७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘गिरिजाको पालामा पार्टी हार्दा प्रशंसा हुने, देउवाकोमा किन आलोचना ?’

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सभापतिलाई कमजोर बनाएर संगठन बलियो नहुने तर्क गरेका छन्।  प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षाका लागि एक सातादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा सदस्यहरुले सभापतिको हुर्मत लिने काम बन्द गर्न आग्रह गरेका हुन्।

निर्वाचनपछि  पार्टीका प्रभावशाली नेताहरुबाटै सभापतिमाथि निरन्तर प्रहार हुँदा कांग्रेसलाई कमजोर बनाउने काम भइरहेको आरोप लगाउँदै निर्वाचन परिणाम आफ्नो पक्षमा नआउनुको दोष सभापतिको मात्र नभएको र सामूहिक जिम्मेवारी लिनुपर्ने तर्क गरेका छन्।

‘पार्टी सभापति शेरबहादुर देउवाको हुर्मत लिनु भनेको कांग्रेसकै हुर्मत लिनु हो,’ केन्द्रीय सदस्य रमेश रिजालले भने, ‘पार्टीभित्र छलफल नगरी तपाईंहरु (रामचन्द्र पौडेल, प्रकाशमान सिंह)ले जे कुरा मिडियामा लैजानु भएको छ त्यसले कांग्रेसलाई कमजोर बनाएको छ।’

संविधानसभाको पहिलो निर्वाचन गराएर तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला पार्टी हारेपनि देशलाई जिताए भन्दा उहाँको प्रशंसा हुने तर शेरबहादुर देउवाले तीन तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्दा किन आलोचन भन्ने प्रश्न उनले राखेका थिए।  

सभापतिलाई कमजोर बनाउँदा तत्काललाई आफ्नो अभिष्ट पुरा भएपनि सिंगो पार्टी संगठन भने धरासायी बन्दै जाने रिजालको तर्क छ। एउटा निर्वाचन हार्दैमा पार्टी सकियो भन्ने तर्क गलत भएको जिकिर गर्दै उनले नेता तथा कार्यकर्तालाई इनट्याक गरेर अघि बढ्न सके अर्को चुनावमा कांग्रेसले बहुमत ल्याउन सक्ने दाबी गरे। ‘कांग्रेससँग विचार छ, सिद्धान्त छ, संगठन छ,’ उनले भने, ‘एउटा चुनाव हार्दैमा हामी डराउनु पर्छैन। तर आरोप प्रत्यारोप होइन मिलेर अघि बढ्नसक्नुपर्छ।’

तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई निर्वाचन हराउने, गणेशमान सिंहलाई अपमानित गर्ने र जेलनेल खेपेका नेता कार्यकर्तालाई अवसर र सम्मान भन्दा हुर्मत लिने संस्कार बढ्दै जाँदा कांग्रेस कमजोर बनेको रिजालको विश्लेषण छ।

अर्को नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवार छनौटदेखि सबै निर्णय सामूहिक भएको भन्दै पराजयको दोष सभापतिलाई मात्र लगाउनु गलत भएको बताए। ‘पार्टीको कुनै निर्णय सभापतिले मात्र गर्नु भएको छैन, सामूहिक भएको निर्णयको जिम्मेवारी पनि सबैले लिनुपर्छ,’ उनले भने, ‘कमजोरीको जिम्मेवारी अरुलाई पन्छाउनु नैतिकसंगत हुँदैन।’

२०४६ को जनआन्दोलनपछि गणेशमान सिंहले प्रधानमन्त्री अस्वीकार गरेसँगै कांग्रेस एसियामै चर्चाको पार्टी बनेको सुनाउँदै उनले तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई अन्तर्घात गरेर निर्वाचनमा पराजितसँगै कांग्रेस ओरालो लागेको दाबी गरे। प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कांग्रेसले सिट संख्या लुज गरेपनि जनमत नगुमाएको कार्कीले दाबी गरे।

नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित पार्टी नेताहरुले सभापतिलाई पत्र वा अन्य माध्यमबाट आफ्ना धारणा बाहिर ल्याएकोप्रति संकेत गर्दै कार्कीले बैठकमा भने, ‘अहिले बेमौसमी बाजा बजाउनु, निराशा र कुन्ठा पोख्नुको अर्थ छैन।’

केन्द्रीय सदस्य महेन्द्र यादवले पनि पार्टी सभापतिले निर्मम निर्वाचन समीक्षा बैठक राख्ने बताउँदै संगठनलाई कमजोर बनाउने गरी नेताहरुले मिडियामा प्रचारबाजी गरेको आरोप लगाए। मिडिया प्रचारबाजीले कांग्रेसलाई बलियो नबनाएको धारणा राख्दै यादवले सभापतिलाई कमजोर बनाएर आफु बलियो हुने सपना नदेख्न नेताहरुलाई आग्रह गरे।

सहमतिको आधारमा अघि बढेकै कारण सरकार, प्रतिनिधि र प्रदेशसभाको उम्मेदवार छनोटदेखि सबै ठाउँमा भागबन्डा भएको यादवले दाबी गरे। ‘कि सभापतिले सहमति गरेर गल्ली गर्नुभयो बहुमतबाट जानुपर्दथ्यो भन्नु प-यो होइन भने सबै मिलेर टिकट बाँडेपछि पराजयको दोष उहाँको थाप्लोमा मात्र हाल्नु भएन,’ यादवले भने।

संविधानसभाको पहिलो निर्वाचन गराएर तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला पार्टी हारेपनि देशलाई जिताए भन्दा उहाँको प्रशंसा हुने तर शेरबहादुर देउवाले तीन तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्दा किन आलोचन भन्ने प्रश्न उनले राखेका थिए।  

तीन दर्जन बढी केन्द्रीय सदस्यले एक सातादेखि जारी बैठकमा धारणा राखेपनि निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिंदै सभापति देउवाले नेतृत्व छाड्नुपर्छ भन्ने अभिव्यक्ति दिंदै आएका अधिकांश सदस्यले अझै धारणा राख्न बाँकी छ। बैठक शुक्रबार पुनः बस्ने छ।

प्रकाशित: १५ चैत्र २०७४ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App