coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

चाडबाड, देखासिकी र खर्च

हाम्रो समाजमा एउटा भनाइ प्रसिद्ध छ– साउने संक्रान्तिले ठूला चाडबाड आएको संकेत गर्छ र माघे संक्रान्तिले सकिएको संकेत गर्छ। यस अर्थमा हामी यो वर्षका ठूला चाडबाड मनाउन थालिसकेका छौँ जुन क्रम अबका पाँच महिनासम्म चल्छ। साउने संक्रान्तिदेखि गाईजात्रासम्मका चाड हामीले यो वर्ष मनाइसकेका छौं भने तीजदेखि छठसम्म मनाउन पैसा र सामानको जोहो गर्न थालिसकेका छौं। केटाकेटी नयाँ लुगा र मीठो खानाको चर्चा स्कुलमा गर्न थालिसकेका छन् भने कर्मचारी बढेको तलब र दशैं खर्चले के के गर्ने भनेर हिसाब। हामीमध्ये कतिपय लामो बिदाको सदुपयोग गर्न यात्राको चाँजोपाँजो मिलाउन थालिसकेका छौं भने कतिपय घर शृंगार गर्न। ठूला चाडबाडको प्रतीक्षामा विदेशमा रहेका हजारौं नेपाली स्वदेश आउन यात्राको तयारी मात्रै हैन, टिकटसम्म काटेर बसेका छन्। यस अर्थमा पनि आगामी केही महिना पूरै समाजका लागि अत्यन्त महत्वपूर्ण छ।

चाडबाड भन्नेबित्तिकै हामी पूजापाठ, परमेश्वरको सम्झना, मीठो खाना, राम्रो लुगा, यात्रा, आफन्तहरुसँगको भेटघाट तथा मनोरञ्जन सम्झन्छौँ। तर हरेक चाडबाडका आफ्नै विशिष्टखालका सांस्कृतिक मूल्य–मान्यता छन्। हामी नयाँ वर्ष सुरु हुनेबित्तिकै भित्तामा झुन्ड्याइएको वार्षिक क्यालेन्डरमा चाडबाड र जात्राहरुमा आँखा लगाउँदै योजना बनाउन थाल्छौँ। अझ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरु यो मामिलामा धेरै अगाडि छन्।

हामीकहाँ मनाइने केही पर्व साना छन् भने केही ठूला। चाडको आकार जत्रो भए पनि खुसीसाथ मनाउनका निम्ति महत्वपूर्ण दुई तत्व भनेका 'परिवार र पैसा' नै हुन्।

हरेक समाजमा सबैजसो चाडबाडले देवता र मानिसको सम्बन्ध नवीकरणको काम गर्छन्। हाम्रा सबैजसो चाडबाड देवता वा धर्मसँग सम्बन्धित छन्, चाहे त्यो दशैं होस् वा तिहार, माघे संक्रान्ति होस् वा जनैपूर्णिमा। हिन्दु धर्ममा मात्र हैन, इसाई धर्मावलम्बीको क्रिसमस र मुस्लिमहरुको इद पनि ईश्वरकै भक्तिमा आधारित चाड हुन्।

हामीकहाँ मनाइने केही पर्व साना छन् भने केही ठूला। चाडको आकार जत्रो भए पनि खुसीसाथ मनाउनका निम्ति महत्वपूर्ण दुई तत्व भनेका 'परिवार र पैसा' नै हुन्। घरभित्रका लागि यी दुई तत्व महत्वपूर्ण भए पनि देश र समाजका लागि भने अन्य परिस्थितिजन्य कुराले पनि महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्। हिन्दु–धर्मशास्त्रले चाडबाड र परम्परा देश, काल, परिस्थितिअनुसार मनाउनुपर्छ भनेर स्पष्ट भनेको छ। अरुको देखासिकी गरेर वा ढोंग गरेर चाडबाड मनाउनु समाज र शास्त्र दुवैको विपरित छ।

नागपञ्चमी, जनैपूर्णिमा, गाईजात्रा, कृष्णाष्टमी, तीज, दशैं, तिहार, छठ, इद यो समयमा मनाइने मुख्य चाडबाड हुन्। हामीकहाँ जातजातिविशेषले र कुनै क्षेत्रमा मात्रै मनाउने चाडबाड पनि थुप्रै छन्। तर मुख्य गरेर दशैँ र तिहार सबैजसो जातजातिले मनाउने गर्छन् र लामो समयदेखि चर्चामा रहन्छ। यो चाडमा कार्यालय पनि धेरै दिन बिदा हुने भएकाले मानिसलाई यात्रा गर्न पनि सजिलो हुन्छ। अरु चाडबाड भने मनाउने दिन वा अघिल्लो दिनमात्र चासो बढ्छ।

