म्याग्दी – जिल्लाको धौलागिरी गाउँपालिका–६ ताकमकी एक परिक्षार्थी बच्चा जन्माएको एक घण्टामै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन केन्द्रमा पुगेकी छन्।
मंगलबार बिहान अचानक सुत्केरी ब्यथा लागेपछि ताकम स्वास्थ्य चौकीमा पुगेकी २१ बर्षीया फुलमायाँ केसी छोरी जन्माए लगत्तै परिवारको सहयोगमा स्ट्रेचरको प्रयोग गरी परिक्षा दिन पुगेकी हुन्। उनी परिक्षा दिन हेम मावि सिवाङ केन्द्र पुगेकी श्रोतब्यक्ति गिरीप्रसाद छन्त्यालले जानकारी दिए। ‘परिक्षा सुरू हुन लागेको अवस्थामा बच्चा जन्मिएको खवर आयो’, छन्त्यालले भने, ‘उनलाई छुट्टै कोठामा राखेर परिक्षा दिने ब्यवस्था मिलाएका छौ। उनलाई केही समय थप पनि गरिने छ।’
सुत्केरी भएलगत्तै फुलमायाँले विज्ञान विषयको परिक्षा दिने बताएपछि स्वास्थ्यकर्मीले समेत उनलाई स्टे«चरमा लैजान सुझाव दिएका थिए। स्वास्थ्यकर्मीले पनि उनले परिक्षा दिइरहदा उनको स्वास्थ्यको रेखदेख गरेका थिए।
केसीको छोरीको नाम समेत प्रवेशिका राखिएको बताइएको छ।
प्रकाशित: १३ चैत्र २०७४ ०७:२९ मंगलबार