७ वैशाख २०८१ शुक्रबार
अर्थ

कामै नगरी चार वर्षदेखि तलब

जनकपुरधाम – ७६ वर्ष पुरानो जनकपुर–जयनगर रेलसेवा बन्द गरी ब्रोडगेज रेलवे निर्माण कार्य सुरु भएको चार वर्ष बितिसक्यो। रेलवे सेवा बन्दा भएपछि कामबिहीन बनेका कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले व्यवस्थापन गर्न नसक्दा राज्यको ढुकुटीबाट मासिक लाखौ रुपैयाँ त्यसै खेर गइरहेको छ।

दशकौ पुरानो रेललाई विस्थापन गरी आधुनिक सेवा विस्तार गर्न सोही अनुसारको रेल, स्टेसन भवन, कर्मचारीको आवास क्षेत्रलगायत नयाँ संरचना निर्माण भइरहेको छ। नयाँ स्वरुप बनाउन पुरानो जति सबै भत्काइ सकियो। त्यही मध्येको जस्ताको छानो भएको एउटा सानो कोठामा केही कर्मचारी बसिरहेका हुन्छन्। 

हाल रेलवे सेवाबाट बिना काम मासिक तलब लिने १७ जना कर्मचारी छन्। कामै नपाएपछि अधिकांश कर्मचारीले अन्यत्रै काम खोजिसकेका छन्। कम्पनीका निमित्त प्रशासकीय अधिकृत तुलाबहादुर डांगी, ओभरसियर रामचन्द्र साह, सहायक (दोस्रो तह) सीताशरण यादवलगायत मुश्किलले आधा दर्जन कर्मचारी नियमित रुपमा कार्यालय जान्छन्। तर, तिनीहरुले पनि काम नपाएर दिनभर गफ गरेर दिन काट्न बाध्य छन्। ‘हामीले काम गर्न नचाहेको होइन । काम नपाएर टोलाएर बस्न बाध्य छौं,’ यादवले भने।

केन्द्रीय कार्यालयको निमित्त महाप्रबन्धकको जिम्मेवारी निमित्त प्रशासकीय अधिकृत डांगीकै काँधमा छ। पदीय हिसाबले जिम्मेवारी ठूलो देखिए पनि कम्पनीको सम्पत्ति लिलाम र त्यसबारे आवश्यक कागजातको संरक्षण बाहेक कुनै काम नरहेको उनले बताए। ‘कामै नगरी कार्यालयमा बसिरहन कसलाई पो मन लाग्छ र!’ डांगीले भने, ‘कम्पनीको मातहतमा भएपनि नेपाल सरकारको सम्पति रुंगेर बसिरहेका छांै।’ कम्पनीको सम्पति दुहबी स्टेसनमा काम नलाग्नेगरी थन्केको चार थान कोइला इन्जिन र जनकपुरमा दुई थान डिजेल इन्जिन बाँकी छ। 

डांगीका नेपाल रेलवे कम्पनीको मातहतमा रहेका अन्य सम्पत्तिको लिलाम भइसकेको छ। बिहारको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५१ किलोमिटर ओछ्याइएको पुरानो रेल (पटरी) दुई वर्षअगावै चार करोड ८६ लाख रुपैयाँमा लिलाम भइसक्यो। विभिन्न स्थानमा रहेको स्टेसन र हल्ट तथा कर्मचारी आवाससमेत २३ वटा पुरानो भवन ३५ लाख ६२ हजार रुपैयाँमा लिलाम गरिएको छ। विभिन्न नदी तथा खोलामा बनाइएको पुलपुलेसा, मालबाहक तथा यात्रुबाहक बोगी (डब्बा) लगायत फलामजन्य वस्तु भर्खरै एक करोड ५० लाख रुपैयाँमा लिलाम गरेको डांगीले जानकारी दिए। 

नेपाल रेलवे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले कम्पनीको पैतृक सम्पत्तिको संरक्षण गर्न उनीहरुलाई यथास्थितिमा राखिएको बताए। पुरानो सम्पति लिलाम गर्ने कार्यको लागि विभागले जनकपुरमै राखेको साइट कार्यालय अथवा सोझै विभागबाटै पनि गर्न सकिने भएपनि १७ कर्मचारीलाई त्यतिकै बहाल राखिराख्नुको औचित्यताबारे उपाध्यायले प्रष्ट्याउन सकेनन्। यद्धपि नयाँ बन्न लागेको रेलवेसेवामा ती कर्मचारीलाई समायोजन गर्न सकिने उनले बताए।
    
