७ वैशाख २०८१ शुक्रबार
समाज

आमरण अनसनकारीको स्वास्थ्य गम्भीर, उपचारका लागि हेटौंडा लगियो

रक्तचाप अत्यन्त न्यून भएपछि स्लाईन पानी चढाईएका अनसनकारी रेजाको अवस्था बुझ्दै मुख्यमन्त्री राउत नेतृत्वको टोली । तस्बिर : नागरिक

सर्लाही– उखुको भुक्तानी तत्काल हुनुपर्ने माग राख्दै हरिवनमा आमरण अनसन बसेका हरिवन नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाको स्वास्थ्य गम्भीर भएपछि उपचारका लागि हेटौंडा लगिएको छ।

‘आँखा पल्टाउने, छाद्ने लगायत भएपछि अनसनकारीलाई एम्बुलेन्समा राखेर उपचार गर्न लैजाँदै छौं’, हरिवननगरपालिका–८ का वडा अध्यक्ष यज्ञविनोद ढुंगेलले भने, ‘चिकित्सकले समेत हिजैदेखि उहाँको अवस्था गम्भीर भएको भन्दै आएका थिए।’

पौने तीनमहिनादेखि भुक्तानी नपाएपछि उखु किसान सम्बद्ध मिलगेट उखु उत्पादक समिति हरिवन र नेपाल उखु उत्पादक किसान संघ लगायतको आह्वानमा गत चैत ५ गते बाट रिले अनसनसहित सुरु भएको आन्दोलनअन्तर्गत वडा अध्यक्ष रेजागत शनिबारबाट आमरण अनसनमा बसेका थिए। रक्तचाप अत्यन्त न्यून भएपछि रेजालाई आइतबार बिहानैबाट अनसन स्थलमै स्लाईन पानीचढाई राखिएको थियो।

आइतबार दिउँसै २ नं. प्रदेशका मुख्यमन्त्री मोहम्मद् लालबाबु राउत, उद्योग मन्त्री रामनरेश राय, कृषिमन्त्री शैलेन्द्र साह समेत प्रदेशका आधा दर्जन सांसद्हरुको टोली आन्दोलन स्थलमा आएर अनसनकारीको अवस्था बुझदै आन्दोलनप्रति ऐक्यवद्धता समेत जनाएका थिए। 

यसैबीच जनकपुरमा अहिले साँझ प्रदेश सरकार, किसान नेता र उद्योगपतिबीच त्रिपक्षीय वार्ता चलिरहेको छ। मुख्यमन्त्री राउतको पहलमा वार्ता भइरहेको सहभागी हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले जानकारी दिए।

पुस पहिलो साताबाट सञ्चालनमा आएको ईन्दुशंकरले सोमबारसम्म ३५ लाख क्वीन्टल उखु क्रसिङ गरिसकेको छ। प्रति क्वीन्टल ५३१ रुपैंया २० पैसाका दरले उद्योगले पुस १६ गतेसम्मको मात्र भुक्तानी गरेको छ । त्यस्तै जिल्लाकै पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर उद्योगले त विगत वर्षकै भुक्तानी दिन सकेको छैन। यसवर्ष पनि १० लाख क्वीन्टल भन्दा बढी उखु क्रसिङ गरिसकेको छ। 

प्रकाशित: १२ चैत्र २०७४ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App