८ वैशाख २०८१ शनिबार
खेल

तीस खेलमा चार हजार बढी खेलाडी

काठमाडौं- पूर्वाञ्चलमा मंसिरका लागि तय भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश ३० खेलमा झन्डै ४ हजार ५ सय खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा आइतबार बसेको सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बैठकले खेलाडीको संख्या तय गरेको राखेपद्वारा जारी विज्ञप्तीम उल्लेख छ।

जिल्ला, क्षेत्र छनोट पार गर्दै १ हजार ७ सय ४७ पुरुष तथा १ हजार १ सय ५३ महिला खेलाडी सहभागी हुनेछन्। विना छनोट  सिधै राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडीको संख्या भने १ हजार ५ सय ४५ रहेको छ।

राष्ट्रिय खेलकुदमा ३ सय १८ प्रशिक्षक, १ सय ९३ व्यवस्थापक, ८ सय १२ निर्णायक तथा ६३ जना संघका प्रतिनिधिको प्रत्यक्ष संलग्नता रहने राखेपले जनाएको छ।

बैठकले राष्ट्रिय खेलकुदका लागि पविभिन्न जिल्लामा खेलस्थल पनि निर्धारण गरेको छ। सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई खेलस्थल तोकिएको छ।

सातौं राष्ट्रिय खेलकुदमा जम्मा १ हजार ५५ पदकका लागि प्रतिस्पर्धा हुनेछ। जसमा स्वर्ण र रजतको संख्या समान २ सय ९९ रहेको छ। कांस्य पदक ४ सय ५७ रहनेछ।

बैठकले जिल्ला छनोट भदौ २५ देखि असोज १४ गते तथा क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी गराए। त्यस्तै सातौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक भदौ १६ गते विराटनगरमा हुने भएको छ।

राखेपले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो। सातौंअन्तर्गत पौडी, ट्रायथलन, शारीरिक सुगठन र एथलेटिक्सको म्याराथन सम्पन्न भइसकेको छ।

प्रकाशित: ६ भाद्र २०७३ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App