coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

थ्री स्टार पहिलो खेल जित्न सफल

काठमाडौं- कप्तान विक्रम लामा र मार्टिन्स कायोडे अजायीले गोल गरेपछि नेपालको राष्ट्रिय लिगथ च्याम्पियन रुस्लान थ्री स्टार क्लबले मंगोलियामा विजयी सुरुआत गरेको छ। थ्री स्टारले एएफसी कप छनोट प्लेअफमा घरेलु टोली इर्चिम एफसीलाई २–० ले हरायो। यो जितले अर्को चरण पुग्ने थ्री स्टारको सम्भावना बलियो बनेको छ। पुनः प्रशिक्षकको रुपमा फर्किएपछि मेघराज केसी र पहिलो पल्ट कप्तान जिम्मेवारी सम्हालेयता बिक्रमले पहिलो जितको अनुभव बटुले। अब छनोट खेल अन्तर्गत थ्री स्टारले मंगलबार कम्बोडियाको नागावर्ल्ड क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

थ्री स्टारले सुरुआतबाट खेलमा हाभी भएको थियो। थ्री स्टारका नाइजेरियन खेलाडी मार्टिन्स कायोडेले १४औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाए।

नेपाली क्लब थ्री स्टार र इर्चिम यसअघि तीन पटक आमने सामना भएका छन्। तर थ्री स्टारले दुइ खेल जित्न सफल भएको छ भने एक खेल बराबरीमा टुङगिएको छ।

मंगोलियन फुटबल फेडेरेशनको कृत्रिम मैदानमा मंगोलियन क्लबका घरेलु समर्थक खेल सकिएपछि निराश भएर फर्कनु पर्‍यो।

मार्टिन्सले इर्चिमका गोलरक्षक अरीउनबोल्ड बाटसाइखानको गल्तीमा गोल गर्ने मौका पाएका थिए। कप्तान  विक्रमले ७६ औं मिनेटमा सुनिल बलले प्रहार गरेको कर्नरमा हेड गोल गरेर टोलीको अग्रता दोब्बर पारे।

कप्तान विक्रमले आइतबारको जितलाई करियरकै महत्वपुर्ण जित भएको बताए। उनले भने, 'कप्तानको रुपमा पहिलो खेलमै जित हात पार्दा खुसी छु। टोलीको लागी गोल गर्न पाउनु अझ सुखद कुरा हो। आजको जितको श्रेय खेलाडी, प्रशिक्षक, क्लब ब्यवस्थापन र समर्थकलाई दिन चाहन्छु।'

सुरुआती खेलको लयमा खेले दोस्रो खेल पनि जितेर नेपाल फर्कने विक्रमले बताए। उनले भने, 'हामीले यहि लयलाई निरन्तरता दिनु पर्छ। आजको जितले अर्को चरण पुग्ने सम्भावना बढेको छ। हाम्रो टिम स्पि्रड राम्रो छ। दोस्रो हाफमा हामी बिपक्षीमाथी हाभी भयौं। अब हामी नागावर्ल्ड विरुद्ध सत प्रतिसत राम्रो खेल्ने कोसिस गछौं।'

प्रशिक्षक केसीले खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले भने, 'दुबै  गोल उत्कृष्ट ढंगले भए। हामी खुसी छौं। मेहनत गरेर खेल्ने कोसिस गरेको छौं। बिपक्षीको खेल्ने शैलीको बारेमा  धेरै जानकारी नभएपनि हामीले राम्रो सँग खेल नियन्त्रण गरेर खेल्न सफल भयो।'

खेलको १५ मिनेट बित्ने बित्तिकै आफुहरुले खेल जित्ने विश्वास बढेको केसीले बताए।

इर्चिम एफसीका प्रशिक्षक बटुल्गा जोरिच्डले भने खेल प्रतिस्पर्धात्मक भएको बताए। उनले भने, 'थ्री स्टार बलियो टिम हो। हामीले अवसर पाएर पनि गोल गर्न सकेनौं। त्यो हाम्रो लागी दुर्भाग्य थियो। र गोलकिपरले आज गल्ती गरे। उनको गल्तीले बिपक्षीले गोल गर्ने मौका पायो।' आगामी नागावर्ल्ड विरुद्धको खेल जित्ने कोसिस गर्ने जोरिच्डले बताए।

प्रकाशित: ६ भाद्र २०७३ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App