८ वैशाख २०८१ शनिबार
खेल

सगरमाथाको फेदीमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता, विजेतालाई ५ लाख

सगरमाथा दिवसरको अवसरमा आयोजना हुने नाम्चे बजार । तस्बिर: नागरीक

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पर्ने सगरमाथाको फेदीमा सर्वाधिक राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। खुम्बु भ्रमणमा आन्तरिक पर्यटकलाई पनि बढवा दिन सोलुखुम्बुको खुम्बु–पासाङल्हमु गाउँपालिका स्थित नाम्चेमा नेपालकै हालसम्मको सर्वाधिक राशिको भलिबल प्रतियोगिता गरिने भएको हो।

सगरमाथा दिवस अर्थात मे २९ का दिन नाम्चे बजारमा वृहद खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको नाम्चे युवा समूहका खेल संयोजक लामाकाजी शेर्पाले जानकारी दिए। उनले भने, ‘स्वदेशी पर्यटक भित्र्याउने उद्धेश्यका साथ हामीले यो खेलको आयोजना गरेका छौं।’  

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख १०१ रुपैयाँका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्वितिय र तृतिय हुने टिमले क्रमशः नगद ३ लाख १०१ रुपियाँ र १ लाख १०१ रुपैयाँका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीका लागि नगद ५० हजार १०१ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यो पुरस्कार राशि अहिले सम्मकै सबैभन्दा ठूलो राशि भएको आयोजकको दाबी छ।

अक्सर बिदेशी पर्यटक मात्रै पुग्ने खुम्बुमा स्वदेशी पर्यटक पनि भित्र्याउनका लागि ‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाऔँ’ भन्ने मूल नाराका साथ नेपालकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता आयोजना गरेको आयोजक नाम्चे यूवा समूहले जनाएको छ।

खेलमा सहभागी हुन १० हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ भने १२ खेलाडी सहित व्यबस्थापक प्रशिक्षक र सहायक प्रशिक्षक गरी १६ जना सहभागी हुन पाउने व्यबस्था गरिएको शेर्पाले बताए। खुला प्रतियोगिता भएकाले ख्यातीप्राप्त जुनसुकै क्लब आउन सक्ने तर स्थानीय खेलाडी पनि हुने भएकाले राष्ट्रिय खेलाडी एक टिममा दुई जनासम्म मात्र खेलाउन पाउने नियम बनाइएको आयोजकले जनाएको छ।

सगरमाथामा अवस्थित खुम्बु क्षेत्रमा वार्षिक ३५ हजारको संख्यामा बिदेशी पर्यटक पुगे पनि नेपाली दाजुभाइहरू खुम्बु जान नसकेको भन्दै आन्तरिक पर्यटकलाई पनि प्राथमिकता दिनुपर्ने आयोजकको भनाइ छ। खुम्बुमा आन्तरिक पर्यटकलाई योग्य व्यवहार गरिदैँन भन्ने गलत हल्ला चिर्न पनि कार्यक्रम गरिएको संयोजक शेर्पाले बताए। खुम्बुको पर्यटन बिदेशी भन्दा स्वदेशी पर्यटकमार्फत प्रबद्र्धन गर्न सकिने निष्कर्ष आफूहरूको रहेको नाम्चेका अगुवा सोनाम ग्याल्जेन शेर्पाले बताए।

यसअघि पनि नाम्चे युवा समूहले फुटसल प्रतियोगिता गरेको थियो। त्यस समय पनि सयौँ आन्तरिक पर्यटक भित्र्याउन सकेको भन्दै यस पटकको वृहत कार्यक्रमले पाँच हजार बढी आन्तरिक पर्यटक भित्र्याउन सकिने आयोजकको लक्ष्य छ। खुम्बुका अधिकांश पर्यटकीय गाउँहरूमा आतिथ्य सत्कारका लागि आवश्यक होटल तथा लजहरू निर्माण भइसकेकाले अब जति पर्यटक आएपनि सेवा दिन सक्ने भन्दै आन्तरिक पर्यटनलाई पनि बढवा दिन लागिएको बताइएको छ।

केही वर्ष पहिले पनि नाम्चेका बासिन्दाले आन्तरिक पर्यटन प्रबद्र्धन गर्न भन्दै नाम्चे महोत्सब गरेको थियो। तर त्यसले निरन्तरता पाउन नसकेपछि यस्तो प्रतियोगितात्मक कार्यक्रमहरू गर्न लागिएको लामा काजीको भनाइ छ।

कार्यक्रममा राष्ट्रियस्तरका ख्यातीप्राप्त कलाकारबाट सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ। सांस्कृतिक कार्यक्रममा लोक गायक बद्रि पंगेनी, इण्डियन आइडल प्रशान्त तामाङ, पप गायक अभिनाश घिसिङ लगायतलाई नाम्चे ल्याउने तयारी आयोजकले गरेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाईला राखेको दिनको अवसरमा हरेक वर्ष बिभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाउने गरिएको छ।

प्रकाशित: १५ चैत्र २०७४ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App