१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद् भवन प्रमुखविरुद्ध कर्मचारी आन्दोलित

काठमाडौं – बानेश्वरस्थित संघीय संसद्भवनमा कार्यरत कर्मचारीहरुले सो भवनका प्रमुख कार्यकारी निर्देशक पुरुषोत्तम आमात्यविरुद्ध आन्दोलन चर्काएका छन।

कार्यालय प्रमुख पदको दुरुपयोग गरी कार्यालय हाताभित्र मनोमानी गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्रमुख आमात्यविरुद्ध आन्दोलन चर्काएको हो। चैत ६ गतेदेखि  आन्दोलन जारी छ। 

संगठनका अध्यक्ष छलरामप्रसाद पौड्यालका अनुसार कार्यालय प्रमुखले सवारीसाधान दुरुपयोग गरेको, जिन्सी सामान कौडीको भाउमा बेचेको र अनाधिकृत व्यक्तिलाई आवास क्षेत्र दिएकाले आन्दोलन गर्नु परेको बताए। ‘गरिमामय संसद् भवनभित्रको धार्मिक महत्वका वरपीपल र रुद्राक्षलगायत रुख काटेको, संसद हाताभित्र नै मासु, सेकुवा र मद्यपान गराउनेदेखि अनाधिकृत व्यक्तिलाई आवास उपलब्ध गराएपछि आन्दोलन गर्नुपरेको हो,’ पौडेलले नागरिकसँग भने, ‘संसदलाई मर्यादित नबनाएसम्म कर्मचारीको आन्दोलन जारी रहनेछ।’ उनका अनुसार चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारी सम्बोधनका लागि आउने भएकाले एक दिन आन्दोलन रोकिएको छ।

संगठनका अनुसार संसद भवनभित्रका कुर्सी, फलामजन्य समान कौडीको भाऊमा बेचेको, धार्मिकरूखबुट्यान कटान गरी बिक्री गर्ने कार्यमा सहसचिव आमात्य संलग्न रहेदै आएका छन् । सहरी विकाअन्तर्गत रहेको सो भवन आमात्यले हेर्दै आएका छन्। त्यसमाथि, संघीय संसद्ले सो भवनभित्र घरवार गरी बसेका कर्मचारीलाई हटाउन पटक निर्देशन दिदाँ पनि अटेर गरेको संगठनको थप आरोप छ।

‘गरिमामय संसद् भवनभित्रको धार्मिक महत्वका वरपीपल र रुद्राक्षलगायत रुख काटेको, संसद हाताभित्र नै मासु, सेकुवा र मद्यपान गराउनेदेखि अनाधिकृत व्यक्तिलाई आवास उपलब्ध गराएपछि आन्दोलन गर्नुपरेको हो,’

सम्मेलन केन्द्रका पूर्वी भागको टहरामा बस्दै आएका पलम्बर केशवप्रसाद कोइराला, सुनिल कुशवाहा र प्रदीप कोइरालालगायतलाई सो क्षेत्रवाट गत चैत ११ गते नै निस्कन आदेश दिएको भए पनि प्रमुख आमात्यले अझै निकालेका छैनन। प्रमुख आमात्य, संघीय संसदका सह–सचिव सुरजकुमार दुरा र संगठनका अध्यक्ष पौडयाललगायतबीच गत चैत ५ भएको सहमतिअनुसार पुर्वतर्फको आवास क्षेत्र खाली गराईसक्नु पर्ने थियो। सहरी विकास मन्त्रालयअन्तर्गत रहेको उक्त भवनमा संसदले वार्षिक १० करोड ५८ लाखमा भाडा तिर्दै आएको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र जागिर लगाउने भन्दै आमात्यले घुस लिएको तर जागिर नदिएको भन्दै पीडित संसद् भवन पुगेका थिए। उक्त घटनाले संसद् भवन वदनाम हुने भएपछि सामुहिक बैठक राखी रकम फिर्ता गर्न आदेश दिएको भएतापनि अझै रकम पीडितले पाएका छैनन्। ‘जागिर लगाइदिन्छु भन्ने लोभ दिँदै करिव १७ लाख घुस खाएको भन्ने आरोप लगाउँदै केही पीडित संसद् भवनमा आएका थिए, आइरहेका छन्,’ एक कर्मचारीले नागरिकसँग भने, ‘सामुहिक बैठकबाट नै उक्त रकम फिर्ता गर्न भनिएको थियो तर आमात्यज्यूले अझै गर्नुभएको रहेनछ।’ रकम फिर्ताको माग गर्दै पीडितहरूबानेश्वर अघिल्लो सातासम्म पुगिरहेको कर्मचारीको भनाइ छ।

उता, कार्यकारी निर्देशक आमात्यले सवारीसाधनको पनि व्यापक दुरुपयोग गरिरहेको सहरी विकास मन्त्रालयले जनाएको छ। सहसचिव हैसियतमा रहेका आमात्य एक्लैले बा २ झ २२७४ नम्बरको कार, बा १ झ ९८३२ नम्बरको टाटासुमो र बा २ ब १८९८ नम्बरको मोटरसाइकल गरी तीनवटा सवारीसाधान चलाइरहेका छन। यसमध्ये मोटरसाइकल भने करारमा राखेका आफ्ना पिएलाई चलाउन दिएका छन्।

यसबारे जिज्ञासा राख्दा कार्यकारी निर्देशक आमात्यले तीनवटा सवारीसाधान प्रयोग गरेको स्वीकार गरे पनि घुस लिएर कर्मचारी भर्ना गरेको भने अस्वीकार गरेका छन्। ‘सहरभित्र हिंड्नका लागि कार र पहाडमा जानलाई जिप प्रयोग गर्न दिइएको हो, एउटा मोटरसाइकल मेरो सहायकले चलाउँदै आएको सत्य हो,’ आमात्यले नागरिकसँग भने, ‘तर घुस खाएर कर्मचारी भर्ना गरेको भने झुटा हो, यसमा अलिकति पनि सत्यता छैन।’ पुख्र्यौली सम्पत्ति प्रसस्त भएकाले घुस खान आवाश्यक नभएको भन्दै निरन्तर कर्मचारीको हकहितका लागि निरन्तर काम गरिरहेको भएतापनि संगठन आफ्नाविरुूद्ध लाग्नु दुःखदायी भएको आमात्यको भनाइ छ। 

प्रकाशित: १५ चैत्र २०७४ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App