७ वैशाख २०८१ शुक्रबार
समाज

‘पदयात्रामा एक्लै जाँदै नजानू’

पोखरा फर्केपछि नागरिक दैनिकको कार्यालयमा आएकी कोरियन पदयात्री आफ्नो अनुभव सुनाउँदै । तस्बिर: उमेश पुन/नागरिक

म अहिले २६ वर्षकी भएँ । म कोरियामा कर र कानुनी क्षेत्रमा काम गर्छु । मलाई घुमघाम निकै नै मन पर्छ । म अहिले पनि जागिरमै छु । तर, बिदा लिएर घुम्न आएकी छु । म पोहोर पनि नेपाल आएकी थिएँ । तर, पोहोर समय अभावले गर्दा पदयात्रामा गएकी थिइनँ । पछिल्लो केही समय म भारतमा बसेर हिन्दी भाषा पनि सिकेकी छु । त्यसले मलाई नेपाली भाषा केही बुभ्mन सघाएको छ । 

‘पदयात्रामा एक्लै जानु हुने रहेनछ भन्ने सिकाएको छ । सकेसम्म गाइड वा पोर्टर नभए अर्काे एकजना साथी अवश्य चाहिने रहेछ ।’

दोस्रो नेपाल भ्रमणको क्रममा म यो पटक अन्नपूर्ण आधार शिविरसम्म पुग्ने योजना बनाएँ । अनि, पोखराबाट झोला बोकेर एक्लै उकालो लागें । म गाइड र पोर्टरबिना पदयात्रामै निस्केकी थिएँ । मलाई पदयात्रामा जाँदा गाइड र पोर्टर चाहिन्छ भन्ने थाहा थिएन, कसैले चाहिन्छ भनेर भनेको पनि थिएन, लैजानु अनिवार्य छ भनेर समेत कसैले भनिदिएन । त्यसैले झोला बोकेर एक्लै माथि लागेकी थिएँ ।

पदयात्राको क्रममा बाटोमा एकजना कोरियाली साथी भेटिए । उमेरको हिसाबले उनी मभन्दा कान्छा थिए । अनि मैले उनलाई भाइ भनेर बोलाउँथे । ती भाइ पोर्टर लिएर पदयात्रामा गएका थिए । हामी एकै मुलुकका भएकाले साथी बनेर सँगसँगै पदयात्रा गर्ने भन्यौं र हिँड्दै थियौं । कोरियाली भएकाले नजिकको साथी ठानेर म उनीसँगै पदयात्रा गरें । 
यात्राको क्रममा हामीले बीचमा सानो बच्चासहित आएका कोलम्बियाका पदयात्री परिवार पनि भेट्यौं । तर, उनीहरूले ‘तिमीहरूलाई चाँडो फर्किनु पर्ने भए अछि छिटो हिँड्न सक्छौ’ भनेर सुझाएका थिए । त्यसैले गर्दा हामीले उनीहरूलाई बाटोमा छाडेर अघि बढ्यौं । आधार शिविर घुमेर हामी निकै नै खुसीका साथ फर्केका थियौं । आधार शिविरको घुमाइले म निकै नै हौसिएकी थिएँ । आधार शिविर घुम्न निकै नै रोमाञ्चक रहेछ । हामी आधार शिविर घुमेर फर्केर आउँदै गरेपछि मेरो कोरियन साथी मर्दी हिमाल जाने भनेर अर्कै बाटो लाग्ने भयो । ऊ र म छोमरोङबाट फरक मार्ग समाउने पक्का भयो । मलाई पनि मर्दी  हिमाल जाने रहर त थियो, तर, खुट्टामा चोट लागेकाले हिँड्न नसक्ने भनेर सिधै पोखरा आउने योजना सहित छोमरोङबाट घान्द्रुकतिर लागें । मेरो कोरियन साथी छोमरोङबाट ओर्लेर लान्द्रुक हुँदै मर्दी हिमाल जाँदै थियो । छोमरोङबाट म एक्लै घान्द्रुकका लागि हिँडेकी थिएँ । 

