६ वैशाख २०८१ बिहीबार
समाज

उखुको भुक्तानी माग्दै वडा अध्यक्ष आमरण अनसनमा

सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगको मुलगेटमा शनिबारबाट आमरण अनसनमा बसेका वडा अध्यक्ष शेष मेहबुब रेजा तथा उनको समर्थनमा अनसन स्थानमा भेला भएका किसानहरू। तस्बिर: नागरिक

सर्लाही – उखुको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै हरिवन नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले शनिबारबाट आमरण अनसन सुरु गरेका छन्। शनिबार मध्यान्हबाट हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगको मुलगेट अगाडि रेजा आमरण अनसनमा बसेका हुन्।

पौने ३ महिनादेखि उखुको भुक्तानी नपाएपछि किसान सम्बद्ध मिलगेट उखु उत्पादक समिति हरिवन र नेपाउ उखु उत्पादक किसान संघको आव्हानमा गत चैत ५ गतेबाट सोही स्थानमा रिले अनसन सुरु भएको थियो। शनिबार बिहानबाट रिले अनसनको कार्यक्रम अन्त्य गर्दै आन्दोलन आमरण अनसनतर्फ सोझिएको छ।

‘समयमै भुक्तानी नपाएपछि किसानहरू निकै मारमा परेका छन्’, अनसनकर्ता रेजाले शनिबार नागरिकसँग भने, ‘त्यसैले आजबाट उद्योगपति एवं सरकारलाई दबाब दिनका लागि आमरण अनसन सुरु गरेको हुँ।’ समस्याको सम्बोधन नभएसम्म अनसन जारी रहने रेजाले बताए।

पटक–पटक मौखिक एवं लिखित आग्रह गर्दा समेत किसानलाई भुक्तानी नदिएपछि बाध्य भएर रिले अनसन सुरु गरिएको र सरोकारवालाबाट कुनै सुनवाई नभएपछि शनिबारबाट आमरण अनसन सुरु भएको नेपाल उखु उत्पादक किसान संघ नेपालका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए। आइतबारबाट अन्य किसान समेत आमरण अनसनमा सहभागि हुने मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेदबहादुर बुढाथोकीले बताए।

ईन्दुशंकर चिनी उद्योग व्यवस्थापनले भने विदेशी चिनी आयात भएकाले लागत मुल्य अनुसार आफूहरूको चिनी विक्री नभएकाले भुक्तानी गर्न नसकिएको बताउँदै आएको छ।

पुस पहिलो साताबाट सञ्चालनमा आएको उद्योगले शनिबारसम्म ३४ लाख ५५ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ। प्रति क्विन्टल ५३१ रुपैयाँ २० पैसाका दरले उद्योगले पुस १६ गतेसम्मको मात्र भुक्तानी गरेको छ। त्यस्तै जिल्लाकै पश्चिम धनकौल स्थित अन्नपूर्ण सुगर उद्योगले त विगत वर्षकै भुक्तानी दिन सकेको छै । यसवर्ष पनि १० लाख हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ।
सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो। यहाँ साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ।

प्रकाशित: १० चैत्र २०७४ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App