८ वैशाख २०८१ शनिबार
राजनीति

‘मन्त्रीज्यू ! अकालमा मर्ने अवस्था अन्त्य होस्’

सामाजिक विकास मन्त्री दलबहादुर रावललाई हुम्ली महिलाहरुले भोगिरहेको पीडा सुनाउँदै विष्णुदेवी र गौरी । तस्बिर : नागरिक

सुर्खेत– खार्पुथान गाउँपालिकाकी मानदेवी छन्त्यालको मंगलबार शिशुलाई जन्म दिए लगत्तै मृत्यु भयो। शिशुलाई जन्म दिएपछि मानदेवीको अत्याधिक रक्तश्राव भयो। उनलाई थप उपचारका लागि सुर्खेत ल्याउने तयारी परिवारले गरिरहेको थियो। सिमीकोट विमानस्थलमा नियमित उडान भएको भए उनले समयमै उपचार पाउँथिन्। उनको जीवन बच्न सक्थ्यो। हुम्लालाई सडक सञ्जालले छोएको छैन्। हवाई मार्ग मात्रै त्यहाँको एउटा विकल्प हो।

बुहारीको मृत्यु भएको खवर सुनेपछि बुधबार मनकला घर जान सुर्खेत विमानस्थल पुगिन्। एक साताअघि उपचारका लागि सुर्खेत झरेकी उनी बुहारी गुमाउँदाको पीडाले दिनभर विमानस्थलमा छटपटाइन्। पैसा तितेर पनि घर फर्कन पाइनन्। मनकलाका छोरा बमबहादुर आठ महिनादेखि वेपत्ता छन्। घर जान नपाएपछि बुधबार सामाजिक विकास मन्त्रीलाई भेट्न कार्यकक्षमा आएका हुम्लाका स्थानीयहरुले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिदिन आग्रह गरे।

‘मन्त्रीज्यू ! अबव मानदेवी जस्तै कुनै पनि महिलाले अकालमा मर्न नपरोस्’ बिहीबार सामाजिक विकास मन्त्री दलबहादुर रावलसँग आफ्नो पीडा पोख्न आएकी मानदेवीकी छिमेकी विष्णुदेवी शाहीले भनिन्, ‘हामीले भोगेको पीडालाई तत्काल सम्बोधन गरिदिनुहोस्।’ सामाजिक विकास मन्त्री रावल पनि हुम्लाबाट प्रतिनिधित्व गर्छन्। उनी आफ्नो जिल्लाका नागरिकले भोगिरहेको पीडालाई कम गर्न रावलसँग आग्रह गर्दै थिइन्।

‘हाम्रो जिल्लाका समस्या तपाईलाई थाहा छ, गाडी जान्नन्, प्लेन चल्दैनन्, अस्पतालमा सिटामोल पाँदैन्’ उनले मन्त्रीसँग प्रश्न राखिन्, ‘आफ्नै जिल्लाका मन्त्री हुँदा पनि हामीले केही राहतको महशुस गर्न नपाए कहिले गर्ने?’ कर्णाली प्रदेशको राजधानी भएपनि सुर्खेतबाट अन्य प्रदेश र संघीय राजधानीसँग यसको हवाई पहुँच छैन्। प्रदेशभित्रैका जिल्लाहरु पनि हवाई मार्गबाट प्रादेशिक राजधानी वीरेन्द्रनगरसँग जोडिएका छैनन्। कर्णाली प्रदेशका १० मध्ये दुई जिल्ला हुम्ला र डोल्पामा अझै सडकको पहुँच छैन्।

विष्णुदेवीसँगै गएकी गौरी शाहीले मन्त्रीसँग छाउपडी प्रथा अन्त्य र महिलाका लागि आयआर्जन हुने खालका कार्यक्रम दिन आग्रह गरिन्। ‘छाउगोठमै हामीजस्ता महिलाहरु मरिरहेका छन्, महिलाको आर्थिक अवस्था पनि दयनीय छ’ उनले भनिन्, ‘छाउ गोठमा पठाउनेलाई कारवाही गर्न र महिलाहरुलाई आयआर्जनमा सघाउने कार्यक्रम ल्याइदिन आग्रह गर्छु।’ उनले महिलाका लागि बैठक बस्ने भवनको खाँचो रहेको पनि बताइन्।

जवाफमा मन्त्री रावलले हुम्लाको समस्याको बारेमा आफू जानकार रहेको बताउँदै महिला र बालबालिकाले भोगिरहेको अहिलेको पीडालाई कम गर्ने प्रतिबद्धता जनाए। ‘सडक नपुग्दासम्मको बिकल्प विमान हो, नयाँ वर्षसँगै हुम्लामा नियमित उडानको प्रबन्ध मिलाउँछु’ उनले भने, ‘औषधि नपाएर अकालमै महिला र बालबालिकाले ज्यान गुमाउनु पर्ने अहिलेको अवस्थालाई अन्त्य गर्छु।’

शिशुको उद्धार

बच्चा जन्माउने वित्तिकै आमाको मृत्यु भएपछि जोखिमा परेका शिशुलाई एसओएस बालग्राम सुर्खेतले उद्दार गरेको छ। एओएसका निर्देशक मुकुन्दकुमार गिरीका अनुसार जिल्ला बाल कल्याण समिति हुल्लाको सिफारिसमा उद्दार गरिएको हो।

मानदेवीको घरमा बस्दै आएका उनका बुवा पनि छोरी वितेपछि अचेत अवस्थामा रहेकोले शिशुलाई तत्काल एसओएसको संरक्षणमा ल्याइएको निर्देशक गिरीले बताए। उद्दार गरिएको शिशुलाई एसओएसको मन्जुश्री हाउसमा राखिएको छ। शिशुलाई खार्पुनाथ गाउँ पालिकाका अध्यक्ष कर्णबहादुर रावल र कलबहादुर शाहीले एसओएससम्म ल्याउन सहयोग गरेका थिए।

प्रकाशित: १५ चैत्र २०७४ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App