कथा

पश्चाताप

मङ्गलबार, ०६ चैत २०७४, १९ : २९ शोभा ज्ञवाली  | @GyawaliShova

किरण आज अति खुसी देखिएकी छ । खुसी र सन्तोषले होला ऊ धपक्क बलेकी छ । हेर्दाहेर्दै उसको बिहेको २४ वर्ष पूरा भएको छ । बिहानैदेखि फोनमा शुभकामना स्वीकार्न भ्याइनभ्याई छ । बिहेको २५ औं वर्ष प्रवेशमा घरमा भव्य पार्टी आयोजना गरिएको छ । ममी–बाबाको यस रोचक क्षणलाई स्मरणीय बनाउन छोराछोरीसमेत खटिएका छन् । पाहुनालाई स्वागत गर्न किरणलाई फुर्सद छैन । जसले पनि उसलाई अँगालो हाल्छन् अनि प्रेमपूर्ण आँखाले ‘किरण तेरो भाग्य त लोभलाग्दो’ भन्छन्, कतिले मुखैले ।

यस्तो भाका पढ्न पाउँदा किरणलाई पनि आफू भाग्यमानीजस्तो लाग्छ । छोराछोरी पढ्न अब्बल छन्, भलाद्मी छन् श्रीमान् रवि ! ‘मेरो प्राथमिकता तिमी र तिम्रो प्राथमिकता छोराछोरी !’ कहिलेकाहीँ छेड हान्छन् रवि तर किरणलाई यो छेड मन पर्छ । नजिकै गएर रविलाई अँगालो हालेर उनको छातिमा टाउको अड्याउनेबित्तिकै रविले तान्ने लामो निश्वासले किरणलाई थाहा हुन्छ, सब ठीक भइसक्यो ! रवि पनि कति जाती ! त्यसैले उनीसितका २४ वर्ष बिताएको पत्तै भएन । 
बिहानैदेखि सजावट र व्यवस्थापन त कहिले के, सबै कुरा मिलाउन किरणले सबैलाई सम्झाइरहेकी छ । उसको फ¥याकफुरुक सासू दिव्यालाई पनि मन पर्छ तर सासूले आज चाहिँ उनलाई मायालु पारामा हप्काइन्, ‘आजको दिन पनि के यस्ता खुद्रे कुरामा मन लगाएको होला ? जाऊ, मेकपअ गर ।’

हो, आज किरणलाई दुलहीझैँ शृंगार गर्ने मन छ । बिहेको बेला के भयो, कसो भयो, उसले पत्तै पाउन सकिन । अहिलेको हिसाबले हेर्ने हो भने त त्यो बेला लगभग बालविवाहजस्तै थियो । रवि जम्माजम्मी २० का थिए, किरण १८ की ।
किरण बेलाबेलामा बिहेको दिनको झल्याकझुलुक सम्झिन्छे र त्यस बेला पूरा गर्न नपाएका रहर आज पूरा होस् भन्ने चाहन्छे । त्यसैले आजैका लागि ल्याइएका दर्जनौँ सारीमध्ये कुन लगाउने, वर्षौंदेखि जोडेका गहनामध्ये कुन पहिरिने भन्ने दोधारमै समय बितिरहेको छ । ऊ आज उत्कृष्ट देखिऊँ भन्ने चाहिरहेकी छ । ‘हजूर यो लाइस्यो,’ किरणले रविलाई सुझाइरहेकी छ, ‘यसरी लगाइस्यो ।’ 

भन्नै परेन, छोराछोरी अझ बढी उत्साही छन् । ममीले यो औँठी यसरी बाबालाई लगाइदिने र बाबा स्टेजमा यसरी आउने भनेर सिकाइरहेका छन् । घरिघरि आफू दुलहीको भूमिकामा छु भन्ने बिर्सेर बाबा यसो गरिस्यो न भन्दै किरण उता पुग्छे र छोराछोरीले आँखा तरेपछि लजाउँदै फर्किन्छे ।

‘तँ त त्यो बेलाभन्दा पनि सुन्दर देखिएकी छस्,’ दिदीबहिनीले जिस्क्याउँदा किरण रातोपीरो हुन्छे र अकारण बेलाबेला ऐना हेरिरहन्छे । 

