coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

राजनीतिको अंकगणित

कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनावको बेला टिकट बाँड्ने समितिमा थिए र समानुपातिकको एक नम्बरमा बस्ने सहमति जनाए। राप्रपा नेपालसँगको चुनावी तालमेलका लागि सिटौलाले झापा  निर्वाचन क्षेत्र ३ मा राप्रपालाई मैदान छोड्ने कांग्रेसको नीति थियो। सिटौलाको गृहनगर यात्रापछि पार्टी नीति फेल भयो। सिटौलाले गृहनगर पुगेर आफ्ना नजिकता कार्यकर्ता अर्थात् पार्टीका अगुवाहरूसँगको छलफलपछि उम्मेदवार भएरै छाड्ने निर्णय गरे। यहाँ कांग्रेस पार्टीको नीति फेल खायो, सिटौला नीति अख्तियार गरियो। अघिल्लो संविधानसभा चुनावका बेला पनि राम्रो मत ल्याएका राप्रपाका राजेन्द्र लिङ्गदेनलाई पराजीत गर्ने योजना थियो सिटौलाको। यही प्रयोजनका निम्ति उनले निर्वाचन क्षेत्र निर्धारण हुँदा नै चलखेल गरेर आफैँ बसोबास गर्ने चन्द्रगढीलाई झापा क्षेत्र १ मा राखे। आफ्नो घर आँगन कांग्रेसका अर्का उम्मेदवार विश्वप्रकाशको कित्तामा हालेर क्षेत्र नं ३ मा सुरक्षित ठानेका सिटौलालाई वामपन्थीको साथ र समर्थन पाएर लिङ्देनले पछारे।

काठमाडौँको कांग्रेस राजनीतिमा प्रकाशमानको बोलवाला चल्छ। काठमाडाँै सहरको कोर ठमेल  चाक्सीबारीमा बसोबास गर्ने प्रकाशमान कांग्रेसको किल्ला मानिने काठमाडौँको १ नम्बर क्षेत्रबाट मुस्किलले सांसद चुनिए। त्यसो त प्रकाशमानको कमान्ड चल्ने काठमाडौँ महानगरको चुनावमा मेयर उम्मेदवार राजुराम जोशीको नराम्रो पराजय भयो। जोशीलाई मेयर उम्मेदवार बनाउने निर्णय कांग्रेस पार्टीको नभएर प्रकाशमानको हो, जसमा पार्टीले छापमात्र लगाएको कांग्रेसजन बताउँछन्। झापामा सिटौला पार्टी निर्णय विपरीत कदम नचालेको थियो भने संघीय निर्वाचनमा झापाका सबै क्षेत्र कांग्रेसले गुमाउनुपर्ने स्थिति हुन्नथ्यो। कारण, झापाको राजनीतिमा राप्रपाको उल्लेखनीय उपस्थिति छ। सिटौलाका कारण राप्रपाका कार्यकर्ता नचाहेरै पनि वामपन्थी किल्लामा उभिए।

कांग्रेसले आफ्ना उम्मेदवारलाई पन्छाएर संघीय समाजवादी फोरमका उपेन्द्र यादवलाई जितायो।  उता महोत्तरीबाट कांग्रेसजनको मत पाएरै राजपाका शीर्ष नेता महन्थ ठाकुर विजयको माला लगाएका हुन्। सुनसरी, मोरङ छोडेर सप्तरी छिरेका यादव र आफ्नो थातथलो छोडेर महोत्तरी कांग्रेसको शरणमा पुगेका ठाकुरहरू अहिले एमाले अध्यक्ष केपी ओलीको सरकारलाई समर्थन गर्दैछन्। कांग्रेसका केन्द्रीय नेता विमलेन्द्र निधिलाई राजपाका राजेन्द्र महतोले पराजित गर्नुपछाडिको राजनीतिक रमाइलो बेग्लै छ। एमाले र माओवादीले आफ्ना वामपन्थी उम्मेदवारलाई भोट नहालेर राजेन्द्रलाई मत दिए र विमलेन्द्रलाई हराए । अहिले राजपाका महतो ओलीसँग सत्ता याचना गरिरहेका छन्। कांग्रेसको लोकतान्त्रिक गठबन्धन चुनावका बेला आफ्ना लागि उपयोग भएन राजपाका शीर्षलाई विजयी गराउन योगदान ग¥यो। अहिले कांग्रेस एक्लो र कमजोर प्रतिपक्ष बनेको छ, संघीय संसद्मा।

