जीवन यात्रा

हजारौं बन्ध्याकरणको अनुभव

मङ्गलबार, ०६ चैत २०७४, २० : ०४ विश्वमणि पोखरेल

७९ औं वसन्त पार गरेकी डा. सरस्वती पाध्येको अहिलेको रुटिन इन्टरनेटबाट चिकित्सा विज्ञानमा भइरहेका विकास, अनुसन्धान, उपचारका नयाँ–नयाँ प्रविधि, सीप र औषधिबारे जानकारी लिनु रहेको छ । ५२ वर्षदेखि डाक्टर पेसा अँगाल्दै आएकी पाध्येले यस्तो तयारी गर्नुको कारण हो, आफूले पढाउने विद्यार्थी र बिरामीका सामु अपडेट अवस्थामा रहिरहनु । उनी भन्छिन्, ‘आजभोलि बिरामी पनि डाक्टरले लेखेको औषधि र  रोगका बारेमा नेटमा खोजिरहेका हुन्छन् ।’

उनीहरूका जिज्ञासा मेटाउन पनि आफूमा इन्टरनेटको सामान्य जानकारी अवश्य हुनुपर्छ । डा. पाध्येको स्कुल अध्ययन किशोरावस्थाबाट मात्र सुरु भएको हो । ‘२००७ को राजनीतिक परिवर्तनलगत्तै २००८ सालमा स्कुल खुल्ने लहर चल्यो, म पनि त्यही माहोलमा कक्षा ५ मा पद्मकन्या स्कुलमा भर्ना भएकी हुँ ।’ विसं. १९९६ सालमा काठमाडांैमा जन्मिएकी सरस्वती पाध्ये, त्यसबेला किशोरावस्थामा थिइन् । घरमै स्वअध्ययन गर्र्दै आएकी पाध्ये कक्षा ५ मा भर्ना भएर प्रथम भएपछि कक्षा ६ नपढी कक्षा ७ मा उक्लिइन् । सात कक्षामा प्रथम भएकी उनलाई  ८, ९ र १० मा एक नम्बरबाट तल झर्नुपरेन । पद्मकन्याका तत्कालीन प्रधानाध्यापक तुलसीबहादुर सिंहले सरस्वतीलाई ‘सी नेभर स्कुल सेकेन्ड’ भनेर लेखेरै दिएको सम्झना उनीसँग छ । एसएलसी प्रथम श्रेणीमा पास गरेपछि त्यसबेलाको समाजले उनलाई विज्ञान पढ्न अगाडि सल्लाहा दियो । तर, त्यसैबेला गोरखा पत्रमा आयुर्वेद विषय पढ्न चाहनेका लागि आकर्षक छात्रवृत्ति थियो । ६४ रुपैयाँ मासिक छात्रवृत्ति पाउने सूचनाको पछि लाग्दैे आयुर्वेद पढ्न आवेदन गरेको उनी बताउँछिन् । आयुर्वेदमा निवेदन दिएको काम लागेन, भारत सरकारको छात्रवृत्ति थियो त्यो । भारतीय राजदूतावासका सचिवले विज्ञान पढ्न मन भए त्यतै लाग्नु भन्दै उनलाई आर्युवेदको छात्रवृत्तिमा चुनेनन् । 

आयुर्वेदमा नचुनिएपछि उनका सामु आइएससी पढ्ने एउटा विकल्प थियो । उनी त्रिचन्द कलेजमा भर्ना भइन् । त्यसबेला त्रिचन्द कलेज भारतको पटना विश्वविद्यालयअन्तर्गत थियो र पढाउने गुरुहरू पनि भारतीय नै बढी थिए । उनले आइएससी पढिसक्दा त्रिभुवन विश्वविद्यालय अस्तित्वमा आइसकेको थिएन । उनले भनिन्, ‘हामी १० कक्षामा पढ्दा विश्वविद्यालयको शिलान्यास भएको हो, त्यसबेला हामी नेपालको झण्डा बोकेर कीर्तिपुर गएका थियौं ।’ 

