५ वैशाख २०८१ बुधबार
विचार

नेपाली संस्कृतिको सन्देश के?

अमेरिका एउटा समिश्रित देश मानिन्छ जहाँ संसारभरका मानिस बसोबास गर्दै आएका छन्। त्यसकारण यसलाई अंग्रेजीमा मेल्टिङ पट याने पग्लिरहने भाँडाका रूपमा चित्रण गरिन्छ। आप्रवासीहरूको देश भएकाले अहिलेसम्म पनि हरेक वर्ष ५० हजारबाहिरी व्यक्तिलाई चिठ्ठाद्वारा भित्र्याइन्छ। जुन मुलुकका मानिस कम संख्यामा छन् ती मुलुकलाई यसमा प्राथमिकता दिइने गरिएकोछ। यो अर्कै कुरा हो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो प्रथा नै अन्त गर्न खोज्दैछन्। अनौठो लाग्ने कुरा के हो भने जुन चरित्रका लागि आज अमेरिका गर्व गर्छ त्यो चरित्र २६०० वर्षदेखि नेपालको थियो र हालसम्म पनि छ। नेपाल पनि आप्रवासीले भरिएको देश हो। पहिले पनि र अहिले पनि। फरक यत्ति हो कि पहिले त्यसलाई स्वागत र आत्मसात गरिन्थ्यो भने आजकल त्यसलाई निरुत्साहित गरिन्छ। कारण–नेपालको भूभाग बस्तीले भरिइसकेको छ र जनसंख्याको चाप जताततै बढेको छ। त्यसमा पनि आप्रवासीहरूका कारण नेपाल राष्ट्र नै खतरामा पर्ने सम्भावना देखेर यसलाई अन्त गर्न खोजिएको हो।

यस दृष्टिबाट नेपालको इतिहास केलाउँदा ६ भागमा बाँड्न सकिन्छ। हरेक भागलाई एउटा छाताको स्वरूप दिन सकिन्छ। त्यस छाताअन्तर्गत अनेक जातजाति, संस्कृति, सभ्यता मिश्रण हुँदै गरेको पाइन्छ। पहिलो चरणमा किराँत राज्य आउँछ। जसअन्तर्गत मुख्यतया नेवारको बहुलता देखिन्छ। तर कालान्तरमा यसमा ब्राह्मण, क्षत्री, दलित आदि मिसिन आउँछन्। दोस्रो चरणमा नेवार राज्य देखापर्छ जसमा आप्रवासी लिच्छविहरू देखिन्छन्। तेस्रो चरणमा पनि नेवार भाषाको प्र्रभुत्व रहेको राज्यमा ठकुरीहरूको शासन देखापर्छ। चौथो चरणमा मल्लकाल आउँछ जुन नेवार राज्यको नाउँले प्रख्यात भएकोछ। पाँचौँं चरणमा शाहकाल आउँछ जसमा सबै जातजातिमिसिएको पाइन्छ। छैटौंँ चरणमा गणतान्त्रिक राज्य सुरु हुन्छ। यसअन्तर्गत सबै प्रकारका जातजातिलाई राज्य संरचनामा समावेश गर्ने प्रयत्न गरिएकोछ।

नेपाली सांस्कृतिक विकासको निचोड शान्ति, सहअस्तित्व, धार्मिक सहिष्णुता र सामाजिक समिश्रण नै देखिन्छ । यही सन्देश र निष्कर्षबाट हाम्रो राष्ट्रिय जीवन निर्देशित हुनुपर्छ।

यस ऐतिहासिक विभाजनमा नेपाल भन्नाले खासगरी काठमाडौँ उपत्यका बुझिन्छ। किनभने शाहकालको अभ्युदय नहुँदासम्म नेपाल राज्य मुख्यतः यसै उपत्यकामा सीमित थियो। पहिलो चरणको किराँत कालबारेइतिहास शिरोमणि बाबुराम आचार्यले भनेका छन् कि प्राचीन कालमा वर्तमान काठमाडाैं उपत्यकामा किराँत वर्गको नेपार वा नेवार नामक एउटा शाखाको पातलो आवादी फैलिएको थियो। यिनीहरू नै यस क्षेत्रका आदिम मूल निवासी थिए। यो काल इश्वी संवत् पूर्व ५५० देखि २५० सम्मलाई मानिएको छ। यस हिसाबले यो काल करिब ८०० वर्षको अनुमान गरिएको छ। आर्य सभ्यता एवं संस्कृतिहरूसँगको सम्पर्कले गर्दा यहाका नेपार वा नेवारमा पनि राष्ट्रिय भावना विकास भई यस क्षेत्रमा एउटा विशिष्ट किसिमको सभ्यता एवं संस्कृति उत्थान हुने वातावरण बन्दै थियो। यसै सभ्यता र संस्कृतिको संयोगबाट नै नेपाल नामक स्वतन्त्र राष्ट्र निर्माण भएको थियो। यहाँ किराँतकालीन राज्य व्यवस्थाको आरम्भ पनि यिनैताक भएको सङ्केत पाइन्छ। यस क्षेत्रमा आवाद भएर रहँदै आएको जुन जनसमुदाय नेवारी भाषालाई आफ्नो मातृभाषाका रूपमा प्रयोग गर्छ त्यही नै सामान्यतया नेवार मानिन्छ। समय समयमा विभिन्न वर्ग वा समुदायका जातिपनि यसै समाजमा आएर घुलमिल हुँदै आइरहेकाले सामाजिक हेलमेल बढ्दै आइयस जातिमा आर्य रक्तको मात्र होइन, आर्य संस्कृतिको पनि प्राधान्य पाइन्छ।