गत शुक्रबारको कुरा हो, बिहान नास्ता खाएर एक्लै घान्द्रुक आउँदै थिएँ । छोमरोङबाट घान्द्रुक आउने दुईवटा बाटो रहेछन् । तर, म माथिल्लो बाटो लागेकी थिएँ । तल्लो बाटोको बारेमा मलाई उत्तिसारो जानकारी थिएन । छोमरोङबाट किमरुङ खोला तरेपछि घान्द्रुक आउन सकिन्छ । यो पुरानो पदमार्ग रहेछ । एकपटक चल्तीको बाटो भए पनि अहिले मान्छे कम हिँड्ने रहेछन् । म झोला बोकेर एक्लै हिँडिरहेकी थिएँ । पैदल हिँड्दा हिँड्दै बीचमा कतै आएपछि मैले बाटो बिराएछु । त्यो बेला म साँच्चै मुर्ख भएछु । बाटो बिराएको मलाई निकै ढिला गरी मात्र थाहा भयो, जब मैले हिँड्ने बाटो नै पाइनँ । बाटो बिराएर धेरै नै अघि बढेछु, जहाँबाट अघि बढ्ने बाटो नै थिएन । धेरैबेर हिँडेपछि म घाँसैघाँस भएको ठाउँमा पुगेछु । जहाँ मान्छे हिँडेको कुनै संकेत पनि थिएन । पहिला जंगलमा मान्छे हिँडेको पाइलाको छाप थियो, तर, पछि त्यही संकेत पनि भेटिएन । कतै पनि जाने बाटो नदेखेपछि मैले बिहान छुटेको गाइड (अर्काे कोरियालीसँगै गएको) लाई फोन गरें । उसले मलाई ‘तिमी गलत बाटो गयौ, जुन बाटो आयौ, त्यही बाटो फर्किनू’ भन्यो । तर, मैले आएको बाटो नै पत्तो पाइनँ । 

अब बाँचिन्छ भन्ने नै आस हराउन थालिसकेको थियो । के र कसो गरौं भन्ने लागिरहँदा खोला तरेर पारिपट्टि जाने निधो गरें । तर, खोलामा साना ढुंगा निकै नै चिप्ला थिए । बारम्बार ती ढुंगामा लड्न पुगें । केही गरी पानीमा लडिहाले पनि मोबाइल जोगाउनुपर्छ भनेर प्लास्टिकमा पोको पारेर सानो हाते झोलामा बोकें । अनि ठूलो झोला ढुंगाको छेउमा राखें । जसोतसो म अप्ठेरोबाट मुक्त हुनु थियो । मलाई झोलाभन्दा पनि ज्यानको माया थियो । अनि पानीमा भिज्दै खोला तरें । पानीले मेरो कपडा पनि भिज्यो, तर, खोला तरेपछि पनि मैले बाटो भेटाइनँ ।

म पुगेको अन्तिम बिन्दुबाट माथि र तल जाने कतै पनि बाटो नदेखेपछि म आत्तिन थालें । माथि उकालो लाग्दा झनै हराउने देखेर भिरैभिर घाँस समातेर तलतिर ओरालो लागें । तल झर्दा खोलामा पुगिन्छ र त्यहाँ कतै मान्छे भेटिन सक्छन् भन्ने मेरो बुझाइ थियो । तर, मैले गलत गरेछु । तल, ओरालो लाग्दा कोही भेटिनँ । म मान्छेको खोजीमा घाँस र बुट्यान समाएर लड्दै ओरालो लागें । घाँस चिप्लेर ठाउँठाउँमा लड्न पनि पुगें । अनि मलाई हातखुट्टामा चोट पनि लाग्यो । कतै बाटो पहिल्याउन नसकेपछि म हराएको पक्का भयो । खोलामा झरे पनि आफूले सोचेजस्तो कोही मान्छे भेटाउन नसकेपछि म झनै आत्तिएँ । समय बित्दै गयो, म एक्लै थिएँ, कतै पनि मान्छेको जानकारी थिएन । के र कसो गरौं भन्ने मात्र भइरहेको थियो । 