कांग्रेससामु अहिले आन्तरिक र बाह्य दुवै चुनौती छ। कम्युनिस्ट बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकार कमजोर प्रतिपक्षीलाई पन्छाउँदै लोकतन्त्रको आफूखुसी ‘प्रयोग’ गर्ने मुडमा देखिन्छ। यस्तै बहुमत प्राप्त गर्नेहरूले संसद्बाटै अधिनायवाद जन्माएका इतिहास पनि छन् विश्वमा।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जो आफूलाई पार्टी सभापति र प्रधानमन्त्री उम्मेदवारको हैसियतमा राख्छन् उनी आफैँ तनहुँ जस्तो कांग्रेसको किल्लाबाट पराजित भए। कांग्रेसको १३ औँ अधिवेशनमा पार्टी सभापतिका प्रत्यासी भएर पराजित भएका पौडेल त्यसपछिको कांग्रेस राजनीतिमा भागबन्डाको अंशियार बनिरहे। चुनावका बेलामा पौडेल, सिटौला सबैले आआफ्नो भाग खोजेको कुरा लुकेको छैन। पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउने नाममा वडादेखि केन्द्रसम्म भागबन्डा गरिएको कुरा सतहमा छर्लंग आएका विषय हुन्। पार्टीमा प्रतिपक्षीको भूमिका खेल्दै आएका पौडेलले चुनावमा पराजय हुनुको दोष पार्टीलाई लगाउने कि आफैँलाई? केलाउन आवश्यक छ।

राजनीतिमा कुनै पदमा पराजित भइसकेपछि चुनाव जित्नेलाई काम गर्न दिने उदारता रखिन्छ, अर्को अधिवेशनसम्म पदमा नबसेर तयारी गरिन्छ। तर पौडेलबाट त्यस्तो उदारता कहिल्यै देखिएन, उनले पराजय स्वीकारेनन् सायद सधैँ अंश दाबी गरिराखे। पौडेलले चुनाव सम्पन्न भएको केही समयपछि सार्वजनिक खपतका निम्ति पार्टीको कार्य सम्पादन समिति र संसदीय समिति विधान विपरीत रहेको भन्दै आलोचना गरेका थिए। अहिले केन्द्रीय समितिमा त्यो विषयले गर्मी थपेको छ। तर विडम्बना विधिको कुरा उठाउनेहरू ती समितिबाट अलग हुने हिम्मत गरिराखेका छैनन् । संसदीय समिति अहिलेको कांग्रेसका लागि प्रयोजनमा छैन। कारण टिकट दिने समितिको अहिले कुनै खास काम छैन र सरकार बनाउन मन्त्री छानिरहनु परेको पनि छैन । सार्वजनिक खपतका निम्ति नेताहरू कसरी सक्रिय हुन्छन् भन्ने उदाहरण यहाँ पेस गरिएको हो। यस्तै खाले रचनात्मक सक्रियता पार्टी हितमा काम गर्ने हो भने कांग्रेस पार्टीको हैसियत अहिले जस्तो निरीह हुने थिएन बेग्लै हुने थियो।

अहिले कांग्रेसको केन्द्रीय समिति बैठक चल्दै छ। निर्वाचनमा पार्टीको पराजयका कारणहरूको समीक्षा गर्न बसिरहेको बैठकमा चुनावका पराजित भएका पौडेल, सिटौला र शेखर कोइरालाहरू लिखित दस्तावेजहरू पेस गर्दैछन् र मिडियामा हेडलाइन बनिरहेका छन्। निश्चय नै पराजयको प्रमुख जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवाको हुन्छ। उनी अहिलेको कमजोर कांग्रेसको बागडोर सम्हालिइरहेकाले गुण दोषको जिम्मेवारी देउवाकै हो, नैतिक जिम्मेवारी सभापतिको हो। जहाँसम्म आलोचनाको कुरा छ। त्यस मामलामा प्रकाशमान पार्टी नेतृत्वप्रति आक्रामक हुन्,  आलोचनामा उत्रनुको राजनीतिक अर्थ रहन्छ, उनले चुनाव जितेका छन्। तर जो आफ्नै निर्वाचन क्षेत्रबाट आउन सकेनन् उनीहरूका सुझाव, सुझबुझले केही अर्थ राख्दैन । शेखर, सिटौला, शरण र पौडेलहरू पराजित हुनु पछाडि अन्तर्घातीहरू पराजित गर्ने हैसियतमा भएका थिएनन्। राजनीतिका आरोपको खेती गर्नका लागि आरोप लगाउनुभन्दा पनि शीर्ष नेताहरूले राजनीतिक संस्कार र आचरण सिकाउन सक्नुपर्छ आउँदो पुस्ताका लागि।

