७ वैशाख २०८१ शुक्रबार
अर्थ

उखुको भुक्तानी माग्दै रिले अनसन

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगको मूलगेटमा रिले अनसनमा बसेका किसान । तस्बिर :टंक क्षेत्री/नागरिक

सर्लाही – उखुको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै किसानले रिले अनसन सुरु गरेका छन् । अढाई महिनादेखि उखुको भुक्तानी नपाएपछि सोमबारबाट किसानले हरिवनस्थित इन्दुशंकर चिनी उद्योगको मूलगेटमा रिले अनसन सुरु गरेका हुन्।

पटक–पटक मौखिक एवं लिखित आग्रह गर्दा समेत किसानलाई भुक्तानी नदिइएपछि बाध्य भएर रिले अनसन सुरु गर्नुपरेको नेपाल उखु उत्पादक किसान संघ नेपालका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए । ‘उखु किसानको सम्पूर्ण घरव्यवहार उद्योगले दिने भुक्तानीबाटै चलाउनुपर्छ, तर नियमित भुक्तानी नपाउँदा किसानलाई ठूलो मार परेको छ,’ उनले भने, ‘डेढ वर्षअघि ठूलो लागतमा रोपेर तयार पारिएको उखुको तत्काल भुक्तानी नपाउँदा किसान आजित छन्।’

उखु किसान सम्बद्ध मिलगेट उखु उत्पादक समिति हरिवन, उखु उत्पादक किसान संघ लगायत संगठनबाट दैनिक कम्तिमा पाँचजनाले रिले अनसन सुरु गरिएको मिलगेट उखु उत्पादक समितिका अध्यक्ष बेदबहादुर बुढाथोकीले जानकारी दिए।

उद्योगले भुक्तानी सुरु नगरेसम्म रिले अनसन जारी रहने बुढाथोकीको भनाइ छ । विगतका वर्षमा किसानलाई उखु दिएको १५ दिनपछि भुक्तानी गर्ने इन्दुशंकरले यसवर्ष भने अढाई महिनासम्म पनि भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको किसानको गुनासो छ।

इन्दुशंकरका उखु प्रबन्धक योगनारायण रजकले भने किसानको भुक्तानी सुरु गर्नका लागि प्रयास भइरहेको जानकारी दिए । ‘एकातिर उद्योगको चिनी बिक्री नभएका कारण तथा अर्कोतिर बैंकिङ प्रोसेसमा समेत ढिलाइ हुँदा किसानलाई भुक्तानी गर्न सकेका छैनौं,’ उनले भने, ‘यथाशिघ्र भुक्तानी सुरु गर्ने प्रयासमा लागि परेका छौं।’

पाकिस्तान र बंगलादेशबाट सस्तो मूल्यको चिनी आयात हुँदा आफूहरुको चिनी बिक्री नभएकाले पनि किसानको भुक्तानीमा समस्या आएको रजकले जानकारी दिए । ‘अन्य देशका सरकारले चिनी निर्यातमा अनुदान दिएकाले मुलुकमा विदेशी चिनी अत्यन्त सस्तोमा भित्रिएको छ भने हाम्रो चिनीले मूल्य नै पाउन सकेको छैन,’ उनले दाबी गरे, ‘विदेशी चिनी सरह बिक्री गर्दा उखु किसान, मजदुर लगायतलाई भुक्तानी दिनै सक्दैनौं।’

पुस पहिलो साताबाट सञ्चालनमा आएको उद्योगले सोमबार बिहानसम्म ३३ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरिसकेको छ । प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ २० पैसाका दरले उद्योगले पुस १६ गतेसम्मको मात्र भुक्तानी गरेको छ।

त्यस्तै जिल्लाकै पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर उद्योगले त अघिल्लो वर्षकै भुक्तानी दिन सकेको छैन । यसवर्ष पनि नौ लाख ७० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । यहाँ साँढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ।


 

प्रकाशित: ६ चैत्र २०७४ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App