६ वैशाख २०८१ बिहीबार
समाज

म्यानपावर र कन्सल्टेन्सीविरुद्ध अर्ब ठगीको उजुरी

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) तथा कन्सल्टेन्सीले ठगेको आरोपमा झन्डै एक अर्ब बिगो दाबीसहितका उजुरी परेका छन्।

महाशाखाको आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ तथा चालू आर्थिक वर्षको फागुनसम्ममा वैदेशिक रोजगारसम्बन्धी ८७ करोड ३४ लाख १९ हजार चार सय रुपैयाँ र कन्सल्टेन्सी ठगीसम्बन्धी तीन करोड ९१ लाख १५ हजार ६ सय बिगो दाबीसहितका उजुरी परेका छन्।

महाशाखामा आव २०७२/०७३ मा मेनपावरमार्फत एक करोड ३० लाख ७४ हजार ठगी भएको बिगो दाबीसहित उजुरी परेका थिए। त्यसअवधिमा वैदेशिक रोजगारका क्रममा भएको ठगीसम्बन्धी १७ उजुरी परेका थिए। २३ जना पीडितले ठगी आरोपमा १८ जनाविरुद्ध उजुरी गरेका थिए। त्यसमध्ये प्रहरीले १२ उजुरी दर्ता गरी ८६ लाख बिगो दाबीसहित मुद्दा अघि बढाएको थियो । अनुसन्धानका क्रममा १३ जनालाई पक्राउ गरी कारबाही गरिएको थियो। प्रहरीमा परेका मध्ये तीनवटा उजुरीमा  मिलापत्र गरिएको थियो। मिलपत्र गरिएका उजुरीमा १९ लाख ४० हजार पाँच सय रुपैयाँ बिगो दाबी गरिएको थियो।

महाशाखाको आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ तथा चालू आर्थिक वर्षको फागुनसम्ममा वैदेशिक रोजगारसम्बन्धी ८७ करोड ३४ लाख १९ हजार चार सय रुपैयाँ र कन्सल्टेन्सी ठगीसम्बन्धी तीन करोड ९१ लाख १५ हजार ६ सय बिगो दाबीसहितका उजुरी परेका छन्।

त्यस्तै आव २०७३/७४ मा महाशाखामा वैदेशिक रोजगारी ठगीसम्बन्धी पाँच सय १३ उजुरी दर्ता भएका थिए। ६२ करोड ७७ लाख ४२ हजार एक सय ३१ रुपैयाँ बिगो दाबीसहित दर्ता भएका उजुरीमध्येबाट प्रहरीले ३४ वटामा मुद्दा चलाएको थियो। ती मुद्दामा प्रहरीले ६ करोड ३८ लाख १० हजार दुई सय २५ रुपैयाँ बिगो दाबी गरेको थियो। एक सय ८१ उजुरीमा मिलापत्र गरिएको थियो। यी उजुरीमा २१ करोड १८ लाख ६९ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो।

चालू आर्थिक वर्षको फागुनसम्ममा महाशाखामा वैदेशिक रोजगार ठगीसम्बन्धी एक सय २९ उजुरी दर्ता भएका छन्। यी उजुरीमा २३ करोड २६ लाख तीन हजार दुई सय ६३ रुपैयाँ बिगो दाबी गरिएको छ। यीमध्ये प्रहरीले दुई करोड ४७ लाख ९४ हजार ६ सय ६७ रुपैयाँ बिगो दाबीसहित १४ जनालाई मुद्दा चलाएको छ। उजुरी परेका मध्ये ३७ वटामा मिलापत्र भएको तिनमा तीन करोड १९ लाख एक हजार रुपैयाँ बिगो दाबी रहेको तथ्यांकमा उल्लेख छ।

यस्तै आर्थिक वर्ष २०७२/७३ मा कन्सल्टेल्सी ठगीसम्बन्धी ५६ उजुरी महाशाखामा परेका थिए। तिनमा कुल बिगो एक करोड ९४ लाख २२ हजार रुपैयाँ दाबी गरिएको थियो । प्रहरीले ४४ वटा उजुरीमा मुद्दा दर्ता गरी ४६ जनालाई पक्राउ गरेको थियो। तिनको बिगो दाबी एक करोड तीन लाख थियो। यस्तै पाँचवटा उजुरीमा मिलापत्र गराइएको थियो, जसको बिगो रकम ३५ लाख ६५ हजार चार सय ६० रुपैयाँ थियो।

आव २०७३/७४ मा कन्सल्टेल्सी ठगीका १० उजुरी परेका थिए। उजुरीमा एक करोड ५५ लाख ९३ हजार ६ सय रुपैयाँ बिगो दाबी गरिएको थियो। तीमध्ये प्रहरीले पाँचवटा उजुरीमा एक करोड ३३ लाख ३१ हजार १२ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको थियो। ६ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएको छ।

चालू आर्थिक वर्षमा कन्सल्टेन्सी ठगीसम्बन्धी दुईवटा उजुरी परेको र त्यसबापत ४१ लाख बिगो दाबी गरिएको प्रहरीले जनाएको छ। दुवै उजुरीमा मुद्दा दर्ता गरी दुईजनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार ठगी मुद्दामा उजुरी दिनेमध्ये अधिकांश मेलमिलापमा टुंगिने गर्छन्। उजुरीअनुसार प्रहरीले छानबिन गर्ने क्रममा ठगी गर्नेले पीडितलाई ठगीबापतको रकम तिर्न तयार भएपछि टुंगिने गरेका छन्। मुद्दा दर्ता गरी कारबाही अघि बढाउँदा लामो समय लाग्ने हुँदा पीडितले ठगिएबापतको रकम लिएर उजुरी फिर्ता गर्ने गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: १५ चैत्र २०७४ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App