दोस्रो चरणमा लिच्छविहरू राज्यका हर्ताकर्ता हुन पुगेका थिए। यो काल करिब ४५० वर्षसम्म रहेको अनुमान छ। तर उनीहरू पनि नेवारी पहिचान बनाएर बसेका थिए। तसर्थ यस काललाई नेवारी राज्य भन्नु उपयुक्त देखिन्छ। बाबुराम आचार्यको भनाइअनुसार लिच्छवि तथा विदेह एउटै समय तथा एकै जमातमा नआई लामो समय लगाएर ससानो जमातमा आइरहेका थिए। यसैले किराँत वर्गका नेवारको बोलवाला रहेको वर्तमान काठमाडौँ उपत्यकामा आप्रवासीको भाषा, भेषभूषा, तथा रीतिरिवाज यथावत्रूपमा चल्दै रहनु सम्भव थिएन। फलस्वरूप यिनीहरू यहाँका मूल निवासी किराँत वर्गका नेवारको भाषाका साथै सहनसहन, खानपान तथा रीतिरिवाज पनि आत्मसात् गर्न बाध्य भएको देखिन्छ। यसबाट रूप, रंग तथा केही सांस्कृतिक विशेषताले गर्दा आर्य भए पनि बोलचाल तथा आचार व्यवहारका दृष्टिबाट भने नेपाल आइपुगेका लिच्छवि तथा विदेहहरू यथार्थमा लिच्छविनेवारका रूपमा परिणत भएका थिए।

तत्कालीन नेवार शासकहरू सामरिक शक्तिमा धेरै कमजोर भएका थिए। यसैले नेपाल राज्यको राज्याधिकार सम्हालेर बसिरहेका यहाँका किराँत वर्गका नेवारलाई राज्यसत्ताबाट हटाउन लिच्छविहरूलाई कठिनाइ भएन। किराँतको राज्य व्यवस्था नै हटाइ लिच्छविहरूले यहाँ सजिलैसँग आफ्नो राज्य व्यवस्था स्थापना गराएका थिए। यस सिलसिलामा कुनै शक्ति संघर्ष भएको पनि देखिँंदैन। साथै किराँत वर्गका नेवार र लिच्छवि वर्गका नेवारबीच कुनै प्रतिशोधात्मक भावना र कारबाही भएको देखिंँदैन। बरु यी दुईबीचमा सामाजिक हेलमेल भएकाले दुईथरी संस्कृतिको मेलबाट नेपालमा एउटा नयाँ किसिमको विशिष्ट जाति तथा संस्कृति निर्माण हुन आएको छ।

अनौठो लाग्ने कुरा के हो भने जुन चरित्रका लागि आज अमेरिका गर्व गर्छ त्यो चरित्र २६०० वर्षदेखि नेपालको थियो र हालसम्म पनि छ। नेपाल पनि आप्रवासीले भरिएको देश हो।

तेस्रो चरणमा जसरी किराँत नेवारहरूबाट लिच्छवि नेवारहरूले शान्तिपूर्वक सत्ता हत्याएका थिए उसरी नै लिच्छवि नेवारहरूबाट ठकुरीहरूले पनि बिनाकठिनाइसत्ता हात पारेका थिए। तर नेपाल उपत्यकाको संस्कृति र सभ्यतालाई उनीहरूले निरन्तरता दिएर उच्चकोटिको पनि बनाए । यो सन् ८७९ देखि सन् १२०० सम्म चलेको थियो। यसलाई इतिहासकारहरूले अन्धकारको युग भनेका छन् ।तर पुरातत्वविद् डा. साफल्य अमात्यको विचारमा यसलाई सङ्क्रमणकाल या अन्तरिमकालीन युग भन्नुपर्छ। किनभने यो शान्तिको युग थियो र यसबेला वाग्मती सभ्यताका लागि धेरै महत्वपूर्ण देन प्राप्त भएका छन् । तीमध्ये नेपाल संवत्को सुरुवातलाई एउटा प्रमुख देन मान्नुपर्छ। राघवदेवको पालामा यो सुरु भएको थियो। उनलाई पहिलो ठकुरी राजा मानिन्छ। उनीहरू पनि दक्षिणबाट व्यापारका लागि आएका तर पछि सैनिक सेवामा पसेका थिए। लिच्छवि राजाहरू पनि कालान्तरमा शान्तिवादी भएका हुनाले नयाँ आगन्तुक ठकुरीहरूले सजिलैसित राज्य सत्ता हत्याएका थिए। डा. अमात्यका अनुसार उनीहरू मूलतः व्यापारी भएकाले राजनीति, लडाइँ र झगडामा ध्यान नदिई भारत र तिब्बतसँगको व्यापार बढाए। आ–आफ्ना इलाकाको उन्नति र विकास गरे र नेपाल उपत्यकालाई सम्पन्न र वैभवशाली बनाए। उनीहरूका सन्तान ठमेल र वटुटोलका प्रधान र भीमसेनस्थान र कोहिटीका मल्लहरूले हालसम्म पनि धार्मिक र सांस्कृतिक भूमिका खेल्दै आएको तथ्य पनि डा. अमात्यले खुलासा गरेका छन्।

