coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हुलाकी राजमार्गको सपना पूरा हुने आश

हुलाकी राजमार्गको शिलान्यासले भरोसाका पालुवा पलाएका बरियारपट्टीका जेष्ठ नागरिक । तस्बिर : मिथिलेश/नागरिक

सिरहा – हुलाकी सडकलाई हुलाकी राजमार्गको स्वरुपमा देख्ने बरियारपट्टी–३ का रासलाल यादव (८२) को सपना छ दशकभन्दा बढी समयदेखिको हो।

हुलाकी सडक राजमार्गको रुपमा विकास हुने चर्चा चुलिँदा उनमा भरोसाको पालुवा पलाउँछ, सेलाउँदा भरोसाको पालुवा पनि सेलाउँछ । हुलाकी राजमार्ग देख्ने सपना पलाउने र सेलाउने क्रम छ दशकदेखि चलिरहेको छ ।   गत मंगलबार (चैत ६ गत्ते) सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्गको बरियारपट्टी खण्डको शिलान्यास गर्दा रासलालको भरोसा पुनः जागेको छ।

उनी जति उत्साहित बनेका छन् त्यति नै शशंकित पनि छन् । कारण कोट्याउँदै उनले भने, ‘राणाकालदेखि पटकपटक शिलान्यास हुँदै सेलाउँदै गरेको बेहाल विगत छ ।’ वि.सं. १९०३ देखि २००८ सम्म राणाशासक जंगबहादुरबाट हुलाकी मार्ग निर्माणको थालनी जुद्धशमशेर, पदम शमशेर हुँदै विभिन्न कालखण्डमा पटकपटक शिलान्यास भए । शिलान्यास हुने, निर्माणको थालनी हुने तर बीचमै निर्माण रोकिने विगतले उनी झस्किरहेका छन्।

शिलान्यास भएपनि निर्माण हुन्छ भन्नेमा अझै पूर्ण भरोसा छैन,’ उनले भने ।तराई–मधेसको विकासको मेरुदण्ड मानिने बहुचर्चित हुलाकी राजमार्गको शिलान्यासले देहातका जनतामा उत्साह जगाएको छ बरियारपट्टीका जेष्ठ नागरिक लक्ष्मी यादव (८०)ले भने, ‘यसपालि निर्माण पूरा हुने आशा बढेको छ ।’ सिरहाको पूर्वी बलानदेखि कमला खण्डसम्म शिलान्यास भएको हुलाकी राजमार्गले यस भेगका ग्रामीण जनतामा खुसी थपेको छ।

‘बुबाहरुले राणाकालमै हुलाकी सडक शिलान्यास भएर बन्न सुरु भएको सुनाउँथे,’ स्थानीय गंगाप्रासाद यादव भन्छन्, ‘हामीले सुरुमा देखेको हुलाकी सडक अहिलेको भन्दा धेरै चौडा थियो ।’ पहिला सडक छेउछाउ बस्ती थिएन, अहिले बस्तीले सडक ढाकेको छ । ‘हामीले थाहा पाउन्जेल सडकको ठाउँठाउँमा खाल्डा भइसकेका थिए,’ उनले भने, ‘पारि धान बोकेर जाने एउटै साधन बयलगाडा थियो ।’ सडकका खाल्डाले बयलगाडा हिँडाउनै कठिन हुन्थ्यो।

‘यहाँबाट भारतीय सहर दरभंगा, मधुवनीलगायत सहरमा धान बिक्री गर्न लैजान्थ्यौं,’ उनले विगत सम्झे, ‘उताबाट नुनतेल, लत्ताकपडा लिएर आउथ्यौं ।’ यो सडक चल्तीको सडक थियो । योभन्दा माथि १८ किमि उत्तरबाट राजमार्ग बन्न थालेपछि यो सडकमा चहलपहल घट्न थाल्यो, बिस्तारै जीर्ण बन्न थाल्यो । राजमार्ग चल्तीमा आएपछि यो सडक ओझेलमा प¥यो । पछि बयलगाडा हिँडाउनसमेत असहज भयो।

‘पटकपटक निर्माण सुरु भएर सेलाएकाले अझै पनि यो सडकले पूर्णता पाउनेमा स्थानीय आशावादी छैन । नेताहरुको बोलाई र गराइको ठेगान नै हुँदैन,’ जेष्ठ नागरिक राशलाल शंकित भरोसा व्यक्त गर्दै भन्टन्, ‘बाँचुन्जेलसम्म निर्माण होला कि !’ पञ्चायतदेखि बहुदल आउदासम्म विभिन्न नेताले यो सडक बनाउँछौं भन्ने आश्वासन बाँड्यो । तर, सडक निर्माण कार्य कहिल्यै पूरा भएन । ‘चुनाव जितेपछि नेता फर्केर आएनन्,’ स्थानीय कृष्णमान श्रेष्ठले भरोसा व्यक्त गर्दै भने, ‘यसपालि पूर्वप्रधानमन्त्री आएर शिलान्यास गरेका छन्, अब चाहिँ बन्छ होला।’

यो सडकको दुर्दशा पूर्व–पश्चिम राजमार्ग बनेपछि सुरु भएको हुलाकी सडक आसपासका स्थानीय बताउँछन् । ‘राजमार्ग बनेपछि यो सडक राज्यको नजरमा पछि पर्‍यो,’ स्थानीय राजेन्द्र यादव भन्छन्, ‘सडकसँगै जोडिएको यो क्षेत्र नै पछि पर्‍यो ।’ ओरालो लाग्दै गएको यस क्षेत्रलाई उकास्न राज्यले त्यसपछि कहिल्यै वास्ता नगरेको उनको गुनासो छ । यो सडक जिर्ण हुँदै चहलपहल घट्न थालेपछि बस्ती र बजार पनि उत्तर (पूर्व–पश्चिम राजमार्ग) छेउमा विस्तार हुन थाल्यो । दक्षिण (हुलाकी छेउका) का बासिन्दा उत्तर सरेपछि व्यापार–व्यवसायसमेत उत्तरतिरै तानिँदै गयो । बिस्तारै राजमार्ग छेउछाउ गुलजार हुँदै गयो र हुलाकी छेउ उराठलाग्दो बन्यो।

तर भारतीय सीमासँग नजिक रहेकाले यो क्षेत्रको रौनक फेरि फर्किनेमा यस भेगका स्थानीय आशावादी छन् । ‘हुलाकी राजमार्ग निर्माणले पूर्णता पायो भने फेरि यो क्षेत्रको गुलजार हुन्छ,’ यादवले भने, ‘सीमासँग जोडिएको यो क्षेत्रमा समृद्धिको सुरुवात हुन्छ ।’ यस क्षेत्रमा उत्पादित अन्न बजारसम्म सहजै पुर्‍याउन सकिन्छ।
हुलाकी सडकको सुरुवात
पूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकी हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग भनिएको हो । तराई मधेसका जिल्ला जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम नौ सय ७५ किमि फैलिएको छ । यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने आठ सय १७ किमिको ३२ वटा सहायक राजमार्ग छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ एक हजार सात सय ९२ (१७९२) किमि पुगेको छ।
 

प्रकाशित: १५ चैत्र २०७४ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App