दशैँ–तिहार विभिन्न वर्गका मानिसलाई विभिन्न समयमा लाग्छ। विद्यार्थीलाई दशंै घटस्थापनाको दिन विद्यालय वा कलेज बिदा भएदेखि लाग्छ भने कर्मचारीका परिवारलाई पेश्की तलब आएको दिनदेखि। खसी–बोका व्यापारीले करिब सात/आठ महिनाअगाडिदेखि नै तयारी गर्छन् भने कपडा व्यापारीले पाँच महिनाअगाडिदेखि। विदेशमा रहेका आफन्तहरु आएको दिनदेखि कसैलाई दशैं लाग्छ भने देवीका मन्दिरका पुजारीलाई नवरात्रिभर नै लाग्छ।

हामी पछिल्लो समयमा चाडबाड मनाउने प्रक्रियामा धेरै उच्शृङ्खल बन्दै आएका छौं। अब त्यसलाई सच्याउने बेला भएको छ। हरेक चाडपर्वका बारेमा कुनै न कुनै शास्त्रमा त्यो चाड मनाउने समय, कारण, विधि आदिबारे उल्लेख हुन्छ। तर समयसँगै हामीले त्यसमा विविधता ल्यायांै, त्यसलाई अपभं्रश गर्‍यौँ। दशैं भनेको पारिवारिक मेलमिलाप, पूजापाठ, मनोरञ्जन गर्ने र अग्रजसँग आशीर्वाद लिने–दिनेे चाड हो। तर केही वर्षदेखि हामीले त्यसलाई महँगा र नयाँ लुगा लगाउने, तास खेल्ने, रक्सी खाने चाडका रूपमा परिवर्तन गरिरहेका छौँ। यसको मुख्य कारण अध्ययनको कमी र सहरी क्षेत्रमा बढेको आम्दानी र देखासिकी गर्ने होडबाजी हो। यही कारण दशैं वर्षभरमा सबैभन्दा धेरै रक्सी खपत हुने समय हुन पुगेको छ। अझ कर्पोरेट क्षेत्रमा त एक अर्कालाई पठाइने उपहारमा समेत रक्सी सबैभन्दा धेरै हुने गरेको छ। यो विकृतिको एउटा उदाहरण हो।

चाडबाडको अर्कोे विकृतिको पराकाष्ठा देखिन्छ तीजमा। एक दशकअघिसम्म तीज परम्परागत तरिकाले मनाइन्थ्यो। व्रतको एक दिनअघि दर खाने, व्रतको दिन निराहार बस्ने, शिवजीको पूजा गर्ने, शिव भजन गाउने र ऋषि पञ्चमीको दिन सप्तर्षिको पूजा गर्ने शास्त्रमा उल्लेख छ। अहिले तीज कति विकृत छ भन्ने हामी सबैलाई थाहा छ। यो चाड नयाँ डिजाइनका लुगा र गहना किन्ने,  देखाउने, महिनौंअगाडिदेखि दर खाने निहुँमा पार्टी प्यालेस वा घरमा भेला हुने र परम्पराको मूल मर्म बिर्सने काम भइरहेको छ। सप्तर्षिको पूजा गर्ने र निराहार (पानी पनि नपिइकन) व्रत बस्ने परम्परा त लोपोन्मुख छ। तीजमा बन्ने गीतहरुले पनि तीजलाई विकृत बनाइरहेका छन्। पानीसमेत नपिइ व्रत बस्नु स्वास्थ्यका कारण हितकर छैन भने त्यसमा सुधार गर्दा समाजले सजिलै स्वीकार्ला तर तीजको नाममा लाखौँ रुपियाँ लुगा र खानामा खर्च गर्दै परम्परा विकृत पार्ने प्रवृत्ति कसैलाई पनि स्वीकार्य हुन सक्दैन। समाजले स्वीकार्नुपर्ने भनेको रुढिवादीका नाममा भएका गलत काम हो तर चाडबाडको नाममा जुन विकृति फैलिँदैछ, त्यसको निराकरणमा महिला नै लाग्नुपर्छ। अझ संस्थागतरूपमा हुने यस्ता कार्यक्रम त बुझ्नेले बहिस्कार गर्नुको बिकल्प नै छैन। नत्र हामीले हाम्रा सन्ततिलाई के सिकाउँदैछौँ? विभिन्न संघ/संस्थाका नाममा तीज पार्टी गर्दै पैसा उठाएर नाचगान गर्नु/गराउनु पवित्र पर्वको उपहास गर्नु हो।

