८ वैशाख २०८१ शनिबार
अर्थ

प्रबलीकरणको विशेष अभियान सञ्चालन गरिँदै

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट आंशिकरुपमा क्षति पुगेका निजी अवास प्रबलीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ।

पूर्ण क्षति भएका आवास पुनर्निर्माणमा प्रगति भइरहे पनि प्रबलीकरणतर्फ खासै प्रगति हुन सकेको छैन । प्राधिकरणले आंशिक क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। 

हालसम्म भूकम्प प्रभावित ३२ जिल्लाका २४ हजार नौ सय ९१ निजी घर प्रबलीकरण गर्ने सूचीमा छन्। प्रबलीकरणको काम अगाडि बढाउन विकास साझेदार संस्थाहरु डिएफआइडी, युएनओपिएस र बिल्ड चेन्जले सहयोग गर्ने प्राधिकरणले जनाएको छ।

यी तीन संस्थाबीच आगामी दुई वर्षभित्र दुई हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई प्रबलीकरणको तालिम दिने सहमति बनेको प्राधिकरणका सहसचिव प्रकाश थापाले बताए। तालिमका क्रममा एक हजार भूकम्पप्रभावितको क्षतिग्रस्त घर प्रबलीकरण हुने उनको भनाइ छ। ‘तालिमका क्रममा स्थानीय सरकारको सिफारिसमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरसमेत प्रबलीकरण गरिनेछ,’ उनले भने।

युएनओपिएसले प्रबलीकरणसम्बन्धि आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा पेस गरिसकेको सहसचिव थापाले बताए। प्राधिकरणको आवास, बस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिई एक हप्ताभित्र सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई कार्यान्वयनको जिम्मा दिइनेछ।

‘प्रबलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, युएनओपिएस, डिएफआइडी तथा बिल्ड चेन्जका अधिकारीहरुबाट प्रबलीकरणको पाठ्यक्रम निर्माण गर्ने काम भइरहेको छ,’ सहसचिव थापाले भने, ‘चैत तेस्रो साताभित्रै यसलाई अन्तिम रुप दिने तयारीमा छ।’

पाठ्यक्रम निर्माण भएपछि २०७५ वैशाख पहिलो सातादेखि एकसाथ चार स्थानमा प्राविधिक कर्मचारीलाई प्रबलीकरण तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ। डकर्मीको तालिम पनि साथसाथै आयोजना गर्ने प्राधिकरणको योजना छ। प्रबलीकरण कार्यको सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइले समन्वय र अनुगमन गर्ने उनले बताए।

मकवानपुरमा सबैभन्दा बढी
प्राधिकरणको तथ्यांकमा मकवानपुरमा सबैभन्दा बढी चार हजार एक सय ५२ घर प्रबलीकरण गर्नुपर्नेछ। काभ्रेपलाञ्चोकमा दुई हजार चार सय १५,  सिन्धुलीमा दुई हजार चार सय आठ, रामेछापमा दुई हजार एक सय ४९, गोरखामा दुई हजार १९, धादिङमा एक हजार चार सय ९४ र ओखलढुंगामा एक हजार ६ सय ४३ घर प्रबलीकरण गर्नुपर्ने सूचीमा छ।

त्यसैगरी, सिन्धुपाल्चोकमा तीन सय ७६, दोलखामा ६ सय ३७,  नुवाकोटमा नौ सय ३६, रसुवामा एक सय १७, ललितपुरमा ६ सय ६७, काठमाडौंमा पाँच सय ७५, भक्तपुरमा दुई सय ७८, लमजुङमा पाँच सय ३९, सोलुखुम्बुमा चार सय ५६, खोटाङमा दुई सय ५३, स्याङजामा पाँच सय ६७, चितवनमा पाँच सय ९३, तनहुँमा चार सय ६६, पाल्पामा तीन सय ८४, बागलुङमा ८२, गुल्मीमा एक सय ९५, कास्कीमा दुई सय ४२, भोजपुरमा चार सय ५३, संखुवासभामा तीन सय २६, पर्वतमा चार सय १७, धनकुटामा ७०, अर्घाखाँचीमा ६७, नवलपरासीमा ८ र म्याग्दीमा ७ घर प्रबलीकरण गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०७४ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App