८ वैशाख २०८१ शनिबार
प्रविधि

मंगलबारदेखि मन्त्रालयमा फेसबुक नचल्ने

सुर्खेत- कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाउने भएको छ। कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो।

पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन पाइने छैन। ‘सरकारी कार्यालय हाताभित्र सरकारी समयमा फेसबुकमाथि प्रतिवन्ध लगाइएको हो’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘विस्तारै प्रदेशभरी यसलाई कार्यान्वयन गछौं।’ उनले क्षेत्रीय तथा जिल्ला कार्यालयहरु प्रदेश सरकार मातहत नआएकाले तत्कालका लागि मन्त्रालयहरुमा मात्रै कार्यालय समयमा फेसबुक नचल्ने बनाइने बताए।

‘फेसबुक चलाउने समय कर्मचारीहरुले जनता र प्रदेशको समृद्धि र विकासका लागि काम गरुन भन्ने हो’ उनले भने, ‘यो आवश्यक पनि छ ।’ आइतबार इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग मुख्यमन्त्री शाहीले फेसबुकमा प्रतिवन्ध लगाउने विषयमा छलफल गरेका थिए। सुर्खेतमा सरकारी स्वामित्वको नेपाल टेलिकमसहित वल्र्डलिङ्क, सुविसु, टेक माइण्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन्।

‘कार्यालय समयभित्र फेसबुक बन्द गर्ने विषयमा मुख्यमन्त्रीज्यूले हामीहरुसँग छलफल गर्नुभयो’ वल्र्डलिङ्कका सुर्खेत प्रमुख नवराज पंगालीले भने, ‘हामीले सहयोग गछौं भनेका छौं ।’ उनका अनुसार प्रदेश सरकारले सोमबार औपचारिक रुपमा फेसबुक नचल्ने बनाउनका लागि पत्र पठाउने छ । पत्रका आधारमा मंगलबारदेखि प्रदेश मन्त्रालयहरुमा विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म फेसबुक नचल्ने बनाइने छ।

प्रकाशित: ११ चैत्र २०७४ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App