७ वैशाख २०८१ शुक्रबार
समाज

नगरपालिकाको प्रशासकीय प्रमुखको मासिक सुविधा दुई लाख

नगरपालिकाको कार्यकारी चढने सुबिधा सम्पन्न पजेरो र मेयर चढने भारतीय नम्बरको जाइलो गाडी नपाको पछाडी पार्किङ गरेको अवस्थामा ।

रौतहट – रौतहटको एउटा नगरपालिकाको प्रशासकीय प्रमुखले मासिक दुई लाख रुपैयाको सुविधा लिइरहेको देखिएको छ। गढीमाई नगरपालिकाका प्रशासकीय प्रमुख नरबहादुर विकले नगरपालिकाबाट मासिक दुई लाख रुपैया बराबरको सुविधा लिइरहेको देखिएको छ।

प्रशासकीय प्रमुख आफू उपसचिव भएकोले उपसचिव सरहको सुविधा दाबी गर्दै नगरपालिकाबाट आफूले लिएको सुविधा कुनै बढी नभएको बताउँछन्। विकले नगरपालिकाबाट घरभाडा २० हजार, इनधन ३० हजार, गाडी भाडा १ लाख २० हजार रुपैया लगायतको सुविधा लिइरहेका छन्। साथै विकले भान्छे सुविधा लगायतको अन्य खर्चमा समेत गरी मासिक दुई लाख रुपैया नगरपालिकाबाट लिइरहेका छन्।

नगर उपप्रमुख शुभद्रा गुप्तालाई भने यातायात सुविधा दिइएको छैन। “आफू पैदल हिँड्ने तर प्रशासकीय प्रमुख विकले भने मासिक दुई लाख सुविधा लिइरहेका छन्” उपप्रमुख गुप्ताको गुनासो छ। गुप्ताले नगरपालिकाबाट अत्यधिक सुविधा लिइरहेको बताउँदै गृह मन्त्रालयमा काम गरिसकेकोले सोही मोताबिकको सुविधा दाबी गर्दै आएको बताउँछन्।

प्रशासकीय विकले नगरपालिकाको कार्यालयबाट ३० किलोमिटर टाढा चन्द्रपुर बजारमा घरभाडामा लिएर बसेका छन्। हरेक दिन बा ३ च ६९२९ नम्बरको पजेरोबाट दिनहु आवतजावत गर्दा दैनिक १५ देखि २० लिटर डिजल सुविधा लिइरहेका छन्। प्रमुख विकले भाडामा लिएको कोठा व्यवस्थापन गर्न सोफा, दराज, किचेन सामग्री, भाँडाकुँडा, ओछ्यान लगायत किन्न नगरपालिकाबाट सबा दुई लाख रुपैया लिएको स्रोतको दाबी छ।

यसैगरी नगरपालिकाको प्रत्येक वडाध्यक्षलाई चढ्न ११ वटा पलसर मोटरसाइकल किनिएको छ। ९ वडा रहेको गढीमाई नगरपालिका वडाध्यक्षका लागि ९ र दुईवटा मोटरसाइकल कर्मचारीको लागि किनिएको स्रोतको भनाइ छ। नगरपालिकाको कर्मचारी तथा पदाधिकारीको अनुगमन र निरीक्षणको नाउँमा इनधनमा खर्च ह्वात्तै बढेको छ। नगरमा अनुगमन गरेको भन्दै कर्मचारी तथा पदाधिकारीको नाउँमा डिजल र पेट्रोलको निकासा धमाधम भइरहेको छ।

अन्य नगरपालिकाका प्रशासकीय प्रमुखले मोटरसाइकल चढ्दा गढीमाई नगरपालिकाका प्रशासकीय प्रमुख पजेरो चढ्छन्। जिल्लामा अन्य कुनै पनि स्थानीय तहमा वडाध्यक्षको लागि सबारी साधन र इन्धनको सुविधा नदिइए पनि गढीमाई नगरपालिकाको वडाध्यक्ष र कर्मचारीले ठूलो सुविधा लिँदा जनगुनासो बढेको छ।

नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले भने नगरपालिकाबाट कुनै निर्णय नभए पनि प्रशासकीय प्रमुखले सुविधा लिएको स्वीकार गरेका छन्।

प्रकाशित: ८ चैत्र २०७४ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App