‘हाम्रै वरपर कति परिवार बिग्रिए,’ किरणको मनमा कुरा खेल्छ, ‘कसको श्रीमान्ले के बदमासी गरे, यो गरे, त्यो गरे भन्ने खबर आउँथ्यो । डर लाग्थ्यो, कतै मेरा रविले मलाई उपेक्षा नगरुन्, कतै म म उनको आँखाबाट ओझल नबनूँ !’ सायद यही डरका कारण किरणले रविलाई यसरी बाँधी कि रवि कहिल्यै ओझेल भएन । रविको प्रेमपूर्ण व्यवहार र सम्मान सम्झँदा पनि किरणको गह भरिएर आउँछ । किरणलाई थाहा छ, धेरैले आफ्नी पत्नीलाई सबैले प्रेम गर्छन् तर सम्मान कमैले गर्छन् ।

‘संघर्षताका रविले नै त मलाई घरबाहिर जान हौस्याए, साथीभाइको समूह बनाउन सिकाए र व्यवसायलाई फराकिलो पार्न सघाए,’ किरणका आँखामा बाहिरी रमझम नियाल्दै विगत सम्झिरहेकी थिई, ‘कति संघर्ष गरेर आज मान, इज्जत, व्यवसाय कमाइयो !’

यत्तिकैमा एक जना महिला नजिक आएर किरणको हात च्याप्प समाइन् । किरणको आँखा महिलामा ठोक्किए । अनायाश नै किरणको मुखबाट निस्कियो, ‘आम्मै, दिदी !’ किरणले दिदीलाई सुरुमा ढोगी र त्यसपछि अँगालोमा हाल्दै भनी, ‘तपाईं आउनु भयो, कत्ति खुसी लाग्यो भन्ने सीमै छैन ।’

अँगालोबाट उम्कन खोज्दै दिदीले अनुहारमा हात पु¥याइन् र दुवै हात किरणको गालामा राख्दै भनिन्, ‘कत्ति पनि बद्लिएकी छैन... मे...री...छोरी... ।’ यति नभन्दै दिदीको गला अवरुद्ध भयो र आँखाबाट आँसु झर्न थाल्यो ।
‘हो त, म कत्ति पनि बद्लिएकी छैन...,’ किरणको मनमा कुरा खेल्न थाल्यो, ‘म उस्तै सपना देख्छु, काममा लागिरहन्छु !’  

दिदीको आँसु तत्काल रोकिएन । किरणलाई अब असहज हुन थाल्यो । उनले कतै यो दृश्य अरुका लागि नाटकमा परिणत नहोस् भन्ने चाही र भनी, ‘जाऊँ भित्रै जाऊँ ।’

किरणले वरिपरि हेरी, भिडभाड नभएको ठाउँ रोजी र भान्सातिर दिदीलाई लगी । ठूलो आकारको फ्रिजबाट चिसो पानी निकालेर दिदीलाई दिई । दिदीले पानी एकातिर राखिन् र मुख छोपेर रुन थालिन् । ‘किन के भयो ?’ किरणले अँगालो हाल्दै सोधी तर उनको रुवाई रोकिएन । हिक्क हिक्क गर्दै दिदीले कानमा साउतीको भाषामा भनिन्, ‘किरण, मलाई माफ गरिदे । तैँले माफ नगरुञ्जेल म ढुक्क भएर मर्न सक्तिनँ ।’

दिदीका कुराले किरण आश्चर्यमा परिन तर केही भन्न पनि सकिन । ‘ह्या छाडिदिस्यो यस्ता कुरा,’ किरणले कुरा अन्तै मोड्न खोजी तर उसको गला पनि अवरुद्ध हुन खोजिरहेको, भनी, ‘दिदी, कम्तीमा आजका दिन पुराना कुरा नसम्झौँ, खुसी होऔँ । रमाइलो गरौँ ।’