डिल्लीबजार घरबाट त्रिचन्द्र कलेजमा विज्ञान विषय पढ्न आउनुअघि उनी नरदेवीस्थित साथी सानुमैया दलीको घरमा पुग्थिन् । प्रसूति डाक्टरका रूपमा आफ्नो समयमा जमेका सरस्वती  र सानुमैया मिलेर अध्ययन गर्दथे । त्यस्तो अवस्थाका लागि दलीका बाबु हिरानन्द वैद्य त्यसबेलाका नामी कम्पाउन्डर थिए भने सानुकी दिदी रोशना अमात्य आइएससी पढी सिध्याएकी थिइन् । त्यसैले उनीहरूलाई पढ्न सहज थियो । ‘बिहान ७ बजे रायोको साग र भात खाएर नरदेवी गयो, त्यत्तैबाट त्रिचन्द्र आउने गर्थेँ,’ पाध्ये भन्छिन्, ‘आइएससी पढुञ्जेल यसरी नै बित्यो ।’ डिल्लीबजारबाट नरदेवी, नरदेवीबाट त्रिचन्द्र र त्रिचन्द्रबाट  डिल्लीबजार घर आउजाउमा घेरै समय लाग्ने भएपछि उनले एउटा साइकल किनिन् । ‘७५ रुपैयाँमा किनेको लेडिज साइकल चढेर हिँड्दा त्यस समयमा मुक्ति सेनाका मानिस साइकल जुधाउन आउँथ,े’ पाध्ये भन्छिन्, ‘त्यसबेला मुक्ति सेनाको जगजगी नै थियो काठमाडौंमा ।’ 

आइएससी अध्ययन सकिनासाथ सरस्वती पाध्येलगायत तत्कालीन समयमा विज्ञान विषय पढेका २० जना केटीहरूले कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पाएका हुन् । कोलम्बो प्लानको छात्रवृत्तिका लागि आवेदन गरेपछि आफू सहजै पास पाएको बताउँछिन पाध्ये । तर, अहिलेसम्म उनको एउटा गुनासोले मनलाई ढुकढुक पारिरहेको छ, त्यो भनेको सोर्स हुनेले बम्बे, कलकत्ताको छात्रवृत्ति पाए भने नहुनेले पटना, दरभंगा जस्ता स्थानमा चित्त बुझाउनु परेको बताउँछिन् । ‘ठूला सहर बम्बे, कलकत्ताको छात्रवृत्ति पाउनेले महिनाको २ सय रुपैयाँ पाउँथे,’ पाध्ये भन्छिन्, ‘दरभंगा, पटनाजस्ता सहरमा जानेको १४० रुपैयाँ मात्र थियो ।’ 

पढाइ सकेर फर्किएपछि ५ वर्षसम्म सरकारले भनेको स्थानमा काम गर्नुपर्ने सम्झौता अक्षरसः पालना गरेको पाध्येको कथन छ । पाध्ये भन्छिन्, ‘अहिलेको जस्तो जभाभावी, जे मन लाग्यो त्यही गर्ने अवस्था थिएन । 

एमबिबीएस गरेर नेपाल फर्किएपछि उनी सबैभन्दा पहिले वीर अस्पतालको मातृ शिशु कक्षमा आबद्ध भइन् । उनको अनुभवमा त्यसबेला महिलालाई गर्भवती भएको बेलामा स्वास्थ्य सल्लाह दिन अहिलेजस्तो सहज थिएन । डाक्टरसँग सोधपुछ गर्ने, अस्पताल आउनेको संख्या एकदमै न्यून थियो । आजभन्दा करिब ५० वर्षअघिको काठमाडौं र वरपरका गाउँको अवस्थामा र अहिलेको सहरीकरणले ढाकेको काठमाडांै उपत्यकामा आकाश–पातालको फरक ठान्छिन् उनी । गर्भिणी जाँभ अभियान जनताको घर दैलोमा पु¥याउने उद्देश्यले वीर अस्पतालका डाक्टर गाडीमा औषधि उपचारका उपकरण लिएर भक्तपुरको बालकोट, ठिमी, काठमाडौंको गोकर्णलगायतका स्थानमा जाने गर्दथे । ‘ २ जना अनमीलाई लिएर हामी हप्ताको दुई दिन प्रत्येक स्थानमा नियमित जान्थ्यांंै,’ पाध्ये भन्छिन्, ‘जनताको घर दैलौमा उपचार पु¥याउन त्यसो गरिएको थियो ।’ त्यस्ता घुम्ती अस्पताल कार्यक्रमले जनतामा स्वास्थ्य चेतना बढाएको उनको भनाइ छ । काठमाडौं र वरपरका काँठे बस्तीहरू ग्रामीण परिवेशमा रहेको उनको अनुभव छ । ‘भीडभाड थिएन, धेरै जसो स्थानमा कच्ची सडक थिए, थौरै गाडी कँुद्दथे ।’ त्यसबेलामा  नागरिक र अहिलेका नागरिकको बोली व्यवहार बारे पाध्येको टिप्पणी छ— त्यसबेलाका मानिस सिधासाधा थिए, आजकलका धेरैजसो मानिस भने घूर्त नै छन् । 