चौथो चरणको इतिहासलाई मल्लकाल मानिन्छ। यो ५५० वर्षसम्म रहेको मानिन्छ । यो अरी मल्लबाट सुरु भएर जयप्रकाश मल्लसम्म चलेको थियो । यसलाई नेवार काल नै मानिएको छ । यस कालबारे डा. अमात्यको भनाइ छ– ‘मल्लकालमा धेरै समयसम्म अस्थिर एवं झगडाको राजनीतिबीच पनि मल्ल राजाहरूको धार्मिक र समाजसेवा गर्ने चेतनाका कारण तीनवटै राज्यमा धार्मिक र सामाजिक संरचना प्रशस्तै बनेका थिए। राजा र धनाढ्य भारदार एवं जनताको समेत सहभागितामा विभिन्न देवदेवीका मन्दिर बनाइए, बिहार बनाइए। जनताको सुख÷सुविधाका लागि ढुङ्गेधारा, पोखरी, कुलो, बाटोघाटो, पुलपुलेसा पनि बनाइए। यस्ता निर्माणमा मल्ल रानीहरूले पनि त्यत्तिकै योगदान गरेका थिए।

पाँचौँ चरणमा शाह काल आउँछ। यो २४० वर्ष रहेको थियो र सन् १७६८ देखि सन् २००८ सम्म चलेको थियो। यो कालको सांस्कृतिक मूल्यांमन गर्दै डा. अमात्यले भनेका छन्– ‘पृथ्वीनारायण शाहले काठमाडौंँ उपत्यका जिते तर काठमाडौँं उपत्यकाको संस्कृति र सभ्यताले भने उनैलाई जिते। वाग्मती उपत्यकाभित्र जंगबहादुरको समयसम्म वास्तुकलाको क्षेत्रमा मल्लकालीन परम्परा कायम राख्न खोजिएको थियो तर राणाकालको १०४ वर्षसम्म वाग्मती सभ्यतामाथि ग्रहण लाग्यो। एकातिर विदेशी वास्तुकला, मूर्तिकला, चित्रकला, ललितकला आदिले राज आश्रय पायो भने अर्कोतिर मौलिक नेपाली कला, वास्तुकला, ललितकला सबै विस्तारै ओझेलमा पर्न थाले। जनस्तरबाट जे÷जति संरक्षण सवद्र्धन हुन सक्यो त्यसभन्दा बढी केही हुन सकेन।

नेपालमा गणतन्त्र सुरुवात भएपछिको समयलाई छैटौँ चरणमा राख्न सकिन्छ। यो चरणको आरम्भमै हामीयसमा सहभागीभएकाले यसमा के भएको थियो भन्नुभन्दा अब के गर्नुपर्छ भनेर सोध्नु आवश्यक देखिन्छ। यस सन्दर्भमा इतिहास शिरोमणि बाबुराम आचार्यलाई सम्झनु उपयुक्त देखिन्छ। उनले नेपालको भविष्यतिर इंगित गर्दै भनेका छन्– ‘किराँत, आर्य र खस गरी तीनथरी संस्कृतिका तीन प्रमुख धारा र उपधारा मिलेर वर्तमान नेपाली संस्कृति निर्माण भएको पाइन्छ। नेपाली संस्कृतिको वर्तमान स्वरूप निर्धारणमा विभिन्न कालमा विभिन्न जाति र तिनीहरूले विकास गराएका विभिन्न संस्कृतिको योगदान छ। नेपालमा हाल विकसित संस्कृतिहरूको पारस्परिक आदानप्रदान र नेपाली संस्कृतिको मूल प्रवाहमा परिष्कार हुने क्रम अझै जारी छ।’ नेपाली सांस्कृतिक विकासको निचोड शान्ति, सहअस्तित्व, धार्मिक सहिष्णुता र सामाजिक समिश्रण नै देखिन्छ। यही सन्देश र निष्कर्षबाट हाम्रो राष्ट्रिय जीवन निर्देशित हुनुपर्छ।

प्रकाशित: १५ चैत्र २०७४ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App