८ वैशाख २०८१ शनिबार
शिक्षा

तर्साउन छाड्यो परीक्षाको भूतले

राजधानीकाे बागबजारस्थित शहिद शुक्र माध्यामिक विद्यालय केन्द्रमा एसइर्इअन्तर्गत विहीबार अंग्रेजी विषयकाे परीक्षा दिँदै विद्यार्थी । तस्बिर : नागरिक

काठामाडौं – विगतमा कक्षा १० को अन्तिम परीक्षा आउन लाग्दा विद्यार्थीमा एक प्रकारको त्रास देखिन्थ्यो । स्कुलहरुले पनि विद्यार्थीलाई घोटाईघोटाई तयारी गराउँथे । सबैको एउटै लक्ष्य हुन्थ्यो आफ्ना विद्यार्थीलाई बोर्डमा उत्कृष्ट स्थानमा पार्नु । सरकारले दुई वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गर्न थालेसँगै विद्यार्थीमा त्रास होइन, परीक्षाप्रति उत्साह बढेको छ । यसै वर्षदेखि कक्षा १० मा गणितबाहेक सबै अनिवार्य विषयमा २५ नम्बरको प्रयोगात्मक परीक्षाले पनि विद्यार्थीमा उत्साह थपेको छ।

बिहीबार सुरु भएको एसइईको पहिलो दिन विद्यार्थी निकै उत्साहित भएर अंग्रेजीको परीक्षा दिए  । एपेक्स लाइफ स्कुलकी परिक्षार्थी अनुष्का थापाले ७५ नम्बरको अंग्रेजी परीक्षा निकै राम्रो लेखेको भन्दै खुसी व्यक्त गरिन् । ‘यस वर्षदेखि धेरैजसो विषयमा २५ नम्बरको प्राक्टिकलको व्यवस्थाले राम्रो ग्रेड ल्याउने विश्वास बढेको छ,’ परीक्षा केन्द्रबाट बाहिरिँदै गरेकी थापाले भनिन्, ‘अब एसइई परीक्षा त्रास होइन, विद्यार्थीका लागि उत्साह बनेको हामीलाई महसुस भएको छ।’

ग्रेडिङ प्रणाली लागू भएपछि एसइईमा अनियमितता हुने क्रम न्यून 

अर्की परीक्षार्थी निहारिका जोशीले पनि पास र फेलको तनाव नभएकाले भयरहित वातावरणमा परीक्षाको तयारी गरेको अनुभव सुनाइन् । ‘विगतमा दाइदिदीहरु पासफेलको त्रासले रातभरि पढ्दा पनि परीक्षा केन्द्रमा आत्तिने गर्थे,’ निहारिकाले नागरिकसँग भनिन्, ‘हामीलाई त्यस्तो त्रास भएन । २५ नम्बरको प्राक्टिकलले राम्रो ग्रेड आउने ढुक्क छ।’ 
यस वर्षको एसइईमा चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थी सहभागी छन् । तीमध्ये नियमिततर्फ ४ लाख ५२ हजार ७ सय ८१ परीक्षार्थी छन् जसमा प्राविधिकतर्फ ८ हजार ७ सय ३४ जना छन् । एक्जाम्टेडतर्फ २४ हजार ७१ विद्यार्थी परीक्षामा सहभागी छन्। 

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले बिहीबारको परीक्षा मर्यादित र शान्तिपूर्वक सम्पन्न भएको बताए । उनले ग्रेडिङ प्रणाली लागू भएपछि एसइईमा अनियमितता हुने क्रम न्यून भएको दाबी गरे । ‘बिहीबार केही केन्द्रमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको सूचना प्राप्त भएको छ,’ रेग्मीले नागरिकसँग भने, ‘तराईका एकाध जिल्लाबाहेक अन्यत्र व्यवस्थित रुपमा परीक्षा सम्पन्न भयो ।’ सप्तरी र सिरहाका परीक्षा केन्द्रबाट केन्द्राध्यक्षलाई निष्कासित गरेको खबर मिडियाबाट थाहा पाएको छौं । पुष्टि हुन बाँकी छ।’

परीक्षा उपनियन्त्रक गेहनाथ गौतमले विगतमा चिटको भारी हुने स्कुलमा समेत परीक्षा निकै मर्यादित ढंगले सञ्चालन भएको दाबी गरे । उनी सिन्धुपाल्चोकको भोटेचौरमा रहेको सरस्वती माविमा अनुगमनमा गएका थिए । केन्द्रमा मर्यादित रुपमा परीक्षा सञ्चालन भएको उनले जानकारी दिए। 

प्रकाशित: ९ चैत्र २०७४ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App