‘हैन, मलाई घरिघरि त्यो घटना दिमागमा आइरहन्छ, मनले चैन पाउँदैन,’ दिदीले भनिन्, आँसुको भल रोकिएको थिएन, ‘म तेरो अपराधी हुँ । तँलाई मैले धेरै दुःख दिएकी छु ।’ यत्तिकैमा किरणकी छोरी आभा केही कामले भान्सा छिरी तर दिदी–ममीको काममा बाधा पु¥याउन चाहिन । अलि ओझेल परेर केहीबेर कुरा सुनिरही र त्यसपछि अन्तै लागी ।
०००
‘हाउ वाज द पार्टी ?’ किरणले राति अबेर थकित मुद्रामा छोरा–छोरीलाई सोधी । दुवै सुत्नुअघि लिभिङ रुममा टिभी च्यानल सर्च गर्दै रहँदा उनीहरुको उत्साह हेर्न चाहन्थी किरण ।
‘फेन्टास्टिक,’ दुवैको उत्तर थियो । ‘मामु, ह्वाई वाज सि क्राइङ ?’ आभाले दिदी रोएको कुरा कोट्याई । भनुँ–नभनुँको दोधारमा हुँदै छोराछोरी नजिकै आएर किरण बसी । किरण एकै पटक बाल्यकालमा पुगी ।
०००
मध्यम वर्गीय ठूलो परिवारकी ऊ पाँच जना छोराछोरीमध्ये बीचकी थिई । मुस्किलले ८ वर्षकी हुँदी हो, त्यसबेला सहरबाट तिनै दिदी पर्ने आएकी थिइन् । किरणको परिवार मूल सहरबाहिर बस्थ्यो । त्यो बेला अहिलेजस्तो छ्यासछ्यासी विद्यालय हुँदैनथे । मध्य सहरकी बासिन्दा दिदी बेलाबेलामा किरणकी आमालाई भेट्न आउँदा छोराछोरीकै पढाइको चिन्ता हुन्थ्यो । दिदीले भनिन्, ‘किरण पनि अब ठूली भई, मकहाँ बसोस्, नजिकै स्कुल पनि छ । जान्छे, पढ्छे ।’
दिदीका कुरामा पढाइ शब्द जोडिएको हुनाले किरणकी आमाले रोक्ने कुरा थिएन । ऊ दिदीको घरमा बसेर पढ्ने भई । जाने बेलामा आमाले भनिन्, ‘जा, राम्रोसँग पढ् । हामीले पढ्न पाएनौँ, तैँले यो अवसरलाई राम्रोसँग सदुपयोग गर्नु । दिदीलाई काममा पनि सघाउनू ।’

किरण दिदीको साथ लागेर पन्ध्र मिनेटमै सहर आई । दिदीको घर सहरको बीचमा भएकाले केही दिन त बडो रमाइलो भयो उसलाई । त्यसपछि भने आमाले सम्झाएको ‘घरको काममा दिदीलाई सघाउनू’ भन्ने उपदेश सम्झिई र अलिअलि काम सघाउन थाली । हेर्दाहेर्दै दिदीले घरको काममा लत्तो छाडिन् र पूरै जिम्मेवारी किरणले लिन थाली । 
किरण मिहिनेती थिई । पढाकू पनि । घरको काममा पनि विछट्टको विजुली गति पाएकी थिई । त्यसैले पनि दिदीले सबै कुराको लत्तो छाडेकी थिइन् । बिहान चार बजेबाट दिनचर्या सुरु हुन्थ्यो । कुचो लगाउने, पानी भर्ने, दूध लिन जाने, चिया बनाइसकेपछि परिवारका सबैलाई उठाउने काम हुन्थ्यो । केही समय त दिदीले सघाइन्, भाँडा माझ्न सिकाइन् । सिकाइसकेपछि भने उनले अल्छी गर्न थालिन् ।

