पोखरा- सवारी चापले साँघुरो बन्दै गएको पर्यटकीय क्षेत्र लेकसाइडको केही खण्डलाई ‘नो भेइकल जोन’ बनाइएको छ। अबदेखि हरेक शुक्रबार र शनिबार लेकसाइडको ‘नो भेइकल जोन’ भित्र सवारी चल्न पाउने छैनन् । मूल सडकमा सवारी रोकिएपनि त्यहाँसम्म पुग्ने भित्र सडकमा भने निर्बाध रुपमा सवारी चलाउन पाइनेछ ।
स्थानीय पर्यटन व्यवसायी, सरोकारवाला, पोखरा–लेखनाथ महानगरपालिका, सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा लेकसाइडलाई नो भेइकल जोन घोषणा गरिएको हो । लेकसाइडमा सवारी चाप बढेर घुम्न आएका स्वदेशी तथा विदेशी पाहुनालाई हिँडडुलमा समस्या भएको गुनासो बढेपछि साताको दुईदिन सवारी प्रवेशमा रोक लगाउने गरी ‘नो भेइकल जोन’ बनाइएको पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष केदार शर्माले बताए । उनका अनुसार अबदेखि हरेक शुक्रबार र शनिबार साँझ पाँचबजेपछि लेकसाइडमा सवारी सञ्चालन पूर्ण रुपमा बन्द हुनेछन् ।
‘मूल सडक मात्र हामीले रोक्ने हो । भित्री सडकमा सवारी निर्बाध चल्न सक्छन्,’ उनले भने, ‘मूल सडकसम्म मिसिने थुप्रै भित्री सडक भएकाले सवारी रोकिँदा खासै समस्या पर्दैन ।’पहिलो चरणमा हल्लनचोकदेखि बाराहीघाटसम्म (करिब डेढ किलोमिटर) को दूरीमा सवारी प्रवेश रोक लगाइनेछ । त्यसका लागि हल्लनचोक पुगेका सवारीलाई क्याम्पिङचौर र सहिदचोक हुँदै गएका सवारी बाराही मन्दिर जाने छेउको रत्नमन्दिरको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइने उनले बताए ।
‘परीक्षणका लागि अहिले सातामा दुईदिन सवारी चलाउन रोक लगाइनेछ,’ अध्यक्ष शर्माले भने, ‘केही समयभित्रै यसलाई विस्तार गरेर सातैदिन नो भेइकल जोन बनाउन पनि सकिन्छ ।’ नो भेइकल जोन बनाउँदा पर्यटकलाई हिँडडुलमा सहजता त हुनेछ नै शान्त वातावरणमा पाहुना घुम्न पाउने पनि उनले बताए ।
नो भेइकल जोन बनाएको दिन राति अबेरसम्म पनि सवारी चलाउन पाइने छैन ।सात वर्षअघि सातामा एकदिन पूरै लेकसाइडलाई नो भेइकल जोन बनाइएको थियो । तर, त्यो अभियान सात महिनाभन्दा बढी टिकाउन नसकिएकाले योपटक बिस्तारसँगै सातैदिनसम्म सवारी रोक्ने गरी व्यवस्थापनको पहल गरिरहेको उनले बताए ।
मूल बाटोमा होटलभन्दा पनि धेरै रेस्टुरेन्ट र किनमेलका पसलसहित ट्राभल र टे«किङ कार्यालय रहेकाले पनि मान्छेको आउजाउ बाक्लो हुने गरेको छ । खानपिन र रमाउनका लागि लेकसाइड पुगेका पाहुना सवार सवारीको भिड बढ्दा रातको समयमा झनै चाप हुने गरेको छ ।
उनका अनुसार अहिले दिनको समयमा पनि लेकसाइड साना ठूला सवारीको आगमनले भिड हुने गरेको छ ।सवारी आउजाउ रोकिएपछि स्थानीय व्यवसायीले सडकमै मनोरञ्जनात्मक र सचेतनामूलक कार्यक्रम गर्न पाउने पनि उनले बताए ।
