८ वैशाख २०८१ शनिबार
समाज

हरिपुर खुला दिसामुक्त घोषणा

सर्लाहीको हरिपुर नगरपालिकालाई खुला दिसामुक्त घोषणासभामा मंगलबार मिथिलाको चर्चित झिझिया नृत्य प्रस्तुत गर्दै स्थानीय किशोरी। तस्बीर : नागरिक

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणासभामा स्थानीयले आफ्नो कलासंस्कृति एवं भेषभूषा प्रस्तुत गरेका छन्।

मंगलबार दिउँसो हरिपुरको हात्तीसार चौरमा आयोजित घोषणासभामा स्थानीयले मिथिला क्षेत्रकै चर्चित झिझिया नृत्य, मुसहर समुदायको परम्परागत नृत्य तथा थारू समुदायको झाँकी एवं भेषभूषा प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रदेश सांसद बेची लुंगेलीले नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त घोषणा गरिन् भने उपस्थित सयौं स्थानीयलाई अबउप्रान्त खुला रूपमा दिसा नगर्ने शपथसमेत खुवाइन्। नगरपालिकाका मेयर जमरुद्दीन मन्सुरले खुला दिसामुक्त क्षेत्र घोषणापश्चात् नियमित अनुगमन गरी कार्यान्वयनमा कडाइ गरिने बताए। ‘सदियौंदेखि खुला रूपमा शौच हुँदै आएको थियो’, मन्सुरले भने, ‘अब शौचालय प्रयोग नगरे नगरपालिकाले कडा कारबाही गर्नेछ।’

नगरपालिका क्षेत्रमा बसोबास गरिरहेका ७ हजार १६७ घरधुरीले नै शौचालय निर्माण गरी प्रयोगमा आएकाले खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव सापकोटाले जानकारी दिए। यसअघि जिल्लास्थित २० स्थानीय तहमध्ये हरिवन र वागमती नगरपालिकामात्र खुला दिसामुक्त घोषणा भएका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाललगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा राजनीतिक दलका नेता सहभागी थिए। 

प्रकाशित: १५ चैत्र २०७४ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App