वीर अस्पतालमा काम गरेको केही समयमै उनलाई नेपालगञ्ज अस्पताल पठाइएको उनी बताउँछिन् । एकजना मेडिकल सुपरिटेन्डेन्ट र एकजना प्रसूति डाक्टरको दरबन्दी रहेको उनी सम्झन्छन् । नेपालगञ्जमा तीन वसन्तको गर्मी खाएकी काठमाडौंकी पाध्येले त्यसबेला हर्निया, डाइड्रोसिललगायतका सबै खालका रोगीको उपचार गरेको अनुभव छ । 
कोलम्बो प्लान पाएर एमबिबीएस पढ्न पाएको अवसरलाई उनी डाक्टरी पेसाको जग मान्छिन् । कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पाउनेले कम्तीमा ५ वर्ष सरकारले भनेको स्थानमा काम गर्नुपर्ने सम्झौता पालना गरिराखेकै समयमा पाध्येका सामु अर्को अवसर आयो । बेलायत सरकारले एमआरसी ओ जी, तहको छात्रवृत्ति दिने भयो । त्यसमा उनले आवेदन गरिन् । उनका अनुसार अन्य साथीहरूले पनि छात्रवृत्तिका लागि आवेदन गरेका थिए । आवेदन गरेको केही समयपछि केही साथीको नाम आयो तर उनको आएन । ‘ममा ठूलो चिन्ता परेको थियो, एक किसिमको छटपटि थियो, सूचनामा मेरो नाम आएन, यस्तै रहेछ भन्ने भयो,’ पाध्ये  भन्छिन्, ‘सँगै आवेदन भरेकाहरू टिकट आएर लन्डन गइसकेका थिए, मैले माया मारिसकेकी थिएँ ।’ तर, सँगैका साथी बेलायत उडेको करिब डेढ महिनापछि उनको नाम निस्क्यो । ‘छात्रवृत्तिमा आवेदन गरिसकेपछि बिट्रिस काउन्सिलले अंग्रेजी जाँच लिएको थियो । अंग्रेजी क्षमता पनि एउटा आधार थियो छनोट गर्ने । पाध्ये भन्छिन्, ‘म अंग्रेजीमा फेल हुने खालकी त थिइनँ, के भयो कसो भयो भन्ने भइरह्यो । डेढ महिनापछि बेलायत पुगेपछि मात्र आफूलाई सुरुमै नबोलाएको कारण पत्ता लगाइन् उनले ।‘अंग्रेजी अलिक कमजोर हुनेलाई पहिल्यै बोलाएर अंग्रेजी भाषाको तालिम दिने रहेछ, मैलै अंग्रेजीमा राम्रो गरेकोले मलाई पछि  बोलाएको रहेछ ।’ तीन वर्षसम्म लन्डनको लेउसाम अस्पतालमा अध्ययन तालिम लिएपछि त्यहाँका चिकित्सकहरू केही वर्षसम्म उतै काम गर्ने गरेको उनी बताउँछिन् । औपचारिक रूपमा पास गर्नसमेत नपाएको अवस्थामा काठमाडौंबाट स्वदेश फर्कनु भन्ने स्वास्थ्य सेवा विभागको आदेशात्मक पत्र पाएको उनी बताउँछिन् । ‘पास भएको खबर आयो । तुरुन्त काठमाडौं आउनु भन्ने पत्र आयो,’ पाध्ये भन्छिन्, ‘स्वास्थ्य सेवा विभागबाट आएको त्यस्तो चिठीलाई बेवास्ता गर्ने अवस्था थिएन । त्यसबेलाको स्वास्थ्य सेवा विभागको डाइरेक्टरको आदेश राजाको आदेश जस्तो हुन्थ्यो ।’ 