आफू हराएको पक्का भएपछि अब बाँचिन्छ भन्ने नै आस हराउन थालिसकेको थियो । के र कसो गरौं भन्ने लागिरहँदा खोला तरेर पारिपट्टि जाने निधो गरें । तर, खोलामा साना ढुंगा निकै नै चिप्ला थिए । बारम्बार ती ढुंगामा लड्न पुगें । केही गरी पानीमा लडिहाले पनि मोबाइल जोगाउनुपर्छ भनेर प्लास्टिकमा पोको पारेर सानो हाते झोलामा बोकें । अनि ठूलो झोला ढुंगाको छेउमा राखें । जसोतसो म अप्ठेरोबाट मुक्त हुनु थियो । मलाई झोलाभन्दा पनि ज्यानको माया थियो । अनि पानीमा भिज्दै खोला तरें । पानीले मेरो कपडा पनि भिज्यो, तर, खोला तरेपछि पनि मैले बाटो भेटाइनँ ।

मोबाइल भने सम्पर्क गर्नका लागि जोगाउनतिर लागे । म केही गरी मरिहालें भने पनि झोला भेटेर पत्ता लगाऊन् भन्ने मेरो मनले त्यो बेला गलत सोचिसकेको थियो । हराएको पक्का भए पनि अब हेलिकप्टर बोलाउनुपर्छ भन्ने लाग्यो । तर, खोलाको खोंचमा फोन नेटवर्क नै आएन । केही पर पुगेपछि आफूसँग रहेको नक्सा निकालेर फोन गरें । नक्सामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रश्मी आचार्यसँग सम्पर्क भयो । त्यो बेलासम्म मेरो मोबाइलमा ५ रुपैयाँ मात्र ब्यालेन्स थियो । मैले रश्मीलाई मेरो मोबाइलमा पैसा सकियो, मलाई त्यहींबाट फोन गर, म अप्ठेरोमा परेकी छु, मलाई उद्धार गर्न जरुरी छ भनेपछि उनले नै फोन गरिन् । अनि अप्ठेरोमा परेको थाहा पाएपछि २ सय रुपैयाँ रिचार्ज पनि गरिदिइन् । त्यसले मलाई अलिकति राहत दियो । यति हुँदासम्म पनि कतै मान्छेको सम्पर्क हुने देखिनँ । हेलिकप्टर पनि आउने सम्भावना छैन भनेर रश्मीले मलाई भनिन् । मैले १०–१० मिनेटमा फोन गर्नु, नत्र म आत्तिएर मर्छु जस्तो लाग्छ भनेपछि उनले मलाई फोन गरिरहिन् । उनको फोनले मलाई केही राहत दिन्थ्यो । उनले मेरा लागि मात्र त्यो दिन करिब ४ घन्टा समय दिइन्, त्यो अवधिमा बारम्बार फोन गरेर नआत्तिन भनिरहेकी थिइन् ।

म हराएको बारे रश्मीले त्यस क्षेत्रका व्यवसायीलाई पनि भनिसकेकी रहिछन् । उनीहरू मेरो खोजीमा आउने थाहा पाएँ । त्यत्तिबेलासम्म रात पर्न थालेको थियो । जंगल र खोला, अनि सुनसान वातावरणले मन आत्तिदैं थियो । मलाई खोज्न हिँडेकाहरूले फोन गरिरहन्थे, तर मैले म कहाँ छु भनेर भन्न सक्दिनथें । अँध्यारो हुँदै गयो, बिहान खाएको नास्ताबाहेक मेरो पेटमा केही परेको थिएन । पदयात्राको अन्तिम दिन भनेर मैले झोलामा केही खानेकुरा पनि राखेको थिएन । सानो बोटलमा अलिकति पानी मात्र थियो । मेरो घाँटी निकै नै दुखेको थियो । फोन लागेका कारण म उनीहरूको सम्पर्कमा पुग्न सकेको थिएँ । मोबाइलमा ब्याट्री सकिने डर थियो, तर, ‘पावरब्यांक’ चार्ज रहेछ, त्यसले गर्दा ब्याट्रीको समस्या भएन । नेटवर्क लाग्ने र नलाग्ने गर्दा मन आत्तिन्थ्यो । 

