सर्लाही – केही महिनायता जिल्लामा जताततै सडक निर्माणका कामहरु भइरहेका छन् । पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम मलंगवा जोड्ने २५ किलोमिटरको नवलपुर–मलंगवा सडकखण्ड त पटक–पटक टेन्डर लाग्दै र अवरुद्ध हुँदै १० वर्षदेखि निर्माणाधीन अवस्थामा छ।
त्यस्तै नयाँरोड–बरहथवा, फूलजोर–त्रिभुवननगर, कर्मैया–हथियौल, बाँके–संग्रामपुर, हरिवन–कौडेना, संग्रामपुर–मलंगवा, मलंगवा–हथियौलसहित ठूला बजेटमा दुई दर्जनभन्दा बढी सडक कालोपत्रेका लागि निर्माण कार्य भइरहेको छ । जताततै निर्माण कार्य हुँदा पछिल्ला केही दिनयता सडकमा गुड्ने सवारी साधनले उडाउने धुलोका कारण सर्वसाधारण आजित बनेका छन्।
‘जता हिँडे पनि धुलो खान बाध्य छौं, झन सडक आसपासका सर्वसाधारण त धुलोले निसास्सिएर बस्न बाध्य छन्,’ वेल्हीका किशोरी रायले गुनासो गरे, ‘निर्माणका क्रममा माटो हालेका कारण गुड्ने सवारी साधनले उडाउने धुलोले २४सै घन्टा कुइरीमण्डल हुने गरेको छ, ठेकेदारले पानी नहालेका कारण सर्वसाधारण धुलोले पुरिएर मर्ने अवस्था आएको छ ।’ सडकको काम अलपत्र छाडिँदा उड्ने धुलोको कुइरीमण्डल हेर्दा त ठेकेदारले राज्यबाट निर्माण कार्य हैन कि सर्वसाधारणको ज्यान लिने लाइसेन्स पाएको जस्तो आभास हुन थालेको रायको व्यंग्य थियो।
प्रतिनिधि सभा सदस्य प्रमोद साहको अगुवाइमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, सरोकारवाला डिभिजन सडक कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, सम्बन्धित ठेकेदारहरु, सञ्चारकर्मी, नागरिक समाजका अगुवासहितको जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय छलफलमा रायले यस्तो पीडा व्यक्त गरेका हुन् ।कार्यक्रममा बोल्दै मलंगवा नगरपालिकाका मेयर निरसल साहले महिनौंदेखि सडकमा माटो थुपारेर राखेका कारण धुलोले सर्वसाधारणलाई आक्रान्त बनाएको भन्दै आक्रोश व्यक्त गरे ।
‘बाटोमा माटोमात्र थुपार्ने भन्दा पनि ठेकेदारले चाँडोभन्दा चाँडो काम गर्नुपर्यो,’ उनले भने, ‘कि त पर्याप्त पानी छर्कनु परो, नत्र बाटोमा थुपारेको माटो हटाएर ठेकेदार फर्किए हुन्छ ।’ ठेकेदारले इमान्दारिताका साथ काम नगर्दा उड्ने धुलोले आफ्ना नगरवासीलाई स्वास्प्रस्वाससम्बन्धी दीर्घकालीन रोगी बनाएको उनको आरोप थियो । ‘ठेक्का ओगट्ने तर काम नै नगर्ने ठेकेदारप्रति आमरुपमा आक्रोश बढेको छ,’ मेयर साहले चेतावनी दिँदै भने, ‘धुलोमात्र खुवाउने ठेकेदारलाई जनताले बाध्य भएर आफ्नै ढंगको कारबाही गर्नेसम्मको अवस्था नआओस्।’
नवलपुरस्थित गैर औषधालयका डा. देवेन्द्र झाले सडकबाट उडेको धुलोले सर्वसाधारण गम्भीर रोगका शिकार बनिरहेको जानकारी दिए । ‘२४सैं घन्टा कुइरीमण्डल बनेर उड्ने धुलोबाट बाटोमा हिड्ने बटुवा तथा सडक आसपासका सर्वसाधारण गम्भीर प्रकृतिका दीर्घकालीन रोगको शिकार बनिरहेका छन्,’ डा. झाले भने, ‘धुलोका कारण क्षयरोग, दमलगायत फोक्सोसम्बन्धी विभिन्न रोगबाट सर्वसाधारण आक्रान्त बनेका छन्।’