उनका छोराछोरीका अगाडि ‘तँ त कति ज्ञानी, कति राम्री ! पूर्व जन्ममा राम्रो गरेकाले मलाई यति माया गर्ने बहिनी पाएँ,’ भनेर फुक्र्याउँथिन् । ‘मलाई छोडेर टाढा कहिले नजा, म तँलाई चकलेट किनिदिन्छु । दसैँमा राम्रा लुगा किनिदिन्छु, सिनेमा हेर्न लैजान्छु,’ दिदीले यसरी फकाउँदा किरण पनि फुरुङ्ग पर्थी । अनि त ऊ दौडीदौडी घरका सबै काम गर्थी । कहिलेकाहीँ घरमा पाहुना आउँदा कस्तो राम्रो फुच्चु ! कस्तो काम गर्न जानेको ! हामीलाई पनि मगाइदिनुस् न भन्थे । दिदीले कसैलाई आफन्त भनेर चिनाउँथिन् त कसैलाई केही नभनी मौन बस्थिन् । 

किरणका हातगोडा पट्पटी फुट्थे । ऊ देखाउन डर मान्थी तर यस्तो बेलामा उसलाई आमाको बेस्कन याद आउँथ्यो । कहिलेकाहीँ भोकप्यास लाग्थ्यो र कसैले माया गरेर खुवाइदिए हुन्थ्यो भन्ने लाग्दा झलक्क आमालाई सम्झन्थी । त्यतिखेर दौडिएर आमाको न्यानो काखमा हराउन पाए हुन्थ्यो भन्ने कल्पन्थी । 

कहिलेकाहीँ सुटुक्क दुध लिन बिहानै मूल सडकतिर गएको बेला दौडिएर आमाघर जान्थी किरण । त्यहाँ दाजुभाइ, दिदीबहिनी कोही न्यानो घाम तापिरहेका हुन्थे, कोही लुडो खेलिरहेका हुन्थे भने कोही पढिरहेका । किरण आमालाई ग्वाम्लाङ्ग अङ्गालो हालेर एकछिनसम्म छोड्दिनथी । उसलाई आमाको अङ्गालो कहिल्यै छोड्न नपरोस् भन्ने लाग्थ्यो । फेरि आमाले नै सम्झाउनु हुन्थ्यो, ‘नानी, तिमी जाऊ । दिदीलाई नसोधी आएकी छौ । ऊ आत्तिएली । म तिमीलाई भेट्न आउँछु ।’

तर आमा कहिल्यै आउन भ्याउनु हुन्नथ्यो ।
‘किन अहिलेसम्म चिया नल्याएकी ?’ दिदीले सोध्थिन्, ‘टाउको दुखेर उठ्नै सकिनँ, जा जा चाँडो चिया लेर आ !’
‘ल्याइहालेँ, एक्कैछिन,’ ऊ फूर्ति देखाउँथी । मनभरि आमाको माया बोकेर आएकी छोरी त्यत्तिकै खुसीखुसी घरको धन्दामा व्यस्त हुन्थी ।

किरणका साथी भन्नु नै वल्लापल्ला घरमा काम गर्न बसेका घरेलु कामदार हुन्थे । उनीहरुसँगै ऊ खुसी हुन्थी, उनीहरुका दुःखमा दुःखी । किरणका साथी र उसमा एउटै फरक थियो, उनीहरुको काम बाँडिएको हुन्थ्यो । उनीहरुको नाममा ‘फुर्सद’ भन्ने चिज हुन्थ्यो । उसले भने सबैसबै काम भ्याउनु पथ्र्यो ।

ओछ्यानमा दिदीका चार सन्तान र किरण पनि अटाउँथे । दिदीको खुट्टानिर किरण सुत्थी । यसो गर्दा उसलाई उठाउन सजिलो हुन्थ्यो र दिदीले गोडाले टाउकोमा हान्दै उठ्, बिहान भइसक्यो भन्थिन् । 

कैयौँ दिन दिदीका परिवार फिल्म हेर्न जान्थे तर यस पटक पनि उसले जान पाइन । दिदी भन्थिन्, ‘तँ गइस् भने खाजा चैँ कल्ले बनाउँछ नि ?’ किरणलाई बेलाबेलामा फिल्म हेर्न लैजान्छु भन्थिन् तर त्यो वचन पनि कहिल्यै पूरा गरिनन् । 
उफ ! मानिसका दुःख कति ‘क्लिसे’ हुन्छन् ! तर आफ्ना हरेक भोगाई सबैलाई नमीठो लाग्छ ।