१८ वर्षदेखि रेलवेमा कार्यरत डांगीले चार वर्षदेखि रेलवे सेवा बन्द हुँदाको दुःखभन्दा यतिबेला ब्रोडगेज निर्माण कार्यले गति लिएको देखेर बढी खुसी लागेको बताए। ‘हामीले कल्पनै गरेका थिएनौ, त्यो रेल यस्तो बन्नेछ भनेर। आज धमाधम रेल गुडाउने तयारी चलिरहेको देख्न पाउँदो अत्यधिक खुसी लागिरहेको छ,’ उनले भने। आफू यस क्षेत्रमा जागिर पाउँदा जनकपुरबाट खुलेको रेल जयनगरसम्म पुग्ने–नपुग्ने निश्चित भन्न गाह्रो हुने गरेको अनुभव उनले सुनाए।

नयाँ बन्न लागेको रेलवेमा आफूहरुले काम पाउनेमा कम्पनीका कर्मचारी ढुक्क छैनन्। तर, काम पाए नयाँ हौसलाको साथ तोकिएको जिम्मेवारी वहन गर्न तयार रहेको उनीहरु बताउँछन्। 

कोल्टे फेर्दैछ जनकपुर रेलवे
चार वर्ष अगाडिसम्म नेपालकै एकमात्र स्थान जनकपुरमा रेल चल्थ्यो। साढे सात दशक लामो यात्रापछि चार वर्षअघि विश्राम लिएको यो रेल अबको सात महिनाभित्र ब्रोडगेजमा पुनः सञ्चालन हुँदैछ। भारत सरकारको आर्थिक सहयोगमा भारत, बिहारको जयनगरदेखि नेपालको जनकपुर हुँदै महोत्तरी जिल्लास्थित बर्दिबास (पुर्व–पश्चिम राजमार्ग) सम्म ६९ किलोमिटर रेलवे निर्माणको कार्य दु्रत गतिमा चलिरहेको छ। 

वि.सं. १९९४ साल मंसिर १६ गते रामजानकी विवाह पञ्चमी महोत्सवको दिनदेखि यो रेल सञ्चालन सुरु भएको थियो। नेपाल–भारत रेल चलाउन नेपालको तर्फबाट तत्कालीन राजा त्रिभुवनको पालामा राणा प्रधानमन्त्री युद्ध शमशेर राणा र भारतको तर्फबाट तत्कालिन समयको अंग्रेज शासक इस्ट इन्डिया कम्पनीबीच औपचारिक सम्झौता भएको थियो। 

जानकारहरुका अनुसार त्यसबेला महोत्तरीको बिजलपुर क्षेत्रमा घना जंगल थियो। काठ प्रजाति अन्तर्गत महत्वपूर्ण मानिने सालको रुख धेरै रहेको उक्त जंगलबाट काठ ओसार्नकै लागि अंग्रेज शासकहरुले रेल चलाउने प्रस्ताव गरेको थियो। र, जंगलमा भएको सबै काठ ओसार्न लाग्ने समयको आंकलन गरी सोही अवधिसम्मको अनुमानित आयु निर्धारण गरी कम लागतको मालवाहक रेलको स्तर तयार पारिएको थियो। 

तत्कालीन समयमा यो भेगमा यातायातको लागि भरपर्दो साधन थिए। हुनेखानेले यात्रामा गोरुगाडाको प्रयोग गर्थे भने निम्न वर्गीय परिवारका लागि गोरेटोको विकल्प थिएन। पूर्व–पश्चिम राजमार्ग पनि धेरैपछि मात्रै बनेको हो, २०२८ सालतिर । मालवाहक नै भएपनि रेल चल्न सुरु भएपछि जयनगर र कमला छेउमा रहेको बस्तीका मानिसहरु त्यसैमा चढेर जनकपुर ओहोरदोहोर गर्न थाले। करिब एक दशकमा पूरै जंगल समाप्त भएपछि मालवाहक रेल यात्रुवाहक बनाइयो। 
सुरुमा इस्ट इन्डिया कम्पनीले जर्मनमा बनेको दुई वटा स्टिम (कोइला) इन्जिन राखेर रेल चलाएको थियो। रामसीता नामाकरण गरिएको उक्त इन्जिन अहिले पनि धनुषाकै दुहबी स्टेसनमा सुरक्षित राखिएको छ। रेलको नामाकरण ‘नेपाल–जयनगर–जनकपुर रेलवे (एनजेजेआर)’ गरिएको थियो। कोइलाबाट चल्ने रेल बीचमा केही दिनसम्म कोइलाको अभाव भएपछि दाउराको प्रयोग गरी पनि चलाइएको थियो।

