८ वैशाख २०८१ शनिबार
कला

फूलचोकीमा कविता महोत्सव

काठमाडौं – बासन्ती पालुवाले हराभरा रहेको फूलचोकी डाँडामा बुधबार कविहरूको ठूलै जमघट रह्यो। उपत्यकाको सबैभन्दा अग्लो डाँडा फूलचोकी डाँडामा कविहरू आन्तरिक पर्यटकमात्र बनेनन्, उनीहरूले यही डाँडामा अन्तर्राष्ट्रिय कविता दिवस पनि मनाए। अन्तर्राष्ट्रिय कविता दिवस मनाउन भेला भएका दर्जन बढी कविले आफ्नो नयाँ तथा पुराना कविता सुनाए। कवि तुलसी दिवसले ‘दसैंमा नजरन्द म’ शीर्षकको कविता सुनाएर सुरु गरेको महोत्सव दिन ढल्दासम्मै कवितामय बन्यो। सशस्त्र द्वन्द्वको दसैं सम्झाउने उनको कवितापछि कवि विमल निभाले ‘के तपाईंलाई सन्चै छ’ शीर्षकको कविता सुनाएर माहौललाई कवितामय बनाए।
सके तिम्रो पहिचान राख्नु
मिठो सँधै मुस्कान राख्नु
लाग्यो भने दारीमा आगो
टिप्दैन जुँगा ध्यान राख्नु ...

ज्ञानुवाकर पौडेलको यो छोटो कविताले थप रौसिए कविगणहरू। प्रगतिशील कविता, प्रेमिल कविता, लैंगिक भावका कवितासँगै छोटा रमाइला कविताले महोत्सवमा रंग जमेको थियो। गोविन्द वियोगीले पनि चिसिँदै गएको फूलचोकीको माहोल तताउने काम छोटो कविताले नै गरे। 
मात लाग्ने बियर नबनाएको भए हुन्थ्यो
बनाइहाल्यो त बियर
तिमीलाई नगनान्हेको भए हुन्थ्यो

उनका रसिक कविताको मेसो तोड्दै कवि राजवले कर्पोरेट कवितामा मजदूरका श्रम र नीरस जीवनको भाव ओतप्रोत पारे।

उपत्यका खाल्डो घामको रापले तातिरहँदा फूलचोकीमा मौसम बदलिभइरहन्थ्यो। डाँडामा घरि सिरसिर चिसो हावा चल्दथ्यो त घरि चरक्क घाम लाग्थ्यो। फूलचोकीका थुम्काथुम्कीमा बसेका कविहरू  तातोचिसोको त्यो मिश्रणमा साहित्यका नौ रस कविताबाट वातावरणमा मिसाउन व्यस्त थिए। कवि विप्लव ढकालले आफ्नो पुरानो यही मेसोमा वाचन गरे।
तीर्थयात्रा गर्न कुनै दिन
मुम्बई सहरमा आइपुग्यौ भने ...
एउटा अँध्यारो झुपडपट्टिभित्र
मेरो बाबुजी !
म तिमीलाई नै पर्खिरहेकी हुनेछु !
यौवन निख्रिसकेका दुई थुँगा फूलहरू
अञ्जुलीमा बोकेर म तिम्रै स्वागतमा
सबैभन्दा ताजा गीत गाइरहेकी हुनेछु
हरियो बत्ती झ्याप्प झ्याप्प !
सेक्सी चुनरी झ्याप्प झ्याप्प !!

श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ लोकतन्त्रपछिको सबैभन्दा चर्चित कविता हो। कविहरूले नै श्रवण मुकारुङलाई यो कविता वाचन नगरी धर दिएनन्।
...मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि आज के भयो मलाई
यो बिसेलाई दशा लाग्यो मालिक! म बौलाएँ।

बुधबार नै जातीय विभेद उन्मूलन दिवस पनि थियो। मुकारुङको कविताले यो दिवसको पनि सम्मान गर्यो।

कविता वाचन गर्नेमा कवियत्री पनि कम थिएनन्। उनीहरूले पनि महिलामुक्तिसँगै विभिन्न भावका कविता सुनाए।

बिन्दु शर्माले पुरुषलाई लतारेर तयार गरेको कविता वाचन गरिन्।  
ओ मेरो सहयात्री 
नभन्नु, तिमी बिनाको मेरो जीवन सपाट थियो भनेर...

अमृता स्मृतिले गरिबी र महिलाको सम्बन्ध खोतल्दै ‘मालिक’ शीर्षकको कविता सुनाइन् भने देवकी तिमिल्सिनाले अनेकोट घटनाको स्मरणमा ‘अजम्बरी अनेकोट’ शीर्षकको कविता सुनाइन् । कार्यक्रममा ज्ञानु पाण्डे, गीता त्रिपाठी, लक्ष्मी माली, गोपाल अश्क, चन्द्र रानाहाँछा, टिका चाम्लिङ, शशी लुमुम्बू, शुक्र राईलगायत चालिस बढी कविले कविता वाचन गरेका थिए। तर महोत्सवमा कवि कविताका कुरामा सीमित रहेनन् सुन्दर उपत्यका र पर्यावरणको संरक्षणमा पनि उनीहरूले छलफल गरे। 

‘पर्यटन विकासका लागि फूलचोकी साहित्य महोत्सव’ नाम दिइएको सो कार्यक्रममा नेपाल मण्डल पर्यटनले संयोजन गरेको थियो। फूलचोकी नमोवुद्ध, नगरकोट हेलम्बू, चन्द्रागिरी जामाचोक, दहचोक थानकोट क्षेत्र सहितका पहाडको सुन्दरतालाई एकै सेरोफेरोमा जोड्दै पर्यटनको विकास गर्न कविहरूले सहमति जनाए। फूलचोकी नमोवुद्ध पर्यटन समितिका संयोजक रविराज अर्यालले फूलचोकी र गोदावरी क्षेत्र एतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको औंल्याए। ‘फूलचोकीमा कविता महोत्सव गरेर साहित्यिक पर्यटनको खुड्किलाको सुरुवात भएको छ,’ उनले भने, ‘कविता र साहित्यमा यहाँको रमणीयताको वर्णन गरेरै पनि संरक्षण र विकासमा सघाउनुहोस।’ नेपाल मण्डल अर्थात उपत्यकाको सुन्दर पर्यटनमालाका रुपमा विकास गर्नका लागि प्रदेश र राष्ट्रिय सभामा समेत आफ्नो सन्देश पुर्याउन जागरुक रहेको उनले बताए। पर्यटनका लागि साहित्य, कला तथा संस्कृतिका अभियन्ता कृष्ण केसीले फूलचोकी उपत्यकाकै सान भएकाले यसको संरक्षण गर्र्नुपर्नेमा जोड दिए। साहित्यकार राम विनयले महोत्सवकै अवसरमा आफ्नो नियात्रा संग्रह ‘झझल्को’ लोकापर्ण गर्न भ्याए। सोही कार्यक्रममा संगीतकार बिबि अनुरागीले आफ्ना गीत सुनाएका थिए। प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, काव्य विभाग प्रमुख डा. अमर गिरीले कविताबाट कविको भावनामात्र हैन वरपरको वातावरण र मनस्थितीसमेत अक्षरमा उतार्न सकिने बताउँदै यस्ता सृजनात्मक कार्यमा कविहरू सक्रिय रहनुपर्ने बताए।

प्रकाशित: ९ चैत्र २०७४ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App