७ वैशाख २०८१ शुक्रबार
कला

समाजको यथार्थ बताउने ‘मेटासिड’

काठमाडौँ – पूर्वी पहाडको एउटा गाउँ । त्यही गाउँमा छ बार्दलीसहितको दुई तले घर । अनि त्याे घरमा बस्छन् भूतपूर्व लाहुरे इमानसिंहको परिवार। 

परिवारमा इमानसिंह( अंकित खड्का) उनकी श्रीमती (सुप्रिया राना) जेठी छोरी मन्दिरा( दिपिका थापा), छोरा राजकुमार(रोहित पौडेल) अनि कान्छी छोरी (प्रनिसा खड्का)छन्। इमानसिंह अलि हक्की स्वभावका भएका कारण उनीसँग सबै डराउँछन्। 

छोरा अलि बिग्रेका छ। घरमै चोरी गर्ने, भट्टीमा जाने, रक्सी खाने, तास खेल्ने उसको दैनिकी जस्तै हुन्छ । उसको त्यही चोर्ने बानीले गर्दा इमानसिंह दिक्क भइसकेका हुन्छन्। त्यस्तै मन्दिराले आफ्नो खर्चको जोहो गर्न कुखुरा पालेकी हुन्छे। अनि त्यही बेचेर आएको पैसा तोरीको भाँडोमा लुकाएर राख्छे। दिदीको पैसा चोर्न पल्केको राजकुमारले उक्त पैसा देख्छ र पैसा बोकी भट्टीको बाटो तताउँछ । भट्टी जानुअघि उसलाई आमाले मुसाका लागि मेटासिड ल्याउन अर्‍याउँछिन्। उसले मेटासिड त ल्याउँछ तर त्यही मेटासिडले एकदिन आफ्नो घर परिवार लथालिङ्ग हुन्छ भन्ने उसले सोचेको पनि हुँदैन्। 

उसँगै हुर्केकी दिदी मन्दिराले चढ्दो यौवनसँगै आफ्नो मन मुटु अरु कसैसँग साट्न थालेकी हुन्छे। कुखुरे वैशले उन्मत्त मन्दिराले आफ्नो संयमता गुमाउँदा कथाले अर्को मोड लिन्छ । त्यसपछि इमानसिंहको परिवारमा हुने घटना थाहा पाउन भने नाटक ‘मेटासिड’ हेर्नुपर्छ। 

२०५० को परिवेश समेटिएको नाटक 'मेटासिड' मण्डला नाटक घर अनामनगरमा मञ्चन भइरहेको छ । निर्देशक प्रेमवर्षा खड्को लेखन तथा निर्देशनमा चैत २ गतेदेखि नाटक नियमित मञ्चन भइरहेको छ। 
समाजको यथार्थ बोकेको कथा
इमानसिंहको प्रतिनिधित्व रहेको उक्त नाटकलाई सरसर्ती हेर्ने हो भने नेपाली समाजको यथार्थ चित्रण भन्न सकिन्छ। केही अश्लिल शब्दका प्रयोग गरिएको भएपनि उक्त शब्दले नाटक हेर्नेलाई गाउँले परिवेशमा पुग्न बाध्य गराउँछ। नाटकमा बाबुकाे रिस, अामाकाे माया, दिदीभाइकाे झगडा यी सबैलार्इ कलात्मक रूपमा प्रस्तुत गरिएकाे छ । जसले नेपाली समाजकाे पारिवारिक यथार्थ झल्काउँछ।


नाटकमा कलाकारहरूले धेरै नै मिहिनेत गरेकाे देखिन्छ । तर पनि कतै कतै कलाकारहरूकाे केमेस्ट्री नमिलेकाे हाे की जस्ताे भान पनि हुन्छ । नाटकमा लामो अनुभव बटुलेका कलाकार अंकित खड्काको अभिनयको अगाडि उनको सहपाठी बनेकी सुप्रिया रानाको अभिनय अलिक फिक्का देखिन्छ । बालकलाकार प्रनिसा खड्काको अभिनय तारिफयोग्य भएपनि नाटकको अन्तिममा उनलाई मुकदर्शक बनाइएको छ। नाटकका अन्य कलाकारहरू संयोग गुरागाई, गोविन्द सुनार, रेशम बुढाथोकी, सिता राना, रियर राईको अभिनय पनि तारिफयोग्य नै छ। 

प्रकाशित: १२ चैत्र २०७४ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App