८ वैशाख २०८१ शनिबार
समाज

पुनर्जीवन पायो भाजु पोखरीले

भक्तपुर – घाँसे मैदानमा परिणत भइसकेको भक्तपुरको दूधपाटीस्थित भाजु पोखरीले पुनर्जीवन पाएको छ। २७ रोपनीमा फैलिएको पोखरीको सरसफाइ गरी पानी जमाउने काम भएपछि पोखरीले पुनर्जीवन पाएको हो। खाल्डो खनेर कालोमाटो भरिएपछि अन्यत्रबाट पानी तानेर पोखरीमा पानी भर्ने काम धमाधम भइरहेको छ।

नजिकैको उच्च भागमा रहेको सिद्धपोखरीमा वर्षैभरि पानी जमेर आकर्षक पर्यटकीय गन्तव्यस्थल बने पनि होचो भागमा रहेको यस  पाखरीमा भने पानी नजम्दा सुक्खा रही घाँसे मैदानमा परिणत भएको थियो।

धेरैपछि अहिले पोखरीको सरसफाई गरी वैज्ञानिक तरिकाबाट पानी जमाउने काम भएको हो । पोखरीको पश्चिम र दक्षिणतिर साढे पाँच मिटर गहिराइ, साढे चार मिटर चौडाइ र ६५ मिटर लम्बाइमा खाल्डो खनेर कालोमाटो भरिएको थियो। अन्यत्रबाट कालोमाटो ल्याई खाल्डोमा भरेपछि पानी जमाउने काम अहिले सुरु भएको हो।

पोखरी भक्तपुर नगरपालिका १ स्थित प्रसिद्ध सिद्धपोखरीको दक्षिण र भक्तपुर बहुमुखी क्याम्पसको उतरतर्फ पर्दछ। भक्तपुर नगरपालिका वडा नं १ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीले वैज्ञानिक अध्ययनपछि पोखरीमा पानी जमाउन सफल भएको जनाए। ‘अहिले हामीले नजिकैको बोरिंगबाट पानी तानेर पोखरीमा जम्मा गर्न थालेका छौं,’ वडाअध्यक्ष खत्रीले भने, ‘पोखरीको दुईतिर खाल्डो खनेर कालोमाटो भरेर पानी राखेपछि पानी जमेको छ।’ पोखरीमा अहिले चौवीसै घण्टा मेसिनले तानेर पानी भर्ने काम भइरहेको छ। ठूलो र अग्लो भएका कारण पूरै पोखरीमा पानी भने भरेको छैन।
पोखरीलाई दुरुस्तै पहिलेकै रूपमा स्थापित गराउन खोजेको वडाअध्यक्ष खत्रीले जनाए। अनुसन्धानको क्रममा पोखरीका बीचमा एउटा शिखर शैलीको मन्दिर देखिएकाले मन्दिर पनि बनाउने योजना रहेको उनले सुनाए। यसका लागि ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीले अध्ययन अनुसन्धान गरिरहेको उनले जानकारी गराए।

इतिहास एवं संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार १८ औं शताब्दीमा राजा जितामित्र मल्लको पालामा बनेको पोखरी उनको मृत्युपछि सत्ताविद्रोह गर्ने कान्छी रानी र काजी भाजुकसको ९ महिने शासनको इतिहासका रूपमा यो पोखरी रहेको हो।

स्थानीय नेपाल भाषामा यस पोखरीलाई भाज्या पुखु (पोखरी) भनिन्छ। भक्तपुरका तत्कालीन राजा जितामित्र मल्लका चार सहयोगीमध्येका एक भाजुकसले बनाएकाले यो पोखरीलाई भाजु पोखरी भनिएको बताइन्छ। २३ वर्षे शासनपछि १७५३ सालमा राजा जितामित्रको मृत्यु भएपछि काजी भाजुकसले पोखरी बनाएको बताइन्छ।

प्रकाशित: १५ चैत्र २०७४ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App