coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारतको केन्द्रीय बैंकमा पटेल नयाँ गभर्नर

नयाँदिल्ली- सरकारले केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबिआई) को नयाँ गभर्नरमा उरजित पटेललाई आगामी तीन वर्षका लागि नियुक्त गरेको छ। मन्त्रिपरिषद सचिवको नेतृत्वमा रहेको 'फाइनान्सियल सेक्टर रेगुलेटरी एपोइन्टमेन्ट सर्च कमिटी' को सिफारिसपछि सरकारले पटेललाई शनिबार नयाँ गभर्नर नियुक्त गरेको हो।

गभर्नर नियुक्त हुनुअघि पटेल डेपुटी गभर्नर थिए। आरबिआईका चारमध्ये पटेल पनि एक डेपुटी गभर्नर थिए। ५२ वर्षीय उनी वरिष्ठ अर्थशास्त्री, परामर्शदाता तथा बैंकर हुन्। उनलाई गत जनवरीमा सरकारले थप तीन वर्षका लागि डेपुटी गभर्नरमा पुनः नियुक्त गरेको थियो। उनले सन् २०१३ देखि केन्द्रीय बैंकको मौद्रिक नीति विभागको नेतृत्व गर्दै आएका थिए।

पटेलले वर्तमान गभर्नर रघुराम राजनलाई विस्थापित गर्नेछन्। राजन अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख अर्थशास्त्री पनि हुन्। राजनले तीन वर्षे एक कार्यकाल पूरा गरेपछि २०१६ सेप्टेम्बर महिनाबाट लागू हुने गरी गभर्नर पदबाट बाहिरिने र अध्यापनमा फर्कने घोषणा गत जुन महिनामा गर्दा वित्तीय बजारमा हलचल भएको थियो।

गभर्नर राजनका 'दाहिने हात' मानिने पटेलले नेतृत्व गरेको एक समितिले थोक मूल्यबाट मुद्रास्फीति मापन गर्ने परम्परालाई परिवर्तन गरी उपभोक्ता मूल्यबाट मापन गर्ने नयाँ मापदण्ड कार्यान्वयन गरेको थियो। यसलाई वित्तीय बजारमा कोसेढुंगो मानिएको छ। त्यसैगरी भारतले सन् १९९१ मा अर्थतन्त्र खुला गरेयता पटेलले प्रभावकारी मौद्रिक नीति सुधारमा पनि उल्लेख्य भूमिका खेलेका थिए। 

सन् १९६३ अक्टोबर २८ मा जन्मिएका पटेलले १९८६ मा अक्सफोर्ड विश्वविद्यालयबाट एमफिल गरेका थिए भने १९९० मा याल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए। उनले अन्तर्राष्ट्रिय मुद्रा कोषमा १९९० देखि १९९५ सम्म काम गरेका थिए। त्यसबेला उनले अमेरिका, भारत, बहामास र म्यानमार डेस्क हेरेका थिए।

पटेल डेपुटी गभर्नरबाट गभर्नर हुने आठौं व्यक्ति हुन्। केन्द्रीय बैंकको प्रमुख कार्य मानिँदै आएको मुद्रास्फीति नियन्त्रणको विज्ञका रूपमा पटेललाई लिने गरिन्छ। सरकारले उपभोक्ता मूल्य सूचकांकलाई आधार मानेर दुई प्रतिशत तल वा माथि हुने गरी मुद्रास्फीति चार प्रतिशतभन्दा माथि जान नदिने लक्ष्य लिँदै आएको छ।

पटेल विगतमा भारतीय अर्थ मन्त्रालयअन्तर्गतको इकोनोमिक अफेयर्स विभागको सल्लाहकार र बोस्टन कन्सल्टिङ ग्रुपका सल्लाहकार थिए। त्यसबाहेक उनी ब्रुकिङ इन्स्टिच्युसनका वरिष्ठ गैरआवासीय फेलो पनि थिए।

आरबिआईका वरिष्ठ अधिकारीहरूका अनुसार पटेलालाई १९९६/९७ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको ऋण तथा मुद्रा बजारको विकासका लागि सुझाव दिन सल्लाहकारका रूपमा छनोट गरेको थियो।

पटेलले निजी क्षेत्रसँग मिले पनि उल्लेखय काम गरेका थिए। उनी रिलायन्स इन्डस्ट्रिजको बिजनेस डेभलेपमेन्ट प्रेसिडेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीका कार्यकारी निर्देशक र गुजरात स्टेट पेट्रोलियम कर्पोरेसनका सञ्चालक सदस्य थिए।

त्यसैगरी उनले विभिन्न केन्द्रीय तथा राज्य सरकारका समितिमा बसेर पनि काम गरेका थिए। ती समितिले प्रत्यक्ष कर, बजार अध्ययन, दूरसञ्चार, उड्डयन, ऊर्जा र पेन्सनजस्ता पूर्वाधारमा काम गर्ने प्रधानमन्त्रीको कार्यदलमा रहेर पनि उनले काम गरिसकेका छन्।

प्रकाशित: ६ भाद्र २०७३ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App