२०३१ सालदेखि मुलुकका विभिन्न जिल्लामा पुगेर बन्ध्याकरण गर्ने पाध्ये २०४५ पछि प्रसूति गृहको प्रमुख भइन् । २०४५ देखि ७ वर्ष २२ दिन प्रसूति गृहको डाइरेक्टरको भूमिकामा रहेकी पाध्ये २०५२ देखि अहिलेसम्म काठमाडौं मेडिकल कलेजमा छिन् । उनी अहिले कलेजको प्राध्यापक हुन्  । अहिलेसम्म कति बिरामीको उपचार गरियो भन्ने प्रश्नमा उनी एकिन उत्तर दिन सक्दिनन् । ‘५२ वर्षदेखि बिरामीकै सेवा जारी छ, कति हजार बिरामीको उपचार गरियो थाहा छैन, ७३ जिल्लाका महिलाको उपचार गरेको तथ्यांक संकलन गरेकी छु,’ पाध्ये भन्छिन्, ‘अब ८० वर्षमा टेक्न लाग्दा पनि बिरामीको सेवा र विद्यार्थीलाई आफ्ना अनुभव र सीप बाँड्दै छु ।’ 

हजारौं बन्ध्याकरण 
बेलायतबाट काठमाडौं फर्किएपछि उनको प्रमुख काम भयो महिला बन्ध्याकरण । सुरुमा त्यसबेलाका डाक्टर कान्ति गिरीबाट तालिम लिएपछि उनलाई परिवार नियोजन कार्र्यक्रमअन्तर्गत देशका कुनाकाप्चामा पठाइयो । २०३१ सालदेखि २०४५ सालसम्मका १५ वर्षसम्म मुलुकका विभिन्न क्षेत्र चाहारेर महिलाको बन्ध्याकरण गरेको उनको अनुभव छ । कहाँ–कहाँ गएर बन्ध्याकरण गरियो ? प्रश्न गर्न नपाउँदै पाध्येले लेखो गर्छिन्— झापा, रंगेली, उदयपुर, राजविराज, जनकपुर, धनगढी, महेन्द्रनगर, दाङ, नेपालगञ्ज, जुम्ला... । ‘कतिको बन्ध्याकरण गरियो र कहाँ–कहाँ गइयो लेखाजोखा छैन,’ पाध्ये भन्छिन्, ‘एक ठाउँबाट आएर गुन्टो खोल्न पाएको छैन, अर्को ठाउँ जानुपर्छ भन्ने आदेश आउँथ्यो ।’ त्यसबेल परिवार नियोजन अभियानले व्यापकता लिएको उनको आँकलन छ । जिल्ला–जिल्लामा परिवार नियोजन कार्यक्रमका अभियानकर्ता, स्वयंसेवकहरू हुने गरेको बताउँदै पाध्ये भन्छिन्, ‘कसले कतिजनाको बन्ध्याकरण गराएको हो भन्ने तथ्यांक राखिन्थ्यो र त्यस्ता सक्रिय अभियानकर्तालाई सरकारले पुरस्कृत गर्ने हुन्थ्यो ।’ त्यसबेला ठाउँ–ठाउँमा दोहोरिने एउटा अनुभव सुनाइन् उनले । पाध्ये भन्छिन्, ‘बन्ध्याकरण गर्दा महिलाका श्रीमान्ले एउटा कागजमा मन्जुरी दिनुपर्ने हुन्थ्यो, सबैका श्रीमान् बन्ध्याकरण गराउन आएका हुँदैनथे । त्यस्तो बेलामा ड्राइभरहरूले सही गरेर काम चलाएको देखियो ।’  बन्ध्याकरण गराउन महिलालाई गाउँगाउँबाट गाडीमा हालेर ल्याइने र बन्ध्याकरण गरेपछि गाउँसम्म पु¥याइदिने व्यवस्था रहेको उनी बताउँछिन् । 

