८ वैशाख २०८१ शनिबार
अर्थ

फेन्सी सामानमा चरम कालोबजारी

काठमाडौं- व्यापारीले कति नाफा राखेर सामान बेच्छन् होला? १०, २०, ५०, १००, ५०० वा हजार प्रतिशत?होइन, फेन्सी सामान बेच्ने व्यापारीले ५ हजार प्रतिशत नाफा राखेर उपभोक्ता लुट्ने गरेको तथ्य फेला परेको छ। कालोबजारी र महँगी नियन्त्रण गर्न आपूर्ति मन्त्रालयको नेतृत्वमा सुरु भएको बजार अनुगमनका क्रममाचरम कालोबजारी गर्दै ५ हजार प्रतिशतसम्म नाफा लिएको फेला परेको हो।

आपूर्ति मन्त्रालयका उपसचिव लवराज जोशी नेतृत्वको टोलीलेगरेको अनुगमनमा ५० गुणासम्मधेरै रकम लिएर सामान बेचेको पाएपछि सरकारी अधिकारी चकित परेका छन्। महाराजगन्जको सेलवेज डिपार्टमेन्ट स्टोरले २४ रुपैयाँ खरिद मूल्य रहेको पेटीलाई १ हजार २ सय रुपैयाँमा बेचेको मन्त्रालयले जनाएको छ। फेन्सी पसलहरुले हजारौं प्रतिशत नाफा लिएर उपभोक्ता ठगेको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्द रेग्मीले बताए। 'दैनिक उपभोग्य वस्तुको तुलनामा फेन्सी सामान रलत्ताकपडामा अचाक्ली धेरै मूल्य लिने गरेको पाइयो,' रेग्मीले भने, 'फेन्सी पसलले ब्रह्मलुट गर्ने गरेको भेटेपछि कारबाहीअघि बढाएका छौं।'

हजारौं प्रतिशत नाफा लिएर बेच्ने सेलवेज डिपार्टमेन्ट स्टोरलाई कारबाही गर्न मन्त्रालयले प्रक्रिया सुरु गरेको छ। सरकारले अधिकारीले सधैं दैनिक उपभोग्यवस्तु अन्तर्गत पानी, औषधि, मिठाइ, मासु, खाद्यान्न, पेट्रोलियम पदार्थ, दूध डेरी, तरकारी, फलफूल, होटल लगायतमा अनुगमन गर्दै आएका थिए। पछिल्लोपटक फेन्सी लत्ताकपडा रब्रान्डेड सामान बेच्ने आउटलेटमा अनुगमन सुरु गरिएको छ। मनपरी मूल्य निर्धारण गरेर बेचेको गुनासोको आधारमा सर्वसाधारणले प्रयोग गर्ने लत्ताकपडासहितअनिवार्य आवश्यकताकाफेन्सीमा निगरानी बढाएको मन्त्रालयले जनाएको छ।

पुरुष तथा महिलाले प्रयोग गर्ने कम मूल्यका कपडामा व्यापारीले खरिदको तुलनामा धेरै गुणा भाउ तोकेर कालोबजारी गर्ने गरेका छन्। 'ब्रान्डेड' सामानको बहानामा महँगो मूल्य निर्धारण गरेर बेचे पनि सरकारी अधिकारीलेत्यत्ति ध्यान नदिएको उपभोक्ताको गुनासो छ।

३ सय ७५ रुपैयाँको पाइन्ट २ हजार ६ सय १०, आठ सय ५०को चस्मा ४ हजार ४ सय ५० रुपैयाँ बिक्री गरिरहेको भेटेको अनुगमनमा संलग्न उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए। 'खरिद र बिक्री मूल्यको अन्तर हजारौं प्रतिशत धेरै भेटियो,'तिमिल्सनाले भने, 'सरकारी निकायले आँखा नपुर्‍याउँदा मनपरी गरे।' दैनिक उपभोग्य वस्तुको तुलनामा फेन्सी कपडामा मनोमानी रकम लिने गरेकोले यसलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनले बताए। 'विलासी सामानमा ध्यान नदिए पनि साधारण उपभोक्ताले दैनिक रुपमा प्रयोग हुने कपडामा ध्यान दिनुपर्छ,' उनले भने।

खुला बजारमा व्यापारको सिद्धान्त अनुसार खरिद मूल्य, भाडा, बिग्रिएर जाने सामान, ज्याला, नाफाको प्रतिशत अनुसार बिक्री मूल्य तय गर्नुपर्ने भए पनि यसमा ध्यान नदिई मनपरी मूल्य तोक्ने गरेका छन्।

अचाक्ली मूल्य लिएर सामान बेच्ने व्यापारीले होलसेल व्यापारीले बिल नदिने र खरिद मूल्य महँगो परेको बहाना गर्ने गरेका छन्। तर, अधिकांश व्यापारीचर्को मूल्यमा सामान बेच्ने गरेको स्वीकार गर्छन्। उपभोक्ता हेरेर मूल्य निर्धारण गर्ने गरेको सिभिल मलका एक व्यवसायीले बताए। 'फाट्टफुट्ट आउने ग्राहकबाटै भाडासहित नाफा पनि लिनुपर्छ,' ती व्यवसायीले भने, 'थोरै बेचेर धेरै नाफा कमाउने फेन्सी व्यापार हो।' व्यापारीले सुरुमा मनपरी मूल्य तोक्ने अनि मोलमोलाइ गरेर घटाएको बहाना समेत गर्छन्।

अनुगमनलाई विविधीकरण गरेको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ। लत्ताकपडा सहित फेन्सी सामानमा चरम कालोबजारी भएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए। 'कतिपय व्यवसायीले भन्सारमा कम मूल्यांकनगराएर समेत ल्याउने गरेका छन्,' उनले भने, 'त्यो भनेर सुख पाइँदैन। उपभोक्ताको हित विपरीत गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छ।' उद्योगको उत्पादन मूल्य, ढुवानीपछि कति नाफा लिन पाइने यकिन व्यवस्था नहुँदा मनपरी गरेको उनी बताउँछन्। '२० प्रतिशतभन्दा धेरै नाफा राखे कालोबजारी हुन्छ,' उनले भने, 'फेन्सी सामानमा निकै धेरै फाइदा लिइरहेका छन्।'

खुला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य सरकारले अनुगमन गर्दै आएको छ। कम आम्दानी भएका उपभोक्ताले प्रयोग गर्ने लत्ताकपडामा पनि चासो दिनुपर्ने सर्वसाधारणको माग छ। प्रधानमन्त्री पुष्पकमल दाहालले महँगी र कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएपछि मन्त्रालयले अनुगमन तीव्र पारेको छ। एकै दिन दर्जनभन्दा बढी टोली बनाएर बजार पठाउन सुरु गरेको आपूर्ति मन्त्रालयका सचिवश्रीधर सापकोटाले बताए। 'उपभोक्ताको हितमा काम गर्न हामी लागिपरेका छौं,' सापकोटाले भने, 'बजारमा अभाव नहोस् भन्ने हाम्रो चाहना हो।'

प्रकाशित: ६ भाद्र २०७३ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App