१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरियाली पर्यटक तान्न व्यवसायी संगठित

काठमाडौं –दक्षिण कोरियाका पर्यटकलाई नेपाल ल्याइरहेका यहाँका पर्यटन व्यवासायीले कोरियालीको भ्रमण सहज र सुरक्षित गराउने उद्देश्यले नयाँ संघ स्थापना गरेका छन्।

राइका टुर्स एन्ट ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक अमरबहादुर शाहीको अध्यक्षतामा गठित ‘कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल’ नामक संघमा विशेष गरी कोरियाली बजारमा नेपालको पर्यटन विकास गर्ने र त्यहाँबाट  पर्यटक ल्याउने ट्राभल कम्पनी सदस्य छन्।

शाहीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा लालप्रसाद भट्टराई, द्वितीय उपाध्यक्ष विनोद राना, महासचिव अर्जुनकुमार पौडेल, सचिव वाङ्छु शेर्पा र कोषाध्यक्षमा ङावाङिमा शेर्पा तथा सदस्यमा आङदोर्जी शेर्पा, यादवकुमार पौडेल र निमा लामा छन् । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सेकले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा संघ उद्घाटन गरे।

‘नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध थप बलियो बनाउनमात्र नभई कोरियाली पर्यटकको नेपाल भ्रमण अझै सहज र सुरक्षित पार्न संघ स्थापना गरेका हौं,’ संघका अध्यक्ष शाहीले भने, ‘संघ स्थापनाबाट नेपाल घुम्न आउने कोरियाली पर्यटकको संख्या बढ्ने विश्वास छ ।’गत वर्ष कोरियाबाट ३२ हजार पर्यटक नेपाल घुम्न आएको शाहीले बताए । ‘यो संख्यालाई दुईदेखि तीन गुणासम्म वृद्धि गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘यसमा सरकार, नेपाल पर्यटन बोर्डदेखि सरोकारवाला सबैसँग सहकार्य गरिने छ।’

नेपालका लागि कोरियाका राजदूत सेकले ३० हजारभन्दा बढी नेपालीले कोरियामा रोजगारी पाइरहेको र ३२ हजारभन्दा बढी कोरियालीले गएको वर्ष नेपाल भ्रमण गरेको जानकारी दिए । दुवै देशबीच जनस्तरको सम्बन्ध रहेको उनको भनाइ छ।

‘नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण, भगवान बुद्धको जन्मस्थलदेखि सर्वोच्च शिखर सगरमाथा रहेको विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य हो,’ राजदूत सेकले भने, ‘अब नेपालमा राजनीतिक स्थिरता आइसकेका कारण पर्यटन उद्योगले उल्लेख्य गति लिने विश्वास छ ।’त्यसबाहेक गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय र बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि नेपालको पर्यटनदेखि अर्थतन्त्रमा कायापलट हुने उनले विश्वास व्यक्त गरे।

त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन बजारका लागि यो संघ स्थापनाबाट कोरियाली पर्यटकको नेपाल भ्रमण लम्बिने, बजार प्रवद्र्धन र विकास हुने बताए।

प्रकाशित: १५ चैत्र २०७४ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App