जुम्लामा बन्ध्याकरण गर्दा बिहान सबैले अपरेसन गर्ने कोठा उज्यालो पार्नका लागि रातो माटोले लिपेर टक्क पार्ने गर्थे अनि त्यस कोठामा अपरेसन गर्ने गरेको उनी बताउँछिन् । ‘त्यसबेला अहिलेको जस्तो अस्पताल भवन थिएनन्, त्यसमाथि दिउँसो हावा चलेपछि केही गर्न सकिँदैनथ्यो,’ पाध्ये भन्छिन्, ‘टिम हुन्थ्यो चिकित्सकहरूले बिहान सबैरैदेखि थालेर १२ बजे अघिसम्ममै सयांैको बन्ध्याकरण हुन्थ्यो ।’ एक दिनमा एक सयजना सम्मको बन्ध्याकरण अपरेसन हुने गरेको उनको आँकलन छ । पाध्ये भन्छिन्, ‘सबै कुरा ठिक्क पारेको अवस्थामा, ६÷७ मिनेटको काम त हो ।’ 
प्रत्येक वर्ष राजाको क्षेत्रीय भ्रमण हुने र त्यस्तो भ्रमणको बेलामा परिवार नियोजनलगायतका स्वास्थ्य सेवा दिने टोलीहरू खटिने गरेको पाध्ये बताउँछिन् । गाडीमा औषधि, उपकरण लगेर ठाउँठाउँमा अस्थायी क्याम्प राख्ने गरेको उनको सम्झना ताजै छ । ‘अस्थायी क्याम्पमा विशेषज्ञ डाक्टरहरूको सेवा हुन्थ्यो, जनताले आफ्नै घर आँगनमा स्वास्थ सेवा पाएको अनुभव गर्दथे,’ पाध्ये भन्छिन्, ‘विशेषज्ञ डाक्टरहरूले अस्थायी क्याम्पमै टाउको जस्तो संवेदनशील अंगको समेत अपरेसन गरेको मैले देखेकी छु ।’ 

परिवार नियोजन घट्यो अर्बोसन बढ्यो 
३० र ४० दशकमा राम्ररी फैलिएको बन्ध्याकरण पछिल्ला वर्षमा घट्दै अहिले सामान्य स्थितिमा पुगेको उनको अनुभव छ । सन् १९८४ अर्थात् आजभन्दा करिब ३० वर्ष पहिले १५ देखि ४९ वर्ष उमेर समूहमा ३४ प्रतिशत मानिस बन्ध्याकरण गरेको तथ्यांक अघि सार्दै पाध्येले भनिन्, ‘अहिले बन्ध्याकरण गर्नेहरूको संख्या १,२ प्रतिशत पनि छैन ।’ 

स्यायी नियोजन नगर्ने तर अर्बोसन गराउनेहरूको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्छिन् पाध्येले । ‘परिवार नियोजन र नियोजनका उपाय नअपनाउने अनि बच्चा बस्यो भन्दै अर्बोसन गराउनेहरू धेरै छन्,’ पाध्ये भन्छिन्, ‘अर्बोसन राम्रो विकल्प होइन, पटक–पटक अर्बोसन गर्दा त्यसले महिलाको शरीरमा अन्य जटिलता थप्दै जान्छ, मानसिक र शारीरिक दुवै पीडा भोग्छन् ।’ 

अर्बोसन गर्दा भइहाल्छ नि मन्ने मानसिकताबाट जोगिनुपर्ने पाध्येको सुझाव छ । ‘परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगर्ने अनि २÷४ दिन रजश्वला ढिलो चाँडो हुने बित्तिकै औषधि खाने वा अर्बोसन गर्नेहरू पनि छन्,’ पाध्येले भनिन्, ‘कुनै पनि कुराको एकिन नभइकन औषधि खानु हुँदैन, सम्बन्धित चिकित्सकको सल्लाहविना केही गर्न मिल्दैन । तर, आजकलका मानिसमा आफंै सबै थोक जान्दछौं भन्ने मान्यताले डेरा जमाएको छ ।’ 

