८ वैशाख २०८१ शनिबार
राजनीति

प्रहरी प्रशासन उद्योगीसँग मिलेको मुख्यमन्त्रीको आरोप

सर्लाही– दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्थानीय प्रहरी प्रशासनले चिनी उद्योगपतिसँग मिलेमतो गरेको आरोप लगाएका छन्।  

उखुको भुक्तानी तुरुन्त पाउनुपर्ने माग राखेर ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा आमरण अनसनसहित जारी आन्दोलनप्रति समर्थन मन्तव्य राख्ने क्रममा मुख्य मन्त्री राउतले उक्त आरोप लगाएका हुन्। प्रदेश उद्योग मन्त्री रामनरेश राय एवं कृषि मन्त्री शैलेन्द्र साहसहित आएका मुख्य मन्त्री राउतले भने, ‘दलाल मार्फत भारतीय उखु ल्याउने अनि मुलुकभित्रैका किसानलाई भने भुक्तानी रोकेर उद्योगपतिले ठूलो अन्याय गरेका छन्।’ 

भारतीय सीमाबाट ट्रकका ट्रक उखु भित्रिएपनि स्थानीय प्रहरी प्रशासनले आँखा चिम्लिएको मुख्य मन्त्री राउतले आरोप लगाए। ‘भारतबाट सानो पोको छिराउँदा पनि रोक्ने प्रहरी प्रशासन ट्रकका ट्रक उखु छिर्दा के हेरेर बसेको छ?’, प्रमुख जिल्ला अधिकारी एवं नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख समेत उपस्थित कार्यक्रममा मुख्य मन्त्री राउतले प्रश्न गरे। दलालमार्फत नगद तिरेर पर्याप्त भारतीय उखु भित्र्याउन पाएकाले उद्योगपतिले मुलुकभित्रका किसानलाई लामो समयदेखि भुक्तानी रोकेको मुख्य मन्त्री राउतको आशय थियो। 

उद्योगपतिले उद्योग सञ्चालन गर्ने बहानामा किसानलाई पीडा दिने कार्य गलत भएको र त्यस्तो कार्य आफूलाई सह्यै नभएको चेतावनी दिए। ‘उद्योगधन्दा पनि सञ्चालन हुनुपर्छ तर उद्योगमैत्रीको नाममा किसानले दुःख पाउने कुरा सह्यै हुदैन’, मुख्यमन्त्री राउतले चेतावनी दिए, ‘किसानलाई पीडा दिने उद्योगपतिमाथि कारबाही गरिनेछ।’

डेढवर्ष अघि लगाएको उखु बेचेबापतको उखुको पैसा समयमै नपाउँदा किसानको दैनिक जनजिवन नै अस्तव्यस्त भएकाले उद्योगपतिले तुरुन्त भुक्तानी सूरु गर्नुपर्ने मुख्य मन्त्री राउतको भनाई थियो। मुल्य तयमा बखेडा, भुक्तानीमा ढिलाई लगायत वर्षौंदेखि उखु किसानले झेल्दै आएको समस्याको दिर्घकालिन समाधानका लागि संघीय उद्योग मन्त्री मातृका यादवसँग समन्वय गरेर प्रदेश सरकारले ठोस् कदम चाल्ने राउतले आश्वासन दिए। 

वार्ता विना निश्कर्ष टुंगियो

त्यस्तै हरिवनमा प्रदेश सरकार, उद्योगपति र किसान प्रतिनिधिबीच त्रिपक्षीय वार्ता आयोजना गरिएको भएपनि उद्योगपति नआएका कारण वार्ताबाट कुनै निचोड निस्किएन। त्रिपक्षीय वार्तामा ईन्दुशंकर चिनी उद्योगको पक्षबाट प्रशासकीय अधिकृत ठाकुर नेपाल नेतृत्वको कर्मचारी टोली सहभागि बनेको थियो। कर्मचारी टोलीले नितीगत निर्णयको जिम्मेवारी बहन गर्न नसक्ने जानकारी गराएपछि मुख्य मन्त्री आक्रोशित भएको बताइएको छ। 

शनिबारबाट आमरण अनसन बसेका हरिवन नगरपालिकाका वडा अध्यक्ष शेष मेहबुब रेजालाई अनसन तोडाउने तयारीका साथ सर्लाही आएका मुख्य मन्त्री राउत उद्योगपति नआएका कारण कुनै निश्कर्ष ननिस्केपछि साँझ त्यसै फर्कनु प¥यो। ‘आई प-यो भने प्रदेश सरकारको तर्फबाट स्पटमै निर्णय गर्ने तयारीका साथ सम्बन्धित दुईजना क्याबिनेट मन्त्री समेत बोकेर आएको थिएँ, तर उद्योगको पक्षबाट वेवास्ता भएको छ’, उद्योगपतिप्रति आक्रोशित मुख्य मन्त्री राउतको भनाई उद्धृत गर्दै किसान नेता राजकुमार उप्रेतीले भने, ‘अनसनकारीको स्वास्थ्य अवस्था विग्रदै गएको देखिन्छ, भोलि तलमाथि भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी उद्योगपतिले लिनुपर्छ।’

कार्यक्रम स्थलमा प्रदेश सांसद्हरु डिल्लीप्रसाद उप्रेती, उपेन्द्र महतो, अशोककुमार यादव, संजय यादव, प्रदेश मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा लगायतको समेत उपस्थिती रहेको थियो।

आन्दोलन जारी

उखु दिएको पौने तीन महिना वितिसक्दा समेत उद्योगबाट भुक्तानी नपाएपछि गत चैत ५ गतेबाट किसानले आन्दोलन सूरु गरेका हुन्। ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा किसानले जारी रिले अनसन शनिबारबाट आमरण अनसनमा परिणत भएको छ। किसानको बैंक खातामा सम्पूर्ण भुक्तानी नभएसम्म नतोडिने अनसनमा बसेका वडाअध्यक्ष रेजाले बताए। रक्तचाप अत्यन्त न्यून भएपछि आइतबार बिहानबाट रेजालाई स्लाईन पानी समेत चढाईएको छ। किसान नेता उप्रेती पनि किसानको भुक्तानी सूरु नभएसम्म आन्दोलन नरोकिने बताउँछन्।

प्रकाशित: ११ चैत्र २०७४ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App