रेल चलेको करिब एक दशकपछि बिजलपुरा क्षेत्रबो जंगल समाप्त भएपछि रेलवे जनकपुरसम्म सीमित भएको थियो। मालबाहकबाट यात्रुबाहक बनाइएपछि २०१८ तिर फेरी बिजलपुरासम्म सञ्चालन गरिएको थियो।

करिब ४० वर्षपछि २०५८ सालको साउन महिनामा बिगही नदीको पुल बाढीले बगाएपछि बिजलपुर पुग्न नसकेर रेल जयनगर–जनकपुर सिमित भएको थियो। त्यसयता १२ वर्षसम्म जनकपुरसम्म न्यारोगेजमा चल्यो। भारत सरकारले ब्रोडगेज निर्माणको लागि सहयोग गर्न तयार भएपछि २०७० माघमा रेल बन्द गरिएको छ।

सुरुमा जर्मनीमा बनेको राम र सीता नामक दुइटा स्टिम इन्जिनबाट सञ्चालन गरिएको रेललाई भारत सरकारले नै २०१८ मा बेलायतमा बनेको चन्द्र र सूर्य नामक दुइटा इन्जिन थपिदियो। २०२४ मा वीरगन्जबाट महावीर र सीता नामक थप दुइटा हेवी इन्जिन ल्याइएको थियो। उक्त इन्जिन पनि कोइलाबाटै चलाइन्थ्यो। हेवी इन्जिन प्राप्त भएपछि यात्रुको चापको कारण तत्कालीन आवश्यकताअनुसार दैनिक एकपटक चलिरहेको रेल तीनपटक सञ्चालन सुरु गरिएको थियो। कोइलाको अभाव र आधुनिकताको आवश्यकता महसुश गरी २०५० मा भारत सरकारले नै दुइटा डिजेल इन्जिन उपलब्ध गराइदिएपछि २०७० सम्म डिजेलबाटै रेल चल्यो। 

रेलको नामाकरण सम्बन्धमा वि.सं. १९९४ देखि २०२१ सम्म नेपाल–जयनगर–जनकपुर (एनजेजेआर) कै नामले रेल चलेको इतिहास पाइन्छ। २०२१ मा नेपाल सरकारले नेपाल यातायात संस्थान गठन गरेपछि सोही अन्तर्गत जनकपुर रेलवे शाखाको रुपमा तय गरियो। २०५८ मा संस्थान विघटन भयो र २०६२ मा नेपाल रेलवे कम्पनी दर्ता भयो। २०७० मा सरकारले रेल विभाग गठन गरेपछि जनकपुरमा साइट कार्यालय स्थापना गरी ब्रोडगेज रेलवे निर्माण कार्य अघि बढ्यो। 

२०६७ मा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भारत भ्रमणमा गएको बेला भारत सरकारसँग जयनगर–जनकपुर–बर्दिबास ६९ किमि ब्रोडगेज रेलवे निर्माण गर्ने सम्झौता गरे। तत्कालीन समयमा भारतीय रुपैयाँ पाँच सय ४८ करोड अर्थात् नेपाली करिब पौने नौ सय करोडभन्दा बढीको लागतमा रेलवे निर्माण गरिदिने जिम्मेवारी भारत सरकारले नै लिएको छ। उक्त सम्झौता भएको तीन वर्षपछि निर्माणको औपचारिक थालनी भएको ब्रोडगेज रेलवे निर्माण कार्य तीन चरणमा सम्पन्न हुँदैछ। 

पहिलो चरणमा बिहारको जयनगरदेखि नेपालको धनुषास्थित कुर्थासम्म ३४ किमि रेलवे आगामी अक्टोबर महिनासम्म पूरा गरिनेछ। त्यसको आठ महिनाभित्र कुर्थादेखि महोत्तरीस्थित भंगहासम्म १८ किमि रेलवे निर्माण कार्य गर्नुपर्ने हुन्छ। भंगहादेखि बर्दिबाससम्म १७ किमि रेलवे निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण कार्य जारी छ। नेपाल सरकारले जग्गा अधिग्रहण गरी उपलब्ध गराइदिएपछि भारत सरकारले बर्दिबाससम्म रेल गुड्ने मार्ग निर्माण गरिदिने सम्झौतामा उल्लेख छ।

प्रकाशित: १४ चैत्र २०७४ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App