामी धाकधक्कु लगाउनका लागि सरकारमा छैनौं। मनोमौजी काम गर्नका लागि छैनौँ,’ उनले भने, ‘सकरात्मक सोचका साथ मिलेर देश बनाऔं।’
प्रकाशित: १५ चैत्र २०७४ १५:४७ बिहीबार