अहिलेका महिलामा सहने क्षमता कम हुँदै गएको बताउँछिन् पाध्ये । ‘कतिपय महिला प्रसव वेदना खप्न नसक्ने भन्दै रुन कराउन थाल्छन्, उनीहरूमा धैर्य देखिँदैन,’ पाध्ये भन्छिन्, ‘महिला र उनका आफन्तहरूकै सुझावमा डाक्टरहरूले सिजरिङ गरेर बच्चा निकालिदिन्छन्, यसमा अस्पताल र डाक्टर दुवैलाई फाइदा छ, महिलाको पीडा खप्न नसक्नुको लाभ उनीहरूले लिइरहेका छन् । 

सिजरिङ प्रविधि सन् १९२० देखि सुरु भएको बताउँदै पाध्ये भन्छिन्, ‘डाक्टरले आवश्यक ठानेको बेलामा मात्र सिजरिङ गर्ने हो, प्यासेन्टको आग्रहमा होइन, तर यहाँ उल्टो काम भइरहेका छन् । ‘प्रसव वेदना सहने क्षमता चाहिन्छ, तत्कालको पीडा कम गर्न सिजरिङ अपनाउन नहुने पाध्येको सुझाव छ । ‘सिजरिङ गरेको पाठेघरले अन्य नगरेको पाठेघरको भन्दा फरक व्यवहार गर्दछ, ब्लिडिङ, छातिमा संक्रमण जस्ता समस्या आउन सक्छन्’ पाध्ये भन्छिन्, ‘पैसा पायो भन्दैमा जे पायो त्यसै गर्ने छुट अस्पताल र डाक्टरलाई पनि छैन । प्यासेन्टमा कमजोरी देखियो भने सम्झाउने काम डाक्टरको हो । सकेसम्म सिजरिङ गर्न हुँदैन । त्यो राम्रो विकल्प होइन ।’ लोभले पापी काम भइरहेको चर्चा गर्दै पाध्ये भन्छिन्, ‘आधा घण्टाको  सिजरिङ गर्दा धेरै पैसा आउँछ भने किन नगर्ने भन्ने सोच छ कतिपय चिकित्सकमा, थौरे मिहिनेत गरेर धेरै पैसा कमाउने काम भइरहेको छ आजकल ।’ 

४० दशकसम्म निजी क्लिनिक र नर्सिङ होम नभएको चर्चा गर्दै पाध्ये भन्छिन्, ‘नर्सिङ होम आएपछि स्वास्थ्य सेवामा लोभीहरूको मालामाल भयो, लोभले पाप जन्माउँछ, अहिले त्यस्तै भइरहेको छ, स्वास्थ्य सेवा व्यापारीकरण भइरहेको छ ।’ 

दोस्रो ओपिनियनमा समस्या 
लामो समयदेखि महिलाहरूबीच कहलिएकी डाक्टर सरस्वती पाध्ये पछिल्ला दिनमा बेग्लै खाले चुनौती झेल्दैछन् । त्यो भनेको प्रेस्क्रिप्सनका ठेली लिएर बिरामी आफूसँग थप विचारविमर्श गर्न आउनु । ‘एउटा डाक्टरले पाठेघरको अपरेसन नगरे क्यान्सर हुन्छ भनिदिएको हुन्छ, त्यस्ता प्यासेन्ट भयभित हुँदै दोस्रो विचार माग्न आउँछन्,’ पाध्ये भन्छिन्, ‘यस्तो अवस्थामा न्यायाधीश हुन ठूलो समस्या हुन्छ, एकातिर पाठेघरमा त्यस्तो अवस्था देखिँदैन, अर्कोतिर डाक्टरले त्यसरी भयभित गराएको हुन्छ,’ उनी भन्छिन्, ‘तत्काल केही नदेखिए पनि मानिस बाचुञ्जेल जे पनि हुनसक्छ, त्यसैले समस्या आउँछन्, एकातिर भयभित बिरामीको मनोदशा अर्कोतिर डाक्टरको जिम्मेवारी ।’ महिलाको एउटा पाठेघर काटेर फाल्दा ७०, ८० हजार आइहाल्छ भनेर क्यान्सरको भय देखाउने डाक्टरहरू पनि समाजमा भएको उनको अनुभव छ । 

