coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभापति देउवाकै कार्यशैलीका कारण पार्टी कमजोरः प्रकाशमान सिंह

नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह। तस्बिर : नागरिक

नेपालगन्ज – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले ‘काम चलाउ शैली’ अन्त्य नगर्दासम्म पार्टीलाई जोगाउन नसकिने बताएका छन्।

नेताभन्दा पनि पार्टीलाई जोगाउनुपर्ने अहिले प्रमुख खाँचो रहेको उनको भनाई छ। नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्रेस पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेसको सबभन्दा ठूलो चुनौती भनेको पार्टीलाई सुधार गर्नु नै हो, पार्टीको काम चलाउ शैलीलाई अन्त्य नगर्दा सम्म जोगाउन गाह्रो छ।’

पार्टीका नेतालाई जोगाउने भन्दापनि नेपाली कांग्रेसलाई जोगाउनुपर्ने प्रमुख चुनौती देखा परेको उनले बताए। ‘देशको प्रजातान्त्रिक पार्टी, यत्रो संघर्ष गरेको, जनताले पत्याएको पार्टीले भर्खरै सम्पन्न तीन तहको निर्वाचनमा ल्याएको परिणामबाट धेरैले चिन्ता र चासो राखेका छन्,’ पूर्वउपप्रधानमन्त्री सिंहले भने। सभापति शेरबहादुर देउवाको हातमा आएपछि नेपाली कांग्रेस पार्टी लथालिंगको अवस्थामा पुगेको उनले ठोकुवा गरे। ‘पार्टीलाई लथालिंगको अवस्थामा राख्नु भएन भन्ने कुरा आम कार्यकर्तामा छ, शुभचिन्तक र आम नेपालीको धारणा छ,’ उनले थपे।

पार्टीको जारी केन्द्रिय समिति बैठकमा आफूले पार्टीभित्रको कमी, कमजोरीलाई लिखित रुपमा औल्याएर सभापति देउवालाई बुझाइसकेको जानकारी दिदै नेता सिंहले भने, ‘केन्द्रिय कार्यसमिति बैठकको सुरुकै दिनमा मैले आफ्नो दृष्टिकोण, बिचार, निर्वाचनको समिक्षा गर्दा ख्याल गर्नुपर्ने राजनीतिक बैचारिक, सांगठनिक कुराका विषयमा राखिसकेको छु।’ बोलेर भन्दापनि व्यवहारिक रुपमा पार्टीलाई संस्थागत गर्नुपर्ने उनको भनाई छ।पार्टीलाई संस्थागत नगर्दासम्म कमी, कमजोरी सुधार नहुने बताए। पार्टीको १३ औं महाधिवेशनपछि विधानले निर्देशित गरेका कुरालाई २ वर्ष पुगिसक्दापनि सभापतिले कार्यान्वयन गर्न नसकेको आरोप लगाए।

नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी हुने, तर त्यही दलको विधान पुरानै केन्द्रिकृत एकात्मक ढाँचाको रहेको बताउँदै उनले चाडोभन्दा चाडो विधान संशोधन गर्नुपर्ने आवाज आफूले पार्टीभित्र उठाइरहेको दाबी गरे। ‘तीन वटा निर्वाचन पनि सम्पन्न भइसकेको छन्, वैधानिक तबर र त्यसको औचित्य समाप्त भइसकेको कारणले गर्दा अब नेपाली कांग्रेसले महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्छ,’ सिंहले भने ‘अहिलेकै केन्द्रिय समिति बैठकले विधान संशोधन गर्नको लागि एउटा समिति गठन गरेर संशोधित विधानको दस्तावेज महासमितिमा लगेर त्यसलाई बृहत रुपमा छलफल गराएर संशोधन गर्नुपर्छ।’

पार्टीको केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई चलाउने उपसभापति नै नभएको अवस्थामा कार्यकर्ताले प्रशिक्षण नपाएको बताए। ‘आम कार्यकर्ताले प्रशिक्षणको आवश्यकता महसूस गरेका छन्, विधानको हिसाबले उपसभापतिले केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले चलाउने हो,’ उनले भने ‘महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रमा गर्नुपर्ने काम दुई वर्षसम्म पनि भएको छैन।’ सभापति देउवाकै कार्यशैलीका कारण पार्टी कमजोर अवस्थामा पुगेको उनको आरोप छ।

अर्को प्रसंगमा पूर्वमहामन्त्री सिंहले नेपाली जनताले आफैं बनाएको संबिधानप्रति टिप्पणी गर्ने अधिकार कसैलाई पनि नभएको चेतावनी दिए। युरोपियन युनियन अन्र्तगतको निर्वाचन पर्यवेक्षण मिसनले हालैसम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबारे दिएको धारणाप्रति उनले आपत्ति जनाए।

प्रकाशित: १४ चैत्र २०७४ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App