बैठकमा भएका छलफलहरू जो सार्वजनिक बहसमा आएका छन् तिनलाई आधार मान्दा बैठकमा  स्थानीय, प्रदेश र संघीय चुनावमा कांग्रेसले व्यहोरेको पराजयका कारण खोजी भइरहेको छैन, चुनावको सूक्ष्म समीक्षा भइरहेको देखिँदैन। स्थानीय तह, प्रदेशसभा र संघीय सभामा पार्टीका उम्मेदवारहरूले प्राप्त गरेको मतको विश्लेष्ण भइरहेको देखिँदैन। चुनावमा कांग्रेस भएर भन्दा पनि नेताको पोल्टामा परेकाहरू उम्मेदवारी पाएको कुरा सायद नेताहरूले बिर्सिएका छन्। नेताहरूले गरेका भागबन्डा, पार्टीलाई गुटबाट चलाउने परिपाटी पार्टीको पराजयका कारण हुन् वा हैनन् त्यसको लेखाजोखा पनि भइरहेको दैखिँदैन। निर्णायक तहमा बस्ने पदाधिकारी जो ‘जिम्मेवार’ पदहरूमा आसिन छन्, उनीहरू सबै पार्टी सभापति माथि दोषारोपण गरेर आफूहरू पानीमुनिको ओभानो हुन खोजिरहेको देखिन्छ। कांग्रेसले पछिल्ला केही वर्षयता प्राप्त गरेको जनमत जसले उसलाई नेतृत्वदायी स्थानका पु¥याउँदै आएको छ त्यसको राजनीतिक हिसाब किताब गर्न चाहेका छैनन् कांग्रेसले। कांग्रेसले दोस्रो संविधानसभाका प्राप्त गरेको स्वर्णिम अवस्थाका पछाडि कांग्रेसको एक्लो सामथ्र्य हो वा नेपालका प्रमुख दुई कम्युनिस्ट पार्टी आपसमा भिडिरहेको अवस्थाको लाभ पार्टीले उठाएको हो, त्यसबारे चर्चा गरिएको छैन। कांग्रेसजनले धेरै कोकोहोलो गर्दै चुनावी समीक्षा गर्नुभन्दा दुईवटा वामपन्थी मिलेर आफूहरूको पत्तासाफ गरेका हुन् भन्ने निचोडमा पुग्नु आवश्यक छ। स्थानीय तह चुनावको ललितपुर बागमती गापाको परिणाम एउटा उदाहरण हुनसक्छ। ७ वडा भएको बागमतीमा अध्यक्ष, उपाध्यक्ष, १ देखि ४ वडासम्म कांग्रेसका वडाअध्यक्ष, ५, ६, ७ मा एमाले वडा अध्यक्ष निर्वाचित छन्।

चुनावी परिणामले कांग्रेस, एमाले प्रतिस्पर्धामा छन्, र माओवादी तेस्रो स्थानमा छ। पहिलो चरणको यो निर्वाचनमा वामपन्थी एकता भएको थियो भने अध्यक्ष, उपाध्यक्ष लगायत ६ वडा वामपन्थीहरूको हुन्थ्यो र वडा नं १ र ३ मा मात्र कांग्रेस आउन सम्भावना रहन्थ्यो। चुनावको मत परिणामले दिएको संकेत हो। यो गापामा कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चनले ३ हजार ३ सय ८८ मत पाएर विजयी भएका छन् । उता एमालेका उम्मेदवार दुर्गाप्रसाद घिमिरेले २ हजार २ सय ५२ र माओवादीका राजु आलेमगर ले १ हजार ६ सय ४२ मत पाएका छन्। एमाले र माओवादीको मत जोड्दा कांग्रेसभन्दा करिब ५ सय मत बढी हुन्छ। यो तथ्यांक एउटा नमुनामात्र हो । मुलुकका धेरै स्थानको धरातलीय वास्तविकता यही हो। कांग्रेसजनले मनन गर्न आवश्यक छ ।

कांग्रेससामु अहिले आन्तरिक र बाह्य दुवै चुनौती छ। कम्युनिस्ट बहुमतको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार कमजोर प्रतिपक्षीलाई पन्छाउँदै लोकतन्त्रको आफूखुसी ‘प्रयोग’ गर्ने मुडमा देखिन्छ। यस्तै बहुमत प्राप्त गर्नेहरूले संसद्बाटै अधिनायवाद जन्माएका इतिहास पनि छन् विश्वमा । नेपाली जन अहिले विकास र उन्नतिको व्यग्र प्रतीक्षामा छन् र सँगसँगै अधिनायकवाद जन्मने खतरा पनि उत्तिकै छ।

प्रकाशित: १५ चैत्र २०७४ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App