coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यार्थीले तोके त्रिविमा पोसाक

काठमाडौं- न चौकीदार न त परिचयपत्र जाँच। राजधानीका तरकारी बजार र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको वातावरण खासै अन्तर थिएन। जो पनि विनाअवरोध सरासर पस्न पाउने।

क्रिकेट खेलेर थाकेका टोले केटाहरू कक्षाकोठा 'कब्जा' मा लिई घन्टौं गफ चुटेर बस्दा वास्तविक विद्यार्थी भने थुप्रैपटक खाली कोठा खोज्दै भौंतारिए। विश्वविद्यालयलाई टहलिने थलो बनाउनेहरूको भिड उस्तै। को विद्यार्थी, को गैरविद्यार्थी छुट्ट्याउनै मुस्किल!

सार्वजनिक थलोजस्तो वातावरणमा विद्यार्थीले अपनत्व महसुस गर्न सकेनन्। 

यो अव्यवस्थाले आजित विद्यार्थीले अन्ततः आफैं समाधान निकाले– 'ड्रेस कोड' व्यवस्था गर्ने। अहिले त्रिविमा विद्यार्थी चिन्न मथिंगल खियाइरहनुपर्दैन। केही महिनाअघिसम्म नानाथरी लुगा लगाउने उनीहरू अहिले एकैखाले 'ड्रेस' मा ठाँटिएर  क्याम्पस छिर्छन्। ती ड्रेसमा उनीहरू अध्ययन गर्ने विभागको नामसमेत उल्लेख छ।

यसले विद्यार्थीलाई त्रिविमा थुप्रिने फिरन्तेहरूको भिडबाट पृथक् त बनाएकै छ, सामूहिक पहिचानसमेत दिलाएको छ।

कक्षाकोठामा गैरविद्यार्थीको संख्या बढेपछि त्यसलाई नियन्त्रण गर्न स्वस्फूर्त रूपमा विभिन्न संकाय र विभाग छुट्टिने गरी पोसाक तयार पारिएको विद्यार्थी बताउँछन्।

मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान संकायअन्तर्गत कुल ३२ वटा विभागमा अध्ययनरत विद्यार्थीले आ–आफ्नो विभाग र विषय छुट्टिने गरी पोसाक तोकेका छन्। त्रिवि प्रशासनलाई पटक–पटक घचघच्याउँदा पनि चासो नदिएकाले आफैं अग्रसर भएर यही वर्षबाट सामूहिक पोसाक लगाउन थालेको नेपाली विभागकी छात्रा सुनीता न्यौपानेले बताइन्।

रातो टिसर्टमा कक्षामा भेटिएकी सुनीताको टिसर्टपछाडि लेखिएको थियो, 'सेन्ट्रल डिपार्टमेन्ट अफ ह्युमनिटी, नेपाली, त्रिवि।' उनको कक्षाका सबै विद्यार्थी यही पोसाकमा थिए। पोसाक लगाएर आउन थालेपछि सुरक्षित र गौरवान्वित भएको सुनीताको अनुभव छ। 'पोसाककै कारण गाडीमा समेत हामीलाई त्रिविको विद्यार्थी भनेर चिन्छन्,' उनले भनिन्, 'थरीथरी लुगा लगाएर क्याम्पस आउँदा गाडीमा सधैं कार्ड देखाउनुपर्थ्यो।'

नेपाली विभागकै सिर्जना सुवेदीले साथीसँग पैसा उठाएर विभागको सहकार्यमा पोसाक तयार गरेको सुनाइन्। पोसाकले विश्वविद्यालय र विभागसँग भावनात्मक सम्बन्ध बढाएको उनी बताउँछिन्।

सोही विभागका बेन क्षेत्रीले कलेजले गर्नुपर्ने काम आफूहरू मिलेर गरेको बताए। टिसर्टमा छापिएको कलेजको लोगो विभागले उपलब्ध गराएको उनले जानकारी दिए।

पोसाक व्यवस्था गरेपछि कक्षामा अन्य विभागका व्यक्ति पसेर हल्ला गर्ने क्रम रोकिएको पुस्तकालय विज्ञानका विद्यार्थी शैलेन्द्रकुमार गुप्ताले बताए। स्थापना भएको २३ वर्षपछि सुन्तला र खैरो रंगको टिसर्ट र पाइन्ट यो विभागको चिनारी बनेको छ। पोसाक लगाउँदा धेरै विकृति हटेको उनी बताउँछन्।

'गैरविद्यार्थी कक्षामा पसी अवरोध नगरुन् भन्ने सोचले विभागीय प्रमुखसँग छलफल गरेर यही वर्षदेखि पोसाक लगाएका हौं,' गुप्ताले भने, 'टिसर्टको पछाडिपट्टि आ–आफ्नो संकाय र विभागको लोगोसहित विवरण छापिएकाले शिक्षकसँग समेत नजिक भएका छौं।' पहिले चिन्दै नचिन्ने शिक्षकले अहिले पोसाककै कारण टाढैबाट विद्यार्थीलाई बोलाउन थालेको उनले सुनाए।

क्याम्पस प्रशासनले गर्नुपर्ने काम विद्यार्थीले स्वस्फूर्त रूपमा गर्दा विभागीय प्रमुख, डिन तथा त्रिविका पदाधिकारी चकित छन्।

पोसाकले विद्यार्थीलाई मर्यादित र अनुशासित बनाएको केन्द्रीय पुस्तकालय विज्ञान विभाग प्रमुख भीमध्वज श्रेष्ठले बताए। यो विभागअन्तर्गत कीर्तिपुरमा कुल ३५ विद्यार्थी छन्। 'पोसाकबाटै मेरा विद्यार्थी हुन् भन्ने थाहा हुन्छ,' श्रेष्ठले भने, 'क्याम्पसले गर्नुपर्ने काम विद्यार्थी आफैं अग्रसर भएर गरे, पोसाकले कक्षा धेरै व्यवस्थित भएको छ।'

मानविकी संकायअन्तर्गत मनोविज्ञान विभागकी प्रमुख शान्ता निरौला आफ्नो विभागका विद्यार्थी पनि पोसाक डिजाइनमा जुटिसकेको जानकारी दिइन्। पोसाकको डिजाइन र लोगोको टुंगो लाग्न बाँकी रहेकाले ढिलाइ भएको उनले बताइन्।

मानविकी संकायका डिन चिन्तामणि पोखरेलले कीर्तिपुरका १८ विभागमध्ये धेरैले पोसाक लागू गरिसकेको दाबी गरे। विद्यार्थी आफैं तत्पर भएर पोसाक लागू गर्दा गर्वको अनुभूति भएको उनले सुनाए। 'मानविकी संकायको कुल २२ विभाग हो, कीर्तिपुरमा १८ वटा छन्, त्यसमध्ये एकाधबाहेक सबैमा विद्यार्थी नै अग्रसर भएर पोसाक लगाएका छन्,' पोखरेलले नागरिकसँग भने, 'पोसाकले कक्षाकोठाको वातावरण अनुशासित र मर्यादित बनाउन सहयोग पुगेको छ।'

प्रकाशित: ६ भाद्र २०७३ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App