coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनालग टेलिभिजन अब बन्द

काठमाडौं – सरकारले एनालग प्रविधिमा सञ्चालित टेलिभिजन बन्द गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार केवल डिजिटल नेटवर्कलाई प्रश्रय दिन एनालग टेलिभिजन बन्द गराउने निर्णय गरेको हो।

अब एनालग प्रविधिमा आधारित टेलिभिजन सञ्चालन गरे कारवाही गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले बताए । ‘अब नगरपालिकाभित्र एनालग टेलिभिजन सञ्चालन गर्न पाइनेछैन,’ ढकालले नागरिकसँग भने, ‘त्यस्तो भेटिएमा कानुनअनुसार कारवाही हुनेछ।’

मन्त्रालयको टोलीले बुधबार काठमाडौं उपत्यकाका विभिन्न एनालग टेलिभिजनमा अनुगमन गरेको थियो । सहसचिव ढकालका अनुसार विभिन्न १० वटा केवलमा गरिएको अनुगमनपछि केहीलाई बन्द गराइएको छ । ती केवल नेटवर्कले डिजिटल प्रविधिमा जाने प्रतिबद्धता व्यक्त गरेको उनले बताए।

मन्त्रालयका अनुसार अब उपत्यकामा एनालग टेलिभिजन पूर्णरुपमा बन्द हुनेछन् । उपत्यका बाहिरका जिल्लामा पनि विस्तारै बन्द गराउँदै जाने मन्त्रालयको तयारी छ । ‘काठमाडौंमा भेरिफिकेसनको लागि अनुगमन गरिएको हो,’ ढकालले भने, ‘विस्तारै काठमाडौं बाहिर पनि लागू गर्दै जानेछौं।’

मन्त्रालयकी उपसचिव संगीता ओझाले अनुगमनका क्रममा धेरै केवल नेटवर्क डिजिटलमा रुपान्तरण हुन तयार पाइएको बताइन् । ‘अनुगमनका क्रममा अधिकांश टेलिभिजन नेटवर्कमा डिजिटलमा रुपान्तरणका लागि भौतिक पूर्वाधार तयार रहेको भेटियो,’ ओझाले भनिन् । भौतिक पूर्वाधार तयार भएकाले टेलिभिजन नेटवर्क बन्द गराउनुपर्ने अवस्था सिर्जना नभएको उनले बताइन्।

सरकारले यसअघि नै एनालगभ टेलिभिजन बन्द गराएर डिजिटल प्रविधिमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै एनालग केवल बन्द गराउन सुरु गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले अन्तरिम आदेशमार्फत उक्त कार्य रोक्न भनेको थियो ।

फागुन पहिलो साता सर्वोच्चका न्यायधीसद्वय चोलेन्द्रशम्शेर जबरा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले उक्त  अन्तरिम आदेशलाई खारेज गर्ने आदेश दिएको थियो।मन्त्रालयले पछिल्लोपटक कात्तिक १५ देखि महानगरपालिका, उपनगरपालिका र नगरपालिकामा सबै एनालग प्रविधिका केवल अनिवार्य रुपमा डिजिटलमा जानुपर्ने निर्णय गरेको थियो । उपत्यकामा आठ वटा कम्पनीले डिजिटल टेलिभिजनको सेवा दिइरहेका छन् । व्यवसायीले थोरै कम्पनीले लाखौं उपभोक्तालाई एकैपटक सेटअप बक्स पुर्‍याउन गाह्रो हुने बताउँदै आएका छन् । सरकारले भने व्यवसायी यसमा सशक्तरुपमा आउन नसकेको बताउँदै आएको छ।

आर्थिक वर्ष ०७३÷७४ असारसम्मको तथ्यांकअनुसार डिजिटल केवल प्रसारणको इजाजत लिनेको संख्या १० छ । त्यसै वर्षसम्म मुलुकभर आठ सय ५३ वटा एनालग केवल प्रसारणको इजाजत जारी भएको छ । काठमाडौं उपत्यकाभित्र करिब २० लाख परिवारले टेलिभिजन हेर्ने गर्छन्।

डिजिटल प्रविधिमा जाँदा गुणस्तरीय हुनुका साथै राज्यलाई प्राप्त हुने राजस्वसमेत बढ्ने अपेक्षा गरिएको छ । एनालग केवलमा कति ग्राहक छन् भन्ने स्पष्ट तथ्यांक आउँदैन । डिजिटलमा ग्राहकको संख्या एकिन गर्न सकिने भएकाले राजस्व बढ्ने अनुमान गरिएको हो।

अन्तर्राष्ट्रियरुपमा विकास भइरहेको प्रविधिअनुसार मुलुकलाई लैजान पनि अहिले डिजिटल केवल प्रयोग आवश्यक छ । अन्तर्राष्ट्रिय प्रसारण मापदण्डअनुसार २०१६ सम्म डिजिटल प्रविधिमै टेलिभिजन च्यानल प्रसारण भइसक्नुपर्ने थियो।

सरकारले डिजिटल प्रविधिमा जाने भनेर २०६९ सालमै नियमावली तयार गरेको थियो । अर्को वर्ष २०७० सालमा डिजिटलमा जाने सूचना जारी भएको थियो । पछि २०७२ सालमा गएको भूकम्प र नाकाबन्दीले गर्दा डिजिटलमा रुपान्तरण हुन थप ढिलाई भएको थियो।
 

प्रकाशित: १५ चैत्र २०७४ ००:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App