७ वैशाख २०८१ शुक्रबार
अर्थ

चार सय ४६ ग्राहकको लाइन काटियो

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्ने ४ सय ४६ ग्राहकको बिजुलीको लाइन काटेको छ। सोमबार साँझसम्म उक्त ग्राहकको लाइन काटिएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार ४ सय ४६ ग्राहकबाट ५ करोड ३२ लाख रुपैयाँ असुल गर्न बाँकी छ। ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि गत शुक्रबार प्राधिकरणले १ सय ३४, आइतबार २ सय ५३ र सोमबार ५९ जनाको विद्युत लाइन काटेको हो।

सोमबारको पूर्ण विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाए पनि महसुल नतिर्नेको बिजुली काट्ने काम भने जारी रहने बताएको छ। प्राधिकरणले ९ अर्ब ८६ करोड रुपैयाँ महसुल उठाउन बाँकी रहेको गत साता आफ्नो वार्षिकोत्सवको अवसरमा जनाएको थियो। शर्माले त्यतिबेलै महसुल नतिर्नेको बिजुली काट्न निर्देशन दिएका थिए।

प्राधिकरणका अनुसार बक्यौतमध्ये ३ अर्ब रुपैयाँभन्दा बढी काठमाडौं महानगरपालिकाबाटै असुल गर्न बाँकी छ। बाँकी ६ अर्ब रुपैयाँभन्दा बढी सरकारी निकाय र केही निजी प्रतिष्ठानबाट उठाउन बाँकी छ। यसैबीच, प्राधिकरणले पूर्व राजा महेन्द्रकी श्रीमती रत्नको निवास महेन्द्र मञ्जिलमा बिजुली जोडिदिएको छ। २०६८ सालदेखि हालसम्म ४७ लाख ६४ हजार रुपैयाँ बक्यौता पुग्दा पनि महसुल नतिरेको भन्दै आइतबारमात्रै प्राधिकरणले महेन्द्र मञ्जिलको लाइन काटिदिएको थियो। नारायणहिटी दरबारभित्र रहेको महेन्द्र मञ्जिलमा पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएकी छन्। त्यहाँ लोडसेडिङको समयमा पनि बत्ती जाँदैनथ्यो।

संस्कृति तथा पर्यटन मन्त्रालयले विद्युत महसुल भुक्तानीका लागि अर्थ मन्त्रालयबाट रकम निकासा हुने प्रक्रिया जारी रहेको भन्दै लाइन जोडिदिन प्राधिकरणलाई पत्र पठाएपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेका अनुसार संस्कृति मन्त्रालयले आफूले तिर्ने ग्यारेन्टी दिँदै ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई पत्र पठाएको छ। दिउँसो साढे ४ बजेतिर महेन्द्र मञ्जिलमा लाइन जोडिदिएको पनि उनले जानकारी दिए।

सरकारले नारायणहिटी संग्रहालय अन्तर्गतका सबै संरचनामा बालिने बत्तीको महसुल आफैंले तिर्दै आएको छ। तर, पूर्व विशिष्ठको हैसियतले सरकारले उपलब्ध गराएको महेन्द्र मञ्जिलको महसुल पनि सरकारले तिर्ने प्रतिबद्धता जनाएको थियो।

ऊर्जामन्त्रीको निर्देशनअनुसार भदौ १ गतेदेखि सामबारसम्म प्राधिकरणले देशभर लाइन काट्ने काम जारी राखेको छ। विगतमा पनि तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टले महसुल नतिर्ने सरकारी कार्यलयको बिजुली काट्न लगाएका थिए। प्राधिकरणका अनुसार सरकारी निकायले अझै पनि विद्युत महसुल बुझाएका छैनन्। यता प्राधिकरणले लामो समयदेखि महसुल नतिर्ने सरकारी निकायलाई भुक्तानी गर्न एक साताको समय दिने भएको छ। त्यसपछि पनि नतिरे लाइन काटिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विभिन्न मन्त्रालय, विभागलगायत सरकारी कार्यालयले अर्बौं रुपैयाँ महसुल तिर्न बाँकी राखेपछि मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै एक साताको म्याद दिन लागेको हो। एक साताभित्र बाँकी महसुल भुक्तानी गर्न मन्त्रालय, विभागलगायत सरकारी निकायका नाममा सार्वजनिक सूचना मंगलबार प्रकाशित गरिने जानकारी दिँदै प्राधिकरणले एक साताभित्र पनि महसुल नतिर्ने मन्त्रालय र विभाग र अन्य निकायको धमाधम बिजुली काटिने बताएको छ।

प्रकाशित: ७ भाद्र २०७३ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App