दार्चुला – भारतीय पक्षबाट महाकाली नदीमा काठेपुल बनाएको र नेपाली भूमि भएर डोजर ढुवानी गरेको सार्वजनिक भएपछि नेपाली सेना त्यस क्षेत्रमा विगत एक सातादेखि गस्तीमा छ। दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको दुर्गादल गुल्मबाट टोली सीमा क्षेत्रमा गस्तीमा निस्केको हो। फागुन अन्तिम सोमबारदेखि आवश्यक बन्दोबस्तीका सामानसहित सेनाको टोली महाकाली तटीय क्षेत्र भएर उत्तरतर्फ गस्तीमा छ। सीमा क्षेत्रका छिमेकी पक्षका गतिविधि बढेको समाचार सार्वजनिक भएपछि सेनाले स्थलगत सुरक्षा गस्ती बढाएको हो। यस क्षेत्रमा बिहीबार सेनाको उच्च स्तरबाट समेत निरीक्षण गरिएको छ। सुदूरपश्चिम पृतना दिपायलका पृतनापति उपरथी झंकरबहादुर कठायतले दार्चुलाको उत्तरी सिमाको वस्तुगत अवस्थाबारे अनुगमन निरीक्षण गरेका हुन्।
हेलिकप्टरमा दार्चुला पुगेका पृतनापति कठायतले व्यास गाउँपालिकाको वडा नं.१ छाङरु पुगेर सीमा क्षेत्रको वस्तुगत अवस्थाबारे जानकारी लिएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति सेनानी सन्तोष गुरुङले बताए। ‘दुर्गादलबाट सीमा क्षेत्रमा खटिएको गस्तीमा रहेको नेपाली सेनाको टुकडीको अवस्थाबारे निरीक्षण गरेका छौं’, गुल्मपति गुरुङले भने, ‘अनुगमनका क्रममा पृतनापतिज्यूबाट सीमा क्षेत्रमा खटिएको नेपाली सेनाको टुकुडी अवस्था बुझ्नुका साथै आवश्यक निर्देशन भयो।’
पृतनापति कठायतले नेपाली सेनाको प्रमुख कर्तव्य देशको सीमा र सार्वभौमत्ता रक्षार्थ भएकाले आफ्नो कर्तव्यपथमा सक्रिय रहन निर्देशन दिएका छन्। ‘देशको हरेक क्षेत्रमा नेपाली सेना पुग्ने गरेको र हाल सीमामा राज्यको उपस्थितिका लागि सेना दार्चुलाको यस उत्तरी सीमा क्षेत्रमा उच्च मनोबल र निष्ठाका साथ मातृभूमिको सेवामा खटिएका छौं’, गस्तीमा रहेका सैनिकलाई सम्बोधन गर्दै उनले भने।
सीमा क्षेत्रका छिमेकी पक्षका गतिविधि बढेको समाचार सार्वजनिक भएपछि सेनाले स्थलगत सुरक्षा गस्ती बढाएको हो ।
भारतले नेपालको सहमतिबिना ब्यास गाउँपालिका २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर र बुदीको कौथलामा ४ वटा काठेपुल निर्माण गरेपछि नेपाली सेनाको हेडक्र्वाटरबाट दुर्गादल गुल्मलाई सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न निर्देशन भएको थियो।
हेडक्र्वाटरबाट भएको निर्देशनका आधारमा दुर्गादल गुल्म दार्चुलाबाट गत फागुन २८ गते नेपाली सेनाको एक टुकडी सीमा क्षेत्रको वस्तुगत अवस्था तथा दुर्गम क्षेत्रमा नेपाली सेनाको उपस्थिति देखाउन हाल व्यास गाउँपालिकाको छाङरुमा बसेको छ। गुल्मपति गुरुङले भने, ‘हाल सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न गएको नेपाली सेनाको टोली १/२ दिनभित्र व्यास गाउँपालिका– १ तिंकरमा सर्ने तयारीमा छ।’ उनका अनुसार सो क्षेत्रमा हिउँ परिरहेका कारण नेपाली सेनाको टोली अहिले गाउँपालिका १ को छाङरुमा बसेको छ।
नेपालको भूभागमा भारतीय पक्षले आफू अनुकूलका गतिविधि सञ्चालन गरिरहेको अवस्थामा नेपाली सेनाको क्रियाशीलताले सीमामा भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय मूल्यमान्यताविपरीतका गतिविधि अंकुश तथा त्यस क्षेत्रमा राज्यको उपस्थितिसमेत देखिने विश्लेषण छ। सीमामा भारतीय पक्षको दोहन रोक्न न त यस क्षेत्रमा कसैको बसोबास रहेको छ, न त सुरक्षा निकायको उपस्थिति।
दार्चुलाको उत्तरी सिमानामा कुनै पनि सुरक्षा निकायको उपस्थिति छैन। व्यास गाउँपालिका २ दुम्लिङसम्म नेपाल प्रहरीको उपस्थिति छ। भौगोलिक विकटता र पूर्वाधार अभावमा नेपाल प्रहरीको तिंकर र सीतापुलमा रहेको चौकी दुम्लिङमा सारिएको छ। तिंकर र सीतापुलमा हिउँदमा हिमपातका कारण बस्न नसकिने भएकाले गर्मीयाममा मात्रै सो क्षेत्रमा प्रहरीचौकी रहने गरेको छ। उक्त क्षेत्रमा वर्षभरि प्रहरीको उपस्थितिको भौतिक पूर्वाधार अभावसाथै बन्दोबस्ती सामग्रीको समेत अभाव हुने गरेको छ।
प्रकाशित: ११ चैत्र २०७४ ०१:२० आइतबार