एक दिन त्यस घरमा किरणकी माइजू आइपुगिन् । माइजू किरणलाई देखेर आश्चर्य परिन् तर केही बोलिनन् । चिया लिएर आएकी किरणको हालत निकै खस्केको देखिन् । फाटेका लुगा, ननुहाएको शरीर, फुटेका हात देख्दा माइजूको आँखा रसाएर आयो । 

भोलिपल्ट बिहानै मामा आइपुगे र दिदीलाई भने, ‘तपाईंले यति सानी भान्जीलाई नोकर्नीभन्दा नाजुक हालतमा पु¥याउनु भयो । यो देख्दा बडो चित्त दुख्यो । भान्जीको यस्तो बिजोग पार्न तपाईंलाई लाज लागेन दिदी ? म भान्जीलाई आजै लैजान्छु ।’

उनलाई अझै पनि किरणलाई गरेको शोषण महसुस भइरहेको थिएन । दिदीले भनिन्, ‘मेरी बैनी हो, यसलाई जे सुकै गरुँ !’ किरणका मामा उनको व्यवहार देखेर अवाक् थिए । उनले त्यसपछि भान्जी जस्तो अवस्थामा थिइन्, डो¥याउँदै घरबाहिर निस्के ।

एउटा घरबाट अर्को घरमा पुग्दा आफ्नो हालत उही त होला नि, बिहानदेखि बेलुकीसम्म काम ! यस्तै सोचेकी थिई किरणले तर माइजूको कोमल दिलले दिनदिनै कमल भएर फक्रिई किरण ।

किरणका कपालको लट्टा फुकाउन उसकी माइजूलाई पाँच दिन लाग्यो । उसका लागि किनमेल गर्न अर्को साता दिनसम्म बजार दौडधुप गर्नुपरेको थियो । त्यत्ति खुसी त किरण कहिल्यै भएकी थिइन ।
०००
यी सबै कथा सुनाइसक्दा छोरी आभा र छोरा प्रभातको आँखामा आँशु छचल्किरहेको थियो ।
किरणले भनी, ‘हामी कहिलेकाहीँ अरुको निरीह अवस्थाको नाजायज फाइदा उठाउन सक्छौँ । मान्छे सानो नै किन नहोस्, उसको पनि भावना हुन्छ, रहर र इच्छा हुन्छन् । उसलाई पनि आत्मसम्मान भन्ने चिज चाहिन्छ । उहाँले त्यो कुरा बुझ्नु भएन । आज यत्तिका वर्षपछि उहाँलाई त्यो कुरा महसुस भयो, त्यसले पोल्यो र आफ्नो गल्तीलाई ठम्याउनु भयो अनि माफी माग्नुभयो मसँग ।’

‘यो घटनाबाट तिमीहरुले के पाठ सिक्यौ ?’ किरणले उत्साही हुँदै छोराछोरीतिर हेरी ।
दुवै चुप थिए । किरणले दुवैलाई सुम्सुम्याउँदै भनी, ‘एक जनाको मायाले कति धेरै फरक पार्छ ! जहाँ एउटाको मायाले यो ठाउँ स्वर्ग हुन्छ भने अर्कोको उपेक्षाले त्यही ठाउँ नर्कजस्तै हुन्छ । कसैको कमजोरीको फाइदा उठाउनु हुँदैन । कसैले गरेको माया र विश्वासको नाजायज फाइदा उठाएर उसको स्वाभिमानमा चोट पु¥याउनु हुँदैन ।’

‘ह्वाटएभर,’ छोरो प्रभात रिसाइरहेको थियो, भन्यो, ‘यु सुड नट फरगिभ हर ।’ उसले छोरालाई मायालु पारामा हेरी र भनी, ‘आफूले गरेको गल्तीको पश्चाताप गर्नु नै ठूलो माफी हो । जसले गल्ती महसुस गर्छ, उसप्रति दुर्भावना राख्नु हुँदैन ।’
छोरी आभाले आमालाई अँगालो हाली र भनी, ‘ममी, यु आर द बेस्ट् !’ aakriti72@gmail.com

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad