८ वैशाख २०८१ शनिबार
अर्थ

फेवा सिरानमा पदयात्रा रुट

पोखरा फेवाताल सिरानतिरको पदयात्रा रुटबाट देखिएका दृष्य । तस्बिर सौजन्यः सुशील पौडेल

पोखरा – फेवाताल, अन्नपूर्ण हिमशृंखलाको खुलेको दृष्य, अनि सराङकोटबाट हुने प्याराग्लाइडिङ उडानको परिकल्पना गर्दै गाउँलेको वास्तविक जीवन बुझ्दै पदयात्रा गर्न चाहने पर्यटकलाई खुसीको खबर–फेवाताल सिरान फेरो लगाएर पदयात्रा गर्न पाइने भएको छ।

पोखरा आएका पर्यटकलाई छोटो अवधिमा ताल, हिमाल, प्रकृति र गाउँको वास्तविक दैनिकी बुझ्ने गरी पदयात्रा गर्न पाइने गरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले फेवा सिरानको रुटको प्रवद्र्धन थालेको हो। पोखरा नजिक भएर पनि यो पदयात्राको महत्व बुझ्न नसक्दा पर्यटकको बसाइँ अवधि बढाउन नसकेको व्यावसायीको भनाइ छ। 

टान क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीका अनुसार बारीमा झुलिरहेको खेतीबाली, वनजंगलमा चराचुरुंगीको आवाज, गाउँलेको रहनसहन बुझ्दै हिमाली शृंखला हेरेर पदयात्रा गर्न यो रुट निकै नै उपयोगी रहेको छ। अधिकारीका अनुसार छोटो अवधिको पदयात्रालाई सम्भाव्य रुपमा यो रुटको प्रवद्र्धन गरिनेछ।

उनका अनुसार फेवातालको मुहान पामेबाट सुरु भई चापाकोट, घडेरी, पलैचे हुँदै भुम्दीकोटसम्मको करिब आठ किलोमिटर दुरीलाई पदयात्रामार्गको रुपमा सञ्चालन गर्ने तयारी भएको छ। ‘वास्तविक गाउँको अवस्था नियाल्दै फेवाताल, हिमाली शृंखला, पञ्चासेतिरको जंगल अवलोकन गरेर पदयात्रा गर्न पाइन्छ,’ अधिकारीले भने, ‘पोखरा आएर छोटो अवधिको पदयात्रा गर्न चाहनेलाई यो गतिलो पदमार्ग हुनेछ।’ 
‘यो पदमार्ग चल्तीको होइन। तर, बत्तीमुनिको अध्यारोमा परेको हो,’ अधिकारीले भने, ‘पूर्वतिर फर्किदा फेवाताल र उत्तरतिर हेर्दा हिमाली शृंखला देखिन्छ । एकरात दुई दिनको टे«किङ चलाउन सकिन्छ। यसलाई पञ्चासेतिर मोड्न सकियो भने अवधि बढाउन सकिन्छ।’ त्यही रुटमा टानले शनिबार एकदिने खोज तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको थियो। लामो तथा छोटो दुरीको पदयात्रा खोज्ने क्रममा टानले छोटो दुरीको रुपमा यो रुटको यात्रा गरेको उनले बताए।

त्यही रुट भएर पञ्चासेसम्म जोड्न सके अवधि बढाएर तीन रात चार दिन पु¥याउन सकिने उनले बताए। त्यहाँबाट फर्केर मर्दी हिमालमा पनि जोड्न सकिने उनले बताए। ‘तत्काल पदयात्रामा जानेलाई पनि बस्न खानलाई समस्या छैन। इको टुरिजमको अवधारणाअनुसार यसलाई प्रवद्र्धन गर्न सकिन्छ,’ उनले भने, ‘पोखराबाट नजिक भएर पनि हामीले यसको महत्व बुझेका रहेनछौं। बल्ल रुटबारे थाहा भयो।’
बस्ती हुँदै हिड्डुल गर्न पाइने भएकाले यो रुट निकै नै सुरक्षित पनि छ। ‘वास्तविक कृषिप्रधान देशको अनुभव गर्न सकिन्छ। पदमार्गमा पर्ने खेतबारीको हरियाली हेरेर पदयात्रा गर्न पाइन्छ,’ उनले भने, ‘विदेशी पदयात्रीका लागि त्यही पनि नौलो हुन्छ।’ रुट सञ्चालन गर्नका लागि त्यस क्षेत्रका बासिन्दालाई आवश्यक प्रशिक्षण दिलाउने र पर्यटक पठाउने टानको तयारी छ। पदयात्रामार्गमा ठाउँठाउँमा संंकेत बोर्ड राखेर नक्सामा पनि संलग्न गराइने टानको भनाइ छ।

अहिलेसम्म पर्यटन व्यावसायीले खाली हिमाली क्षेत्रको मात्र पदयात्रा रुटमा विदेशीलाई पठाउँदै आएपनि अब गाउँको वास्तविक पदयात्रा गराउने उनले बताए। ‘निकै नै छायाँमा परेको रहेछ । यसलाई उकास्न सकिन्छ। परिचय नभएको रुट हो,’ अधिकारीले भने, ‘हामीले पनि यो रुटको बारेमा बल्ल बुझ्यौ। अब पोखरा आएर छोटो अवधिको पदयात्रा गर्न चाहनेलाई यो गतिलो रुट हुन्छ। हामीले त्यही अनुसार यसको प्रवद्र्धन पनि गर्छौ।’

पदयात्रामा आउने पर्यटकको बसाइँ लम्ब्याउनको लागि आसपासका यस्ता रुट प्रवद्र्धन गर्ने योजना टानले अघि सारेको पनि उनले बताए। ‘पुराना, चल्तीका र साहसिक मानिएका रुट सबै मोटरबाटोले ध्वस्त पारिसके, तर, अब गाउँका यस्ता रुटको प्रवद्र्धन गर्दा गाउँलेले पनि फाइदा पाउँछन्, हामी व्यावसायीले पनि पर्यटक घुमाउन सक्छौ,’ अधिकारीले भने। उनका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेपनि  पदयात्रा मार्गमा मोटर पुगेपछि चल्तीका हिमाली क्षेत्रका रुट संकटमा पर्न थालेका छन्। उनका अनुसार आठ किलोमिटर दुरीको पदयात्रा अवधि पाँच घन्टामा पूरा हुन्छ।

पदयात्राका क्रममा नेपाली संस्कृति, ग्रामीण भेषभुषा र गाउँले घरलाई पर्यटकले नजिकबाट हेर्न पाइने पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले बताए। ‘निकै नै राम्रो पदमार्ग रहेछ। एकदिनमा पुगेर फर्किने भन्दा पनि एकरात र दुइदिनको प्याकेज उपयुक्त हुन्छ,’ शर्माले भने, ‘बजारबाट नजिक भएर पनि ओझेलमा परेको रुट रहेछ। केही पूर्वाधार बनाएर पदमार्ग सञ्चालन गर्ने हो भने त्यसले स्थानीयलाई काम र दाम दुवै दिन्छ।’ उनका अनुसार पदमार्गमा ठाउँठाउँमा बिसौनी, पानीको धारा रहेकोले शौचालय आवश्यक छन्। ‘घरमा बस्दा त सबै सुविधा रहेछन् । तर, पदयात्राका बेला चाहिने केही पूर्वाधार थप्नुपर्छ,’ शर्माले भने।

पर्यटन बोर्ड पोखराका प्रमुख  सुर्य थपलियाले पनि नेपालमा पदयात्रीको संख्या बर्सेनि बढ्दै गएको अवस्थामा महानगरभित्रकै पदमार्ग प्रवद्र्धनको पर्खाइमा रहेको बताए। ‘दुर्गमतिर पहिल्यै ध्यान दिइयो । तर, कतिपय पोखरा बजार नजिकका रुट निकै ओझेलमा परेका छन्,’ थपलियाले भने, ‘बजारसँग नजिकका रुटमा पाहुना पठाउन सकियो भने त्यसले पोखरा आएका पर्यटकको बसाइँ अवधि लम्ब्याउन सघाउँछ ।’ छोटो दुरीको पदयात्रा र हाइकिङ रुटमा पनि यसलाइ प्रवद्र्धन गर्न सकिने उनले बताए। 

विश्व पर्यटन बजारमा नेपालको पदमार्गको प्रचार–प्रचारका कारण पर्यटक आगमन बढ्दै गएकोमा नयाँ रुट पहिचानमा ध्यान दिनुपर्ने उनले बताए। ‘सबै पदयात्रा रुट लामो हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘छोटो दुरीमा पनि पर्यटक पठाउन सकिन्छ। तर, त्यहाँ आवश्यक पूर्वाधार बनाउन जरुरी छ।’ 

प्रकाशित: ८ चैत्र २०७४ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App