coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'सद्‍भावपुर' बन्दै टीकापुर

टीकापुर- आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान जाने गरी टीकापुरमा हिंसात्मक घटना भएको मंगलबार वर्षदिन पुग्यो। घटनापछि लामो समय त्रासै त्रासमा बाँचेको टीकापुरको जनजीवन बिस्तारै सामान्य बन्दै छ।

लामो समयसम्म एकअर्काप्रति त्रस्त थारु र पहाडी समुदाय अहिले नजिकिएका छन्। उनीहरुबीच सद्भाव पुरानै अवस्थामा फर्किएको छ। मिलेर बस्नु नै दुवै समुदायका लागि हितकर छ भन्ने दुवै समुदायले अझ बढी महसुस गरेका छन्।

सामाजिक सम्बन्ध फराकिलो हुँदै गएका छन्, सन्त्रासको छायाले लामो समय छोपेको टीकापुर अब 'सद्भावपुर' मा परिणत हुँदै छ।

वर्षदिन अवधिमा दुई समुदायबीच नयाँ सम्बन्धसमेत गाँसिएका छन्, बिहेबारी आदानप्रदान हुन थालेको छ।

विभिन्न संघसंस्थाले सद्भावका लागि पहल गरिरहेका छन्। अगुवा सद्भाव फैलाउन नेतृत्व गरिरहेका छन्। सार्वजनिक कार्यक्रममा दुवै समुदायको उपस्थिति बढ्दो छ। भोजभतेरमा समेत एकअर्को समुदायबीच निम्तो आदानप्रदान हुन थालेका छन्।

१० हजारभन्दा बढी जम्मा हुने देशावरमा पनि दुवै समुदायका मानिसको उत्तिकै सहभागिता देखियो। महिनादिनसम्म जारी रहने देशावरमा कुनै विवाद भएन। त्यसले पनि दुवै समुदायबीच कुनै मतभेद नरहेको सन्देश दिएको रानीजमरा कुलरिया सिँचाइ प्रणालीका उपाध्यक्ष दामोदर खड्का सुनाउँछन्।

दुर्गौलीमा सामूहिक रक्षाबन्धन आयोजना गरियो यसपालि जहाँ दुई समुदायका २८ जनाले एकअर्कालाई भाइबहिनीका रुपमा स्विकारे। नेपाल शिक्षक संघले तिज तथा आइतबारी मिलन कार्यक्रम आयोजना गर्‍यो जहाँ सांसद प्यारेलाल रानालगायत थारु समुदायका अगुवा देउडा भाकामा झुमे।

लेहेंगा र चोलीमा सजिएका थरुनी तिज गीतमा पहाडी महिलासँगै छमछमी नाचे थिए।

एक वर्ष अवधिमा थारु र पहाडी समुदायबीच झैंझगडा भएको एउटा पनि मुद्दा नपरेको इलाका प्रहरी कार्यालय, टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

'सामान्य झैंझगडा भयो होला तर समुदाय नै जोड्ने गरेर त्यस्तो कुनै घटना भएको छैन,' उनले भने, 'हाम्रो सम्पर्कमा नआएका घटनासमेत सुन्नमा आएका छैनन्।'

टीकापुर नगरपालिका मौरानीयामा केही महिनाअघि युवाबीच कुटाकुट भयो। थारु र पहाडी समुदायका युवाबीच मदिरा सेवनका क्रममा झगडा भएको थियो। दुवै पक्ष घाइते पनि भए। पक्राउपछि उनीहरुले आ–आफ्ना उपचार गर्ने र समाजमा मिलेर बस्ने कागज गरे।

समुदायको अवस्था निकै सामान्य बनेको छ। गाउँटोलमा बडघर चयन गर्ने क्रममा समेत दुवै समुदायको सहभागिता रह्यो। एकले अर्कोलाई बडघरका रुपमा स्विकारेका छन्। थारु बडघर भएका गाउँमा अह्राएको काम पहाडीले गर्छन् भने पहाड बडघर भएका ठाउँमा समेत त्यस्तै माहौल देख्न सकिन्छ।

टीकापुर अब सामान्य अवस्थामा फर्किसकेको कैलाली प्रजिअ गोविन्द रिजालले बताए। 'कसैलाई कुनै चित्त नबुझेका विषय होलान्, ती भद्र रुपमा व्यक्त भइरहेका छन्,' उनले भने, 'सुरक्षामा नै असर पर्ने खालको अवस्था छैन।'

सदियौंदेखिको आफूहरुको सम्बन्ध बिग्रनु हुँदैन भन्नेमा दुवै समुदाय सचेत देखिन्छ। थारु कल्याणकारी कैलालीका उपाध्यक्ष जोधी चौधरीले भाषा फरक भए पनि थारु पहाडीको जात एउटै भएको बताए। 'म जन्मेको थिइनँ। त्यो बेलादेखिको सम्बन्ध हो, यो सम्बन्ध कुनै हालतमा टुट्नु हुँदैन।'