गत वर्षको तीजमा एक पारिवारिक साथीले भनेको कुरा प्रायः सम्भि्करहेको हुन्छु– 'अब त लगालग १३ वटा तीजका कार्यक्रम छन्, यसका लागि मैले अलगअलग लुगा र गहना तयार पार्दैछु। तीमध्ये केही कार्यक्रम आफन्तका घरमा, पार्टी प्यालेस र तारे होटलमा पनि छन्। त्यसपछि एक दिन सय जनाजति आफन्त र साथीहरु बोलाएर मैले कार्यक्रम गर्नुपर्छ।' तीजका नाममा भित्रिएको विकृतिको नमुना योभन्दा अर्को के हुन सक्ला र! यो भनाइ अचेल काठमाडौँ र बाहिर पनि हरेक घरमा सबैले सुने/भोगेको तथ्य हो। यहाँ घरका पुरुषको कुनै कुरा सुनिन्न तसर्थ कतिपय पुरुष यो विषयमा बोल्न पनि चाहँदैनन्। तर कुरा बुझेर हो वा के हो तिनै साथी यो वर्ष भन्दैछिन्– यो वर्ष म यस्ता विकृतिमा सामेल हुन्न।' सबैले यसैगरी कुरा बुझे कति राम्रो हुन्थ्यो।

शिवजीको भजन गाउने परम्परा तोड्दै आधुनिकताका नाममा छाडाखालका गीतलाई तीजसँग जोडिएको छ। कसले र किन भित्रायो यो विकृति? उत्तर अनुत्तरित नै छ। यसमा सुधार आउनु जरुरी छ र त्यो काम अब सुरु गरिहाल्नुपर्छ। नत्र हामीले हाम्रा सन्ततिलाई चाडबाड र पर्वका अवशेष पनि छाड्न सक्ने छैनौँ। यस्तो हुनुका कारण हामीमा चाडबाडको अर्थ र महत्वको ज्ञानको अभाव र सिक्न नचाहने प्रवृत्ति जिम्मेवार छ। समाजले यो कुरालाई सधंैँ यसै गरी ग्रहण गर्न सक्दैन भन्ने कुरा अब बुझ्नु जरुरी छ। चाडबाड मनाउने तरिकामा सुधार हुनैपर्छ, यसमा कुरीति छन् भने पन्छाउँदै पुरानै र सरल बाटोमा लाग्नैपर्छ।

तीजमा विकृति ल्याउने पहाडिया समुदायले नेवारी समुदायसँग चाडबाड मनाउने प्रक्रिया सिक्नु जरुरी छ। ५० वर्षअगाडि इन्द्रजात्रा, गाईजात्रा, बिस्केटजात्रा तथा अन्य जात्रा नेवारी समुदायले जसरी मनाउँथ्यो आज पनि त्यसैगरी मनाउँदैछ। न त त्यसमा तडकभडक देखिन्छ न विकृति नै। मात्र परिवर्तन भनेको हिजो सुरुवाल लगाएर तानिने रथ अहिले जिन्स पाइन्ट लगाएर तान्छन्, जुन समयसापेक्ष हो। अझ आफ्नो जात्रामा आफ्ना परिवार र छोरीलाई समेत छोरासरह सहभागी गराएर त्यो समुदायले छोरा–छोरी बराबर हुन् भन्ने सन्देश दिएर उदाहरणीय काम गर्दैछ।

तीजमात्रै हैन, दशैं र तिहार जस्ता अत्यन्त धार्मिक महत्वका चाडलाई पनि हामीले आर्थिकरूपमा हेरेर विकृति ल्याएका छौं। कसले कस्तो लुगा किन्यो, कत्रो खसी किन्यो र कति दक्षिणा दियो भनेर लेखाजोखा हुन थालेपछि अब के नै बाँकी रह्यो र? दशैंको महत्व दक्षिणामा हैन आशीर्वादमा हो, खसीको तौलमा हैन देवीको पूजामा हो र महँगो लुगामा हैन चोखो लुगामा हो भन्ने सन्ततिलाई सिकाउन अब ढिला भइसकेको छ।

अब हामी आफैँले चाडबाडका नाममा फजुल खर्च र मनाउने तरिकामा आएको विकृति कम गर्न नियन्त्रण गर्नुपर्छ। सामाजिक जीवनलाई सरलीकरण गर्ने दिशामा न सरकार न त कानुनले नै केही गर्न सक्छ। यो आफैँबाट हरेकले सुरु गर्नुपर्ने अभियान हो। यो काम हामी सबैको घरबाट सुरु हुनुपर्छ र महिलाको अग्रसरतामा हुनुपर्छ। परिवर्तनको अभियानमा जो सामेल हुन चाहँदैन, उसले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ आफ्ना सन्ततिको व्यवहारमा आएको विकृतिका कारण।

चाडपर्वलाई परमात्मासँगको आत्मसाक्षात्कार गर्ने अवसरका रूपमा लिन सकियो भनेमात्र हामी सबैका निम्ति चाडबाड प्रभावकारी हुन सक्छन्, शास्त्रले पनि यसै भन्छ। त्यसो गर्न सक्यौँ भने हाम्रो जीवन सरल बन्दै जानेछ। र, हाम्रो समाज पनि समुन्नत बन्नेछ। र, परमात्मासँग साक्षातकार गर्न भड्किलो बन्नुपर्दैन किनकि परमात्मा आफू सरल छन् र अरुलाई पनि सरल देख्न चाहन्छन्।

प्रकाशित: ६ भाद्र २०७३ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App