coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भण्डारी दम्पत्ती हत्याका सुटर ७ बर्षपछि पक्राउ

बुटवल – बुटवलका व्यापारी दम्पत्ती हत्याकाण्डका मुख्य सुटरलाई रुपन्देही प्रहरीले ७ बर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा सैनामैना नगरपालिकाको दुधराक्ष रामापुल कलौनीका २७ बर्षे अर्जुन गौतम छन्। हत्याका अर्का सुटर अर्जुनका सहोदर दाजु कृष्ण गौतमलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।

दम्पत्ती हत्या लगत्तै भागेर भारतको दिल्ली पुगेका गौतमलाई शनिबार नेपाल  भारत सीमा नाका बेलहियाबाट पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ। गौतम त्यसअघि २०६५ सालमा पनि अटोमेटिक पेस्तोल र १२ राउण्ड गोलीसहित पक्राउ परेका थिए। भारतीय प्रहरीको समन्वयमा गौतमलाई पक्राउ गर्न सफल भएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए। भाई पक्राउ परेपछि दाजु पनि चाँडै पक्राउ पर्ने प्रहरीको विश्वास छ।

०६७ साल असार ९ गते बुटवल ६ जेसीज चोकको बिष्णु भण्डारी स्टोर्सका संचालक रमेश भण्डारी र आशा भण्डारीको गोली हानी हत्या गरिएको थियो। बुटवलको व्यस्त बजारमा रहेको पसलमा प्रवेश गरी गौतम दाजुभाईले भण्डारी दम्पत्तीको हत्या गर्नुका साथै ५ लाख १८ हजार नगद लुटेका थिए। गौतम दाजुभाई सहित ५जनाको समूहले लुटपाट र हत्याको घटना घटाएको हो। 

लुटपाटका लागि फिल्मी शैलीमा पेस्तोल ताक्दै पसलभित्र पसेका गौतम दाजुभाईले काउन्टरको घर्रा खोल्न खोज्दा आशाले अवरोध गर्न खोजेपछि गोली चलाएका थिए। एक गोली लागेर ढलेकी श्रीमतीलाई उठाउन गएका श्रीमान रमेश भण्डारीलाई दुई गोली हानेर अभियुक्तहरु फरार भएका थिए। आशाको तत्काल घटना स्थलमै र रमेशको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो। सो घटनाका मुख्य योजनाकारसहित ५ जनालाई प्रहरीले घटनाको करिब ६ महिनापछि पक्राउ गरेको थियो। ती मध्ये घटनाका मुख्य योजनाकार भोलेबाबा भनिने सम्भु गौतम र श्याम प्रसाद बिक थुनामा छन्।

भण्डारी दम्पत्ती हत्याको घटनामा भोलेबाबा र श्याम प्रसाद बिकले चलाएको मोटर साइकलमा चढेर आएका गौतम दाजु भाई घटनालगत्तै सोही मोटरसाइकल चढेर भागेका थिए। घटनामा हतियार लुकाउन र मोटरसाइकल उपलब्ध गराउन सघाएका निम प्रसाद थापा, पुरन श्रीस, राजु गलामी पक्राउ पछि रिहा भइसकेका छन्। सुरुमा भोलेबाबाकै योजनामा सो समूहले बुटवलको आइएमई बैंक लुट्ने योजना बनाएको थियो। सो योजना असफल भएपछि बुटवलका धनाढ्य व्यापारी लुटने योजना अनुरुप घटना घटाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केशव भट्टराईले बताए।

प्रकाशित: ११ चैत्र २०७४ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App