८ वैशाख २०८१ शनिबार
समाज

‘सबल पुनर्निर्माणका लागि जवाफदेहिता अपरिहार्य’

सिन्धुपाल्चोक– भूकम्प प्रभावित क्षेत्रमा समुदायको अगुवाइमा पुनर्निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन जवाफदेहिता र समावेशिता अपरिहार्य रहेको मेलम्चीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्।

सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, स्थानीय सरकार र समुदायमा कार्यरत संघसंस्थाले भूकम्पप्रभावित समुदायप्रति जवाफदेही तरिकाले काम नगरेसम्म पुनर्निर्माण अभियान सार्थक बन्न नसक्ने उनीहरूको जिकिर थियो।

‘तीन वर्षअघिको विनाशकारी भूकम्पले विपन्न तथा सिमान्तकृत समुदाय बढी मारमा परेका छन्। वास्तविक पीडितको समस्या पहिचान गरेर मात्र नयाँ आवास प्रक्रिया सहज रूपमा अगाडि बढ्नसक्छ,’ एक्सनएड नेपालका कार्यक्रम संयोजक अमिस श्रेष्ठले भने, ‘यसका लागि जवाफदेहिता र सामाजिक समावेशीता अनिवार्य तत्व हो।’ पुनर्निर्माणको क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्था आफूले सञ्चालन गरेको कार्यक्रमप्रति जवाफदेही बन्नुपर्ने उनको भनाइ छ।

‘पुनर्निर्माण भन्नेबित्तिकै हामी खाली भौतिक संरचनालाई मात्र बुझ्छौं, तर आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षलाई नसमेटीकन सही अर्थमा पुनर्निर्माण अगाडि बढ्न सक्दैन। यसका लागि समुदाय आफै तत्पर भएर अगाडि बढ्नुपर्छ,’ श्रेष्ठले भने।

एक्सनएड नेपालका कार्यक्रम अधिकृत मिनेस गुरुङ तथा आत्मनिर्भर केन्द्र (सिएसआरसी) का सन्दीप श्रेष्ठले एक्सनएड नेपालले बेलायतको कोभेन्ट्री विश्वविद्यालय र हेल्पएज इन्टरनेशनलको सहकार्यमा पुनर्निर्माण कार्यक्रममा समावेशिता र जवाफदेहितासम्बन्धी गरेको अनुसन्धानको निचोड सहभागीलाई सुनाएका थिए। ‘समुदायको अगुवाइमा सिन्धुपाल्चोकमा भएको पुनर्निर्माण कार्यक्रमलाई अनुसन्धानले असल अभ्यासको रूपमा औंल्याएको छ, यसलाई अझै उदाहरणीय र अनुकरणीय बनाउन समुदाय तथा सरोकारवाला निकायको थप प्रयास जरुरी छ,’ गुरुङले भने। पुनर्निर्माण प्रक्रियामा विपन्न, महिला, सिमान्तकृत वर्ग, ज्येष्ठ नागरिक आदिलाई समेटेर समावेशिताको सिद्घान्त अपनाउन आवश्यक रहेको उनको धारणा छ।   

मेलम्ची नगरपालिकाका उपमेयर भगवती नेपालले विभिन्न संस्थाको पहल तथा समुदायको सहभागितामा नयाँ घर बनाउने कार्यक्रम राम्रो ढंगल अगाडि बढेको र त्यसलाई प्रभावकारी बनाउन नगरपालिका सहकार्यका लागि तयार रहेको बताइन्। सिएसआरसीका कार्यक्रम अधिकृत दीपिका अर्यालले समुदाय तहमा समावेशीता र जवाफदेहीतालाई सुदृढ बनाउनका लागि पुरक कार्यक्रम आवश्यक रहेको खाँचो औंल्याइन्। पुनर्निर्माण समिति, जनप्रतिनिधि, युवा सञ्जाल, किशोरी सञ्जाल, ज्येष्ठ नागरिक सञ्जालका गरी ५० जनाको सहभागिता रहेको कार्यक्रममा पुनर्निर्माणमा समुदायको अगुवाइसम्बन्धी वृत्तचित्र पनि देखाइएको थियो।

प्रकाशित: १५ चैत्र २०७४ १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App