रात पर्दै गयो, अँध्यारो बढ्दै गयो । करिब ८ बजेतिर मेरो खोजीमा आएका दुईजना युवाले बालेको बत्तीको उज्यालो देखियो । उनीहरू मलाई बोलाउँथे, म बोल्थें तर कहाँ छु भनेर भन्न सक्दिनथें । हिँड्दा रुखले लाइट छेकिँदा मन आत्तिन्थ्यो । बेलुकी ८ बजेतिर उनीहरू बल्ल म भएको ठाउँमा आइपुगे । मलाई खोजी गरेर उद्धार गर्ने, मोबाइलमा पैसा सकिँदा पनि २ सय रुपैयाँ पठाएर सहयोग गर्ने सबैप्रति म आभारी छु । मैले त यो नै मेरो अन्तिम दिन भन्ने ठानेकी थिएँ, तर कतै केही भएन । जंगलमा जंगली जनाबरको त्रास पनि थियो । तर पनि म सुरक्षित रहें । 

जब अब म बाँच्छु भन्ने लाग्यो मेरो आँखामा आँसु आयो । उनीहरूसँग अरु ४ जना पनि मेरो खोजीमा हिँडेका रहेछन् । ती दुईजनाले खोजीमा हिँडेका अरु साथीहरूलाई पनि मसँग भेट भएको जानकारी दिए । म युवाहरूको साथमा पुगेपछि बल्ल राहत महसुस गरें । अनि केहीबेर आगो बालेर बस्यौं । अरु साथीहरू आएपछि झनै ठूलो आगो बाल्यौं । सुरुमा भेट भएका युवाहरूले मलाई अप्ठेरो ठाउँबाट सजिलो ठाउँमा पु¥याए । सजिलो ठाउँमा पुग्न पनि निकै नै कठिन थियो, उनीहरूले निकै नै मुस्किलले मलाई लगेका थिए । उनीहरूले केही खानेकुरा पनि ल्याइदिएका रहेछन् । त्यो खाएपछि भोक पनि म¥यो, अनि बाँचिन्छ भन्ने लाग्यो । 

केहीबेर आगो बालेर सबैजना भेट भएपछि हामी होटलमा पुग्यौं । राति ११ बजे बल्ल होटलमा पुगेर अनुहार हेर्दा मेरो अनुहारभरि बालुवा पोतिएको थियो । पछि नुहाएर त्यो रात सुतें । भोलिपल्ट बल्ल घान्द्रुकका लागि हिँडे । मैले खतरामा परेको बारे परिवारलाई पनि खबर गरिनँ । किनभने मेरो कारण परिवार चिन्तित हुने थियो । त्यही भएर मैले पोखरा फर्केपछि मात्र आमालाई मेरो कुरा सुनाएँ । उहाँ निकै नै आत्तिनुभयो । तर, म खतरामुक्त थिएँ । 

यो यात्राले मलाई सबैभन्दा महŒवपूर्ण कुरा पदयात्रामा एक्लै जानु हुने रहेनछ भन्ने सिकाएको छ । सकेसम्म गाइड वा पोर्टर नभए अर्काे एकजना साथी अवश्य चाहिने रहेछ । एक्लै हिँड्नु जोखिम रहेछ भन्ने मैले अनुभव गरेकी छु । म अब केही दिन अझै पोखरा बस्छु र अन्नपूर्ण फेरोको पदयात्रामा जान्छु । पदयात्रा क्रममा भेटिने संकेत बोर्डलाई ध्यान दिनुपर्ने रहेछ । म मुर्ख रहेछु र मैले बाटो बिराएकी रहेछु । नत्र मैले त्यो अवस्था खेप्नुपर्ने थिएन । म अहिले पुनर्जन्म पाएको अनुभव गरेकी छु । मेरो जीवनमा नौलो अनुभूति भएको छ । म जंगलको झाडीमा करिब ८ घण्टा एक्लै हराएँ । मैले पुनर्जन्म पाएको अनुभव गरेकी छु । धन्यवाद जसले मलाई बचाए, र बचाउन पहल गरे । मेरो अनुभव अरु पदयात्रीका लागि पनि सचेतनाका रुपमा हुनेछ । (नागरिककर्मी सन्तोष पोखरेलसँगको कुराकानीमा आधारित)

प्रकाशित: ७ चैत्र २०७४ १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App