१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तिम्ल्याहा बच्चा संगाल्दै दुई दम्पत्ती

बतासेका ज्ञानबहादुर राई र देबीका राईको कोखबाट जन्मिएकी तिम्ल्याहा छोरी। तस्बिर सौजन्य: लोकेन्द्र राईको फेसबुक

खोटाङ – पछिल्लो समय जन्मान्तर कायम गरेर थोरै बच्चा जन्माउने दम्पत्तीको संख्या बढ्दो छ। तर, खोटाङका दुई दम्पत्तीले एकै पटकमा तीन–तीन वटा बच्चालाई जन्म दिएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ललित राई र बिन्दा राईको एकै पटकमा तीन छोरा तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ज्ञानबहादुर राई र देबिका राईको एकै पटकमा तीन छोरी जन्मिएको हो। ललित र लक्ष्मीको फागुन ३० गते तथा ज्ञानबहादुर र देबिकाको फागुन २० गते तीन–तीन वटा छोराछोरी जन्मिएको हो। १० दिनको अन्तरमा जन्मिएका नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ। हाल दुबै राई दम्पत्ती एकैसाथ जन्मिएको तीन÷तीन वटा नवजात शिशुको हेरचाहमा व्यस्त छन्।

ललित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष पनि हुन्। उनको १७ वर्षकी एक छोरी छन्। लामो जन्मान्तरपछि काठमाडौंको बसुन्धारास्थित बीपी स्मृति अस्पतालमा बिन्दाले नर्मल तरिकाले तीन छोरा जन्माएकी हुन्। नवजात शिशुलाई हालसम्म अस्पतालकै निगरानीमा राखिएको छ।

यस्तै, बतासेकी देबिले भने घरैमा तीन वटी छोरीलाई जन्म दिएकी हुन्। ज्ञानबहादुर र देबिकाको यसअघि नै पाँच बालबच्चा जन्मिसकेका छन्। ज्ञानबहादुर र देबिकाको तीन वटै छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यचौकी बतासेका एचए माधव सुबेदीले बताए। ‘वडामा बर्थिङ सेन्टर छैन, घरैमा छोरी जन्माएकी हुन्,’ एचए सुबेदीले भने, ‘फागुन ४ गते स्वास्थ्य जाँचका लागि ल्याउँदा बच्चाको अवस्था नर्मल देखिएको छ।’

प्रकाशित: १५ चैत्र २०७४ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App