निर्माण व्यवसायीले भने सडक अतिक्रमण नरोकिएको, ढुंगा, गिट्टी, बालुवालगायत कच्चा पदार्थ समयमै नपाएको लगायत विभिन्न बहानामा द्रुत गतिमा काम हुन नसकेको बताउने गरेका छन् । नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत कविलासी–मलंगवा खण्डको निर्माण कार्यको जिम्मेवारी लिएका निर्माण व्यवसायी नागेन्द्र साहले अतिक्रमण खाली गराएर सडक कार्यालयले लाइन नदिँदा र आवश्यक कच्चा पदार्थ समयमा नपाउँदा काम अवरुद्ध हुने गरेको जानकारी दिए।
तर कार्यक्रममा उपस्थित अन्य क्षेत्रका सहभागीले भने कुनै कारणले अवरुद्ध भएको ठाउँको बहानामा ठेकेदारले सबै सडकको निर्माण कार्य अलपत्र पारेको आरोप लगाए । ‘ठेकेदारले १० ठाउँमा ठेक्का लिएर काम ओगटेका हुन्छन्,’ नागरिक अगुवा शिवचन्द्र चौधरीले भने, ‘अनि सानो बहाना देखाएर काम अलपत्र छाड्दा हामी धुलोमा निसास्सिन बाध्य छौं।’
प्रतिनिधि सभा सदस्य प्रमोद साहले जिम्मा लिएको काम समयमै सम्पन्न नगरी सडक अलपत्र पार्ने गरेका कारण ठेकेदारप्रति आक्रोश बढ्दै गएको बताए । ‘दु्रत गतिमा काम नहुँदा, सडकबाट उड्ने धुलोले जिल्ला नै कुइरीमण्डल हुने गरेको छ,’ उनले भने, ‘इमान्दार भएर काम नहुँदा जिल्ला सधैं पिछडिएको छ ।’ ठेकेदार एवं सम्बद्ध कार्यालयको उदासिनताले निर्माण कार्य अलपत्र रहँदा विकासका हिसाबले जिल्ला वर्षौपछि धकेलिएको उनको गुनासो थियो।
हुलाकी सडक आयोजना जनकपुरका प्रमुख सन्तोषकुमार कर्णले ठेकेदारलाई फटाफट काम गर्न कुनै बाधा नरहेको दाबी गरे । ‘लिएको जिम्मेवारी पूरा गर्न निर्माण व्यवसायीलाई हामीबाट कुनै बाधा छैन,’ उनले भने, ‘निर्माण क्रममा सडकबाट उड्ने धुलो नियन्त्रणका लागि दैनिक पानी छिट्नुपर्ने जिम्मेवारी ठेकेदारको हो ।’ उनले निर्माण व्यवसायीलाई तीव्र रुपमा काम गरेर राज्यको विश्वास जित्न आग्रह समेत गरे।
प्रजिअ कृष्णबहादुर कटवालले सडकबाट उड्ने धुलोकै विषयमा जिल्लाका विभिन्न स्थानमा जनआक्रोश बढ्दै गएको गुनासो गरे । ‘धुलोको विरोध गर्दै जिल्लामा कतै न कतै दैनिक सडक जाम हुने गरेको छ,’ प्रजिअ कटवालले भने, ‘सडक जामलगायत कारणले शान्ति सुरक्षा कायम गर्न पनि ठूलो चुनौती आइपरेको छ।’
अन्य सहभागी सबै एकोहोरो खनिएपछि सडक निर्माणको जिम्मा लिएका ठेकेदारले तीन दिनभित्र कालोपत्रे गर्ने र माटोमाथि ग्राभेल हाल्नेसहितका काम द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता जनाए । त्यस्तै निर्माण व्यवसायीले निर्माणाधीन सडकमा दैनिक पानी छिटेर धुलो नियन्त्रण गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
बैठकले सम्झौता अवधिभित्रै निर्माण कार्य सम्पन्न गर्न बाधा अवरोध हटाउनका लागि तत्काल स्थानीय प्रशासन, स्थानीयतह र सम्बन्धित सडक कार्यालयले पहल गर्ने र बाधा अवरोध नहुँदा पनि काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने निर्णयसमेत गरेको छ ।
प्रकाशित: ११ चैत्र २०७४ ०१:४७ आइतबार