टीकापुर घटनालाई थारु र पहाडी समुदायबीचको द्वन्द्वका रुपमा परिभाषित नगर्न यहाँका राजनीतिकर्मी बताउँछन्। उनीहरुका अनुसार त्यो घटना कसैले आफ्नो स्वार्थसिद्धिका लागि नियोजित गराएको हो।

नेकपा एमाले नगर इन्चार्ज श्याम खत्री थारु र पहाडी आपसमा नलडेको बताउँछन्। 'घटना गराउने अरु कोही नै थिए,' उनले भने, 'हामी दुवै समुदाय त्यसमा संलग्न छैनौं।'

कांग्रेस नेत्री गंगा चौधरीले एउटै समाजमा मिलेर बस्नुको विकल्प नरहेको बताइन्। कसैले कसैलाई लखेट्ने कुरा गलत भएको बताउँदै उनले अनावश्यक हल्ला गरेर समाजमा त्रास फैलाउन नहुने सुझाइन्।

'यहाँ कसैले कसैलाई लखेट्ने कुरा गलत हो,' उनले थपिन्, 'जसरी हिजो मिलेर बसेका थियौं, त्यसरी नै सधैंभरि बस्ने हो।'

अघिल्लो भदौ ७ गते टीकापुर नगरपालिका–६, शंकरपुरमा थरुहट पक्षधरको आक्रमणमा परेर तीन सुरक्षाकर्मी र एक नाबालकले ज्यान गुमाएका थिए। टीकापुरस्थित सरकारी कार्यालयमा 'थरुहट प्रदेश' लेख्ने भन्दै आएका थरुहट कार्यकर्तालाई सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको थियो। ठूलो संख्यामा रहेका थरुहट कार्यकर्ता विभिन्न नाकाबाट टीकापुर प्रवेश गर्न खोजेका थिए। सुरक्षाकर्मी अस्नेहरी, शिव मन्दिर, दुर्गौली, वनगाउँ, आँखा अस्पतालका नाकामा थरुहट कार्यकर्तालाई रोक्न सफल भएका थिए। मुनुवा गाविस हुँदै आएका कार्यकर्तालाई रोक्न सुरक्षाकर्मी असफल भएपछि घटना भएको थियो।

घरेलु हतियारसहित आएका कार्यकर्ताले सुरक्षाकर्मीलाई घेराबन्दीमा पारेर आक्रमण गरेका थिए। घरेलु हतियारको आक्रमणबाट घाइते भएर स्थानीयको घरभित्र लुकेर बसेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेलाई कार्यकर्ताले बाहिर ल्याएर आँगनमा हत्या गरेका थिए। उनको टाउको ढुंगाले थिचिएको थियो।

न्यौपानेलाई बचाउने क्रममा सशस्त्र प्रहरीका हवल्दार रामबिहारी थारुलाई कार्यकर्ताले जिउँदै आगो लगाएर मारेका थिए। उनी उग्रतारा सशस्त्र प्रहरी गणका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मण सिंहका अंगरक्षक थिए। प्रहरी निरिक्षकद्वय डिल्ली विष्ट र केशव बोहराको बीभत्स शव धान खेतमा भेटिएको थियो। अन्य सुरक्षाकर्मीका शवसमेत बीभत्स रुपमा भेटिएका थिए।

घटनास्थलनजिकैको घरमा खेलिरहेका १८ महिनाका नाबालक टेकबहादुर साउदको टाउकोमा गोली लागेको थियो। सुरक्षाकर्मीमाथि आक्रमण भएको झन्डै एक घन्टापछि नाबालकलाई गोली लागेको उनका आफन्तले बताएका छन्।

घटनामा संलग्न आरोपमा राज्यले ५८ जनाका नाममा मुद्दा दायर गरेको छ जसमध्ये २२ जना पक्राउ परेका छन्। ३४ जना फरार छन् भने २ नाबालक भएका कारण छाडिएका छन्।

बीभत्स घटनाले आक्रोशित केही व्यक्तिले भदौ ८ गते टीकापुरमा थारु समुदायका पसल र घरमा आगजनी गरेका थिए। आगजनीका कारण करोडौंको क्षति भएको थियो। पीडितले अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन्। थारु समुदायले आगजनीमा संलग्न भन्दै केही व्यक्तिका नाममा किटानी जाहेरी दिएको छ। उनीहरु पक्राउ नपरेको भन्दै थारु समुदायले आक्रोश व्यक्त गरिरहेको छ।

घटनापछि टीकापुर र आसपास क्षेत्रमा स्थानीय प्रशासनले धेरै दिनसम्म कर्फ्यु लगाएको थियो। सशस्त्र र नेपाल प्रहरीले मात्रै स्थिति नियन्त्रणमा लिन नसक्ने भन्दै सरकारले नेपाली सेनासमेत परिचालन गरेको थियो।

प्रकाशित: ७ भाद्र २०७३ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App