किरण मरहठ्ठा पेसाले पत्रकार, लेखक, टेलिभिजन कार्यक्रम प्रस्तोता। हाल अमेरिका बसाइँ सरेका मरहठ्ठा त्यहाँ पनि पेसासँग जोडिएकै छन्। अमेरिका पुगेरै उनले ‘दी होप’ र ‘मिडिया इन मास’ नामका किताब लेख्न भ्याइसके। साथमा उनले त्यहीँबाट स्थानीय टेलिभिजन च्यानलमा नियमित कार्यक्रम सञ्चालन गरिरहेका छन्।
दशकभन्दा लामो समय नेपालमा सञ्चारमाध्यमको जागिरेका रूपमा बिताएका मरहठ्ठाले आफ्नो परिचयमा पत्रकार र लेखकसँगै अर्को विशेषण पनि थपेका छन्, डकुमेन्ट्री निर्माताका रूपमा। पेसासँग खेलकुदको खास साइनो नभए पनि फुटबलमा उनको लगाव विशेष छ। नेपाली फुटबल पनि नियमित पछ्याउने मरहठ्ठा खासगरी युरोपेली लिग र विश्वकपमा अझै बढी रुचि राख्छन्।
युरोपेली क्लबमा उनलाई सबभन्दा मनपर्ने क्लब बार्सिलोना हो भने अन्तर्राष्ट्रिय फुटबलमा नेपालपछि उनको रोजाइ अर्जेन्टिना हो। उनले बार्सिलोना र अर्जेन्टिनासँग यति लगाव राख्नुको कारणमा छन्, लियोनल मेसी। मेसीले बार्सिलोनाको जर्सी लगाउन थालेदेखि नै उनका हरेक खेल, गोल र फ्रि–किकलाई चासोका साथ पछ्याएका मरहठ्ठा पनि अरु करोडौँ समर्थकजस्तै मेसीलाई विश्वकै सर्वोत्कृष्ट खेलाडी मान्छन्। मरहठ्ठा यस अर्थमा भाग्यमानी साबित भए कि उनी आफूले सर्वोत्कृष्ट ठान्ने खेलाडीलाई बारम्बार भेट्ने मौका पाए। जसको फगत एक किक हेर्नकै लागि पूरा रातभर टेलिभिजनको अगाडि झुम्मिएका थिए, उनैको विषयमा डकुमेन्ट्री बनाउने मौका पाए।
नेपालमा आफ्ना प्रशंसक भएको जानकारी रहेको र आफूहरु नेपालीप्रति आभारी रहेको बार्सिलोनाका खेलाडीले बताएका छन्। मेसी, नेइमार, पिके र जाभी हर्नान्डेजले भने नेपाली ढाकाटोपी लगाएर कुनै दिन नेपाल आउन चाहना राखेका छन ।
सी र बार्सिलोनामा केन्द्रित रहेको ‘मेसी दी म्यान एट बार्सा’ नामको डकुमेन्ट्री निर्माण भएको झन्डै तीन वर्ष भइसकेको छ। यसबीचमा विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका साथै थुप्रै ठाउँमा यसको प्रदर्शनी भइसकेको छ।
युरोपेली फुटबलको महारथी स्पेनिस क्लब बार्सिलोनाको स्थापनादेखिका उपलब्धिसँगै क्लबका महत्वपूर्ण खेलाडीका कथा समेटेको डकुमेन्ट्री विशेष गरी मेसीको आगमनपश्चात् बार्सिलोनाले हासिल गरेका सफलतामा केन्द्रित छ। त्यही कारण यसको नाम ‘मेसी दी म्यान एट बार्सा’ राखिएको मरहठ्ठा बताउँछन्। ‘मैले यसमा बार्सिलोनाका महत्वपूर्ण कोसेढुंगाहरू, बार्सिलोनाको रंगशाला क्याम्प नोउ, क्याम्प नोउ संग्रहालय, बार्सिलोनाको प्रशिक्षण केन्द्र क्याम्प टिटो भेलोनोभा, ला मासिया एकेडेमी लगायत ठाउँलाई डकुमेन्ट्रीमा समेटेको छु,’ मरहठ्ठा भन्छन्, ‘एउटा नेपाली पत्रकारका नाताले बार्सिलोनाजस्तो क्लबबारे डकुमेन्ट्री निर्माणको अवसर पाउनु मेरा लागि निकै महत्वपूर्ण उपलब्धि हो। नितान्त फरक र विश्वस्तरीय विषयमा बनेको हुनाले यसले नेपालका अन्य डकुमेन्ट्री मेकरलाई पनि प्रेरणा मिल्ने मैले विश्वास लिएको छु।’
मरहठ्ठा डकुमेन्ट्रीमा मेसी, जेरार्ड पिकेजस्ता खेलाडीसँगै नेइमार र एम्युनिकेजस्ता पूर्वखेलाडी र युनिसेफका निर्देशक जेरार्ड बोकानिटको अन्तर्वार्ता समेटेका छन्। अन्तर्वार्तामा नेपालमा आफ्ना प्रशंसक भएको जानकारी रहेको र आफूहरु नेपालीप्रति आभारी रहेको बार्सिलोनाका खेलाडीले बताएका छन्। मेसी, नेइमार, पिके र जाभी हर्नान्डेजले भने नेपाली ढाकाटोपी लगाएर कुनै दिन नेपाल आउन चाहना राखेका छन्।
चार वर्ष लगाएर ५० हजार युरो बजेटमा आफूले ३० मिनेटको डकुमेन्ट्री तयार गरेको मरहठ्ठा बताउँछन्। भन्छन्, ‘बार्सिलोनाका विश्वस्तरीय खेलाडीले नेपालबारे व्यक्त गरेका भावनाले समस्त नेपालीलाई सम्मानित महसुस गराउँछ।’
उनका अनुसार डकुमेन्ट्रीको छायांकन बार्सा टेलिभिजनका क्यामेराम्यान अल्भारोले दुई साता लगाएर गरेका थिए। ‘बार्सिलोनाजस्तो विश्वस्तरीय क्लबसँग जोडिन पाउनु मेरा लागि गर्वको कुरा हो। बार्सिलोनाको अतिथि सत्कार र उनीहरूको संस्कारबाट म अत्यन्तै प्रभावित भएँ। बार्सिलोनाका खेलाडीसँग झन्डै दुई साता सँगै रहँदाका क्षण मेरा लागि स्वर्णिम छन्,’ मेसीले च्याम्पियन्स लिगमा एक सय गोल पूरा गरेको केही घन्टापछि मरहठ्ठाले डकुमेन्ट्री बनाउँदाको स्मरण गरे, ‘बार्सिलोनामा दुई हप्ता बिताउँदा त्यहाँका विस्वस्तरीय खेलाडीको सरलता, खेलाडी र क्लब अधिकारीबीचको आत्मीयता, अतिथि सत्कार र मेसीप्रति उनीहरूको सम्मानले मलाई खुबै प्रभावित गरेको थियो। छायांकनका क्रममा मेसीको समय पाउन मैले निकै संघर्ष गर्नुपरेको थियो। मेसीको अत्यन्त व्यस्तताका कारण अन्तिम समयमा निकै दबाबका साथ छायांकन गर्नुपरेको थियो।’
प्रकाशित: १० चैत्र २०७४ ०२:५९ शनिबार