८ वैशाख २०८१ शनिबार
समाज

उखुको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै अनसनमा महिला

सर्लाहीको हरिवन स्थित इन्दुशंकर चिनी उद्योगको मूलगेटमा आयोजित रिले अनसनमा बुधबार बसेका महिला। तस्बिर : टंक क्षेत्री

सर्लाही – उखुको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा ३ दिनदेखि जारी रिले अनसनमा बुधबार महिलाहरूमात्र सहभागी भएका छन्।

अढाई महिनादेखि उखुको भुक्तानी नपाएपछि सोमबारबाट किसान सम्बद्ध विभिन्न संगठनको आव्हानमा ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा रिले अनसन सूरु भएको थियो ।‘आज दिनभर हामी महिला मात्र अनसनमा बसेका हौं’, उखु किसान संचिता घिमिरेले भनिन्, ‘चुलो चौकामा मात्र हैन आन्दोलनको मोर्चामा समेत हामी अगाडि छौं ।’ अनसनमा घिमिरे सहित एक दर्जन महिला सहभागी छन्।

अन्य खेतीको तुलनामा बढी लागत लाग्ने उखु विक्री वापतको भुक्तानी चिनी उद्योगले समयमै नदिँदा घर व्यवहार चलाउनै निकै समस्या परेको घिमिरेले जानकारी दिइन्। ऋण काढेर डेढ वर्षअघि लगाइएको उखु किनेको इन्दुशंकरले अढाई महिनादेखि भुक्तानी नगर्दा आफूहरू निकै समस्यामा परेको किसानको गुनासो छ। 

पटक–पटक मौखिक एवं लिखित आग्रह गर्दा समेत किसानलाई भुक्तानी नदिएपछि बाध्य भएर रिले अनसन सूरु गर्नु परेको आयोजक नेपाल उखु उत्पादक किसान संघ नेपालका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए । उखु किसान सम्बद्ध मिलगेट उखु उत्पादक समिति हरिवन, उखु उत्पादक किसान संघ लगायत संगठनबाट दैनिक कम्तिमा ५ जनाको दरले सहभागी रहने गरी सुरु गरिएको अनसनमा दैनिक डेढ दर्जन किसान सहभागी हुने गरेका छन्।

विगत वर्षहरूमा उखु दिएको १५ देखि ३० दिनभित्र किसानलाई भुक्तानी गर्ने इन्दुशंकरले यसवर्ष भने अढाई महिनासम्म पनि भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेदबहादुर बुढाथोकीले जानकारी दिए।

इन्दुशंकरका उखु प्रवन्धक योगनारायण रजकले भने किसानको भुक्तानी सुरु गर्नका लागि प्रयास भइरहेको जानकारी दिए । ‘एकातिर उद्योगको चिनी बिक्री नभएका कारण तथा अर्को तिर बैंकबाट ऋण नपाउँदा किसानलाई भुक्तानी गर्न सकेका छैनौं’ उनले भने, ‘यथाशिघ्र भुक्तानी सुरु गर्ने प्रयासमा लागि परेका छौं ।’ पाकिस्तान र बंगलादेशबाट सस्तो मूल्यको चिनी आयात हुँदा आफूहरूको चिनी बिक्री नभएकाले पनि किसानको भुक्तानीमा समस्या आएको रजकले जानकारी दिए। 

पुस पहिलो साताबाट सञ्चालनमा आएको उद्योगले हालसम्म३५ लाख क्वीन्टल उखु क्रसिङ गरिसकेको छ । पुस १६ गतेसम्म उखु विक्री वापतको नेटपूर्जी पाएका किसानको मात्र प्रति क्वीन्टल ५३१ रुपैयाँ २० पैसाका दरले उद्योगले भुक्तानी गरेको छ । त्यस्तै जिल्लाकै पश्चिम धनकौल स्थित अन्नपूर्ण सुगर उद्योगले त विगत वर्षकै भुक्तानी दिन सकेको छैन । यसवर्ष पनि १० लाख क्वीन्टल उखु क्रसिङ गरिसकेको छ । 

सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । यहाँ साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ ।
 

प्रकाशित: ७ चैत्र २०७४ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App