नो भेइकल जोन बनाउने कार्यक्रममा महानगरका मेयर मानबहादुर जिसीले बिदा मनाउन पोखरा भित्रिएका पाहुनालाई यसले शान्तिपूर्वक घुम्ने वातावरण मिलाउने बताए । ‘लेकसाइडलाई नो भेइकल जोन बनाउँदा यसले पाहुनालाई निर्धक्क घुम्न सक्ने बनाउनेछ,’ उनले भने, ‘यसलाई आवश्यक सहयोग गर्न महानगर तयार छ ।’
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले पोखरामा भन्दा बढी भिडभाड रहेको काठमाडौंको ठमेल समेत नो भेइकल जोन बनाउँदा सफल भएकाले पोखरालाई सफल बनाउने जिम्मा स्थानीय व्यवसायीको रहेको बताए ।
थपलियाले नो भेइकल जोन बनाउँदा त्यसले सबैभन्दा बढी पैदल हिँड्न रुचाउने पाहुनालाई सहज हुने बताए । ‘रातिको समयमा खानपिन गर्न बाटोमा निस्केका पाहुनालाई सवारीसँग ठोक्किने डर थियो,’ उनले भने,‘अब यो डर कम्तीमा सातामा २ दिनका लागि भएपनि हटेको छ ।’
थपलियाले पोखरालाई शान्तिपूर्वक घुम्ने वातावरण मिलाउने जिम्मा स्थानीय व्यवसायीको रहेको बताए । ‘लेकसाइडको पूरै खण्डलाई शान्तिपूर्वक घुम्ने वातावरण बनाउन जरुरी छ,’ उनले भने, ‘भिडभाड हुने ठमेल त सफल भयो भने पोखरामा नहुने भन्ने कुरै रहँदैन ।’ उनले सुरुमा अभ्यासको क्रममा केही क्षेत्रमा मात्र नो भेइकल जोन बनाएपनि यसलाई पछि बिस्तार गर्न सकिने बताए ।
नो भेइकल जोनका दिन नेपाल पर्यटन बोर्डले हरेक १५ दिनको फरकमा लेकसाइडमा सांगीतिक कार्यक्रम गर्ने तयारी गरिरहेको थपलियाले जानकारी दिए । ‘सारंगी, मुर्चुंगा, भजनकीर्तन गर्न मिल्ने गरी सांगीतिक योजना बनाएका छौं,’ उनले भने, ‘पैदल हिँडेका पर्यटक नेपाली संगीतसँग रम्न सक्छन् । त्यसमा स्थानीय वाद्यवादन उपयोग हुनेछन् । अंग्रेजी गीत सुनाउने छैनौं ।’
प्रदेशसभा सदस्य राजीव पहारीले यो नो भेइकल जोन घोषणा गरिरहँदा केही समस्या आएपनि त्यसलाई समाधान गर्न सकिने बताए । ‘सवारी चल्न रोकिएको क्षेत्रमा कोही बिरामी पर्दा समस्या हुनसक्छतर, यसलाई मिलाउने हामी सबैको दायित्व हो । यसमा सबैको सहकार्य जरुरी छ,’ पहारीले भने, ‘समग्र पर्यटन क्षेत्रका लागि भएकोले यसलाई व्यवस्थापन गर्र्नु हामी सबैको जिम्मा पनि हो ।’
प्रहरीले नो भेइकल जोनका दिन भित्री सडकमा शुक्रबार र शनिबार पालैपालो दायाँबायाँ सवारी पार्किङ गर्ने व्यवस्था मिलाउने बताएको छ । लेकसाइडमा सवारीको आवागमन बढ्दा हिँडडुलको समस्या हुनुका साथै ध्वनि र वायु प्रदूषण पनि बढ्ने गरेको पर्यटकको गुनासो थियो ।
प्रकाशित: ११ चैत्र २०७४ १३:०६ आइतबार