वि हेल्दी, नआउनोस् डाक्टरकोमा 
सरस्वती पाध्ये आजकल उपचारमा आउनेलाई सकेसम्म डाक्टरकोमा नजान सल्लाह दिन्छिन् । ‘म त आजकल डाक्टरकोमा नजान पो भन्छु,’ ‘वि हेल्दी’ पाध्येले भनिन्, ‘भगवान्ले हामीलाई यसरी बनाएका छन् कि मानिसले आफ्नै शरीरका बारेमा जानकारी पाउन सकेको छैन । हामी डाक्टरहरूले आफ्नो अनुभवका आधारमा अन्दाज गर्दै औषधि दिने हो ।’ मानसिक र शारीरिकरूपमा स्वस्थ रहन सल्लाह दिँदै उनले भनिन्, ‘सामान्य हुने बित्तिकै डाक्टरकहाँ जान हुँदैन, आफैँ हेल्दी जीवन यापन गर्ने, भगवान्ले हामीलाई अनुपम शरीर दिएका छन् ।’ 

परिवार र जीवनशैली 

बिहान ८ बजेदेखि बेलुकी अबेर रातिसम्म सक्रिय रहने डा. पाध्ये बाल्यकालदेखि नै भेजिटेरियन हुन् । सामान्य खानपिन र जीवनशैली रुचाउने पाध्ये सबैलाई सक्रिय जीवन बिताउन सल्लाह दिन्छिन् । पाध्येका श्रीमान् महेश्वर पाध्येको निधन भइसकेको छ भने तीनवटै छोरी चिकित्सा क्षेत्रमै छन् । जेठी छोरी शशि धमन, भारतको गंगाराम हस्पिटलमा प्याथोलोजी प्रोफेसन छन् । माहिली छोरी प्रीति र कान्छी छोरी समृद्धि बेलायतमा स्वास्थ्य सेवा क्षेत्रमै कार्यरत रहेको पाध्ये बताउँछिन् । 

डाक्टरहरू किंग मेकर थिए ! 
डाक्टर बिरामीबीचको सम्बन्ध समयसँगै बदलिँदै गएको र समाजमा डाक्टरहरूको भूमिका पनि खस्कँदै गएको अनुभव पाध्येको छ । ‘पहिला–पहिला बिरामीहरू डाक्टरले भनेको मान्थे, डाक्टरले जे भन्यो त्यसै गर्दथे आजकल बिरामीहरू कुनै एउटा डाक्टरलाई पत्याउँदैनन्’ पाध्ये भन्छिन्, ‘डाक्टरको कुरा छोडेर गुगललाई सोध्ने गर्छन्, बिरामीका र औषधिका बारेमा गुगलको सहारा लिन थालेपछि डाक्टरको भूमिका कम हुन्छ नै ।’ 

नेपाली समाजमा डाक्टरहरूको भूमिका पनि खस्कँदै गएको उनको अनुभव छ । यसको पछाडिको कारणबारे पाध्ये भन्छिन्, ‘एकातिर स्वास्थ्य सेवा व्यापारीकरण भयो, अर्कोतिर ठूलो संख्यामा राम्रा डाक्टर धेरै पैसा कमाउने लोभमा विदेश पलायन भए ।’ 

४० को दशकसम्म डाक्टरहरू समाजका किंग मेकरजस्ता रहेको उनको आँकलन छ । डा. सच्चीकुमार पहाडी, डा. मृगेन्द्रराज पाण्डे, डा. अन्जनीकुमार शर्मा, डा. एस के भट्ट , डा. दिनेशनाथ गंगोललगायतका डाक्टर आफ्नो पेसामा पनि पोख्त रहेको र समाजमा उनीहरूको प्रभावकारी भूमिका रहेको उनी बताउँछिन् । पाध्येले भनिन्, ‘डाक्टरहरू किंग मेकरको भूमिकामा थिए, अहिले डाक्टरको भूमिका खस्कँदै गएको छ ।’ 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad