७ वैशाख २०८१ शुक्रबार
राजनीति

डिएलएको केन्द्रीय नेतृत्व छान्न गर्न गृहकार्य

नेपालगन्जमा शनिबार आयोजित डिएलएसम्वद्ध कानुन व्यवसायीको भेला । तस्बिर : अर्जुन ओली/नागरिक

नेपालगन्ज – डेमोक्रेटिक लयर्स एसोसिएसन(डिएलए)को केन्द्रीय नेतृत्व चयन गर्न गृहकार्य सुरु गरिएको छ । आगामी जेठ १३ र १४ गते डिएलएको १० औं महाधिवेशन गर्ने समय तय भइसकेको छ। महाधिवेशनको स्थान तय नभए पनि सक्षम नेतृत्व ल्याउन डिएलएआवद्ध कानुन व्यवसायीहरु सक्रिय भएर लागेका छन्। 

 नेपाल बार एसोसिएसनको राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका डिएलएसम्वद्ध कानुन व्यवसायीको शनिबार नेपालगन्जमा सम्पन्न भेलाले नयाँ नेतृत्व चयनबारे गृहकार्य थालेको हो। सक्षम नेतृत्व चयन गरेर आगामी नेपाल बार एसोसिएसनको निर्वाचनमा पनि नतिजा दोहो¥याउने रणनीति डिएलएले बनाएको छ। अहिलेसम्म नेतृत्व नपाएका केही व्यक्तिलाई डिएलएमा जिम्मेवारी दिने र बाँकीलाई नेपाल बारको आगामी निर्वाचनमा टिकट दिने छलफल चलाइएको छ।

डिएलए बाँकेले आयोजना गरेको उक्त भेलामा बोल्ने अधिकांश कानुन व्यवसायीले बारमा पुनः नेतृत्व स्थापित गर्न सुरुमा डिएलएलाई सक्षम बनाउन आवश्यक रहेकोमा जोड दिए। नेपाल बारका अध्यक्ष शेरबहादुर केसीले डिएलएलाई मजबुद गराएपछि मात्र आगामी बारको निर्वाचन परिणाम डिएलएको पक्षमा आउने बताए। ‘सबैले इमान्दारीपूर्वक काम गरौं, आगामी बार पनि डिएलए पक्षमा हुनुपर्छ, हामी सबै त्यही हिसाबले लाग्नुपर्छ,’ उनले भने। 

नेपालगन्जमा तीन वर्ष अगाडि सम्पन्न डिएलएको नवौं महाधिवेशनले गोपालकृष्ण घिमिरेको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो। उक्त कार्यसमितिले आधाभन्दा बढी कार्यकाल पूरा गरिसकेको अवस्थामा अर्को समूहले भरतप्रसाद खरेलको संयोजकत्वमा तदर्थ समिति बनाएपछि डिएलए विभाजनको संघारमा पुगेको थियो। बारको चुनावलाई दृष्टिगत गरी दुवै समितिलाई एउटै बनाएपछि घिमिरेले नेतृत्व बीचमै छाडे र डिएलएको नेतृत्व खरेलले पाएका थिए।

‘त्यो बेला विवाद मिलाएकै कारण बारको अध्यक्षमा शेरबहादुर केसीसहित बहुमत कार्यसमिति पदाधिकारीमा डिएलएसम्वद्ध कानुन व्यवसायी निर्वाचित भएका हुन्,’ डिएलएका केन्द्रीय उपाध्यक्ष प्रह्लादबहादुर कार्कीले भने, ‘यसपटक पनि डिएलएलाई विवादरहित ढंगले नेतृत्व दिनुपर्ने छलफल चलेको छ।’ डिएलएको नयाँ नेतृत्व चयन गर्न लागिरहेका बेला फेरि पनि विगतको विवाद पुनरावृत्ति हुने हो कि भन्ने चिन्ता कतिपय कानुन व्यवसायीलाई लागेको छ। 

भेलामा डिएलएका निर्वतमान अध्यक्ष घिमिरेले बारमा अस्तित्व बचाउन सवल र सक्षम व्यक्ति डिएलएमा आउनुपर्ने बताए। ‘अब आउने अध्यक्षले कार्यकाल बीचमै छाड्न नपरोस्, पूरा कार्यकाल चलाउने गरी हामीले डिएलएको नेतृत्व गर्ने व्यक्ति ल्याउनुपर्छ,’ उनले भने । नेपाली कांग्रेसको शुभेच्छुक संस्था समेत रहेको डिएलएको नेतृत्व प्रत्येक ३/३ वर्षमा चयन गरिन्छ। 

भेलाको संयोजन गरेका डिएलएका केन्द्रीय उपाध्यक्ष कार्कीले बारको सम्मेलनमा सहभागी हुन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कानुन व्यवसायी आएको मौका छोपेर डिएलएको नेतृत्व चयनबारे छलफल गरिएको बताए। उक्त भेलामा डिएलएको नयाँ नेतृत्वका लागि विभिन्न पदका इच्छुक व्यक्तिले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। 

प्रकाशित